२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • उपाध्यक्ष लामाले भने : लुम्बिनी बनाउन लड्छु, भिड्छु, जुध्छु

    लुम्बिनी-लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले आफ्नो कार्यकालमा गुरुयोजनाको काम पुरा गर्ने बताएका छन्। उनले आफ्नो कार्यकालमा गुरुयोजना सम्पन्न गर्ने र मायादेवी मन्दिरलाई आकर्षक बनाउने बताए। लुम्बिनी गुरुयोजनाको बाँकी काम, बुद्ध सर्किट निर्माण, रामग्राम, तिलौराकोट र देवदहको पुरातात्विक क्षेत्रको संरक्षण र विकासका लागि काम गर्ने गरी आफू आएको उनले बताए।

    रुपन्देही, कपिलबस्तु र नवलपरासीका पत्रकारहरूसँग विहिबार परिचयात्मक तथा भेटघाट कार्यक्रम गर्दै लामाले लुम्बिनी बनाउने आफ्नो अभियानमा साथ दिन आग्रह गरे। ‘म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, नैतिकता गुमाउँदिन’ उनले भने । लामाले लुम्बिनी गुरुयोजनाका सम्बन्धमा र कोषको कामका बारेमा विभिन्न प्रश्न र गुनासाहरु उठेको बताउँदै त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए।

    संविधानसभा सदस्य, पूर्व अर्थराज्यमन्त्री समेत रहेका डा. लामाले आफ्नो क्षमतालाई लुम्बिनी बनाउन खर्चिने बताए। उनले आफूले जीवन नै बुद्ध धर्मका लागि अर्पण गरेको भन्दै बाँकी रहेको जीवन सत्कर्ममा लगाउने गरी काम गरेर देखाउन आफू लुम्बिनीको उपाध्यक्ष बनेको सुनाए। ‘मेरो धार्मिक आस्थाको ठाउँ हो लुम्बिनी, ईतिहास बनाउन सँकु भनेर आएको छु’ लामाले भने –‘मायादेवीको कसम खाएर भनेको छु, लुम्बिनीमा लिने होईन दिन आएको छु ।’

    विश्वका विभिन्न मुलुकबाट लुम्बिनी आउन चाहनहरुलाई अनुलुकुल वातावरण बनाउने उनले बताए । लामाले लुम्बिनीमा बौद्ध धर्म गुरुहरुको मोलम (पूजा) जस्ता धार्मिक गतिविधि बढाएर बौद्ध पर्यटकहरुलाई आर्कषित गर्ने योजना रहेको सुनाए। ‘यो वर्ष मोलुम पूजा का कार्यक्रमहरु तय भइसकेको छ’ उनले भने। लामाले रामग्राम र तिलौराकोटमा पनि पूजा, ध्यान र बत्ति बाल्ने ठाउँ तुरुन्तै निर्माण गर्ने जानकारी दिए। लुम्बिनीमा धार्मिक गतिविधि बढाउने गरी योजना बनाइएको भन्दै उनले धार्मिक गतिविधिसँगै पर्यटकहरुको बसाइ लम्बिने विश्वास गरे।

    उपाध्यक्ष लामाले बौद्ध क्षेत्रको विकासका लागि आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्ने समेत बताए । ‘अब ६÷७ अर्बको रकम जुटाएर गुरूयोजना सकाउनु छ, अहिले देशको बजेटमा नि समस्या छ’ उनले भने –‘म बुद्ध धर्मको विश्व समुदायसँगै जोडिएको छु केही समयमा त्यो फोरममा म जानेछु र स्रोत जुटाउने कोसिस गर्ने छु ।’ उपाध्यक्ष लामाले कोषलाई सबै पक्षमा पारदर्शिता बनाउने प्रमुख उद्देश्य रहेको बताउँदै त्यसमा साथ दिन पत्रकारलाई अनुरोध गरे। पदाधिकारी र कर्मचारीविच नै बेमेल रहेको भन्दै पत्रकारहरुको जिज्ञासामा सकभर मिलाएर लैजाने कोसिस रहेको बताए।

    सो अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले नवनियुक्त उपाध्यक्षलाई लुम्बिनी बनाउने सन्दर्भमा सिंगो टिमको साथ सहयोग रहने बताए। उनले लुम्बिनी विकास कोषले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम दुई जना उपाध्यक्षको भिजन अनुसार आएको सुनाए। सदस्य सचिव शाक्यले प्राचिन शाक्य गणराज्य कपिलबस्तुको तिलौराकोट दरवारलाई विश्व सम्पदा सूचीमा सूचीकरणको तयारी भइरहेको समेत बताए।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नवलपरासीका अध्यक्ष हरि शर्मा, कपिलबस्तुका अध्यक्ष किरणमान ब्रज्रचार्य सहित पत्रकारहरुले लुम्बिनीका बिषयमा प्रश्न र सुझाव राखेका थिए । कोषका प्रेस कन्सल्ट्यान्ट विनोद परियारको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा कोषका योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य नेत्रबहादुर शाही, विश्वराज पौडेल, परिषद सदस्य गोपिकृष्ण शर्मा, श्रीराम यादव, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई लगायतको सहभागीता थियो।