२०८१ आश्विन २१ गते, सोमबार ०९:११
  • स्वर्गद्वारी: जहाँ बार्षिक दुई लाख बढि तिर्थयात्री पुग्छन्, ४० प्रतिसत भारतीय

    मुख्यमन्त्री भन्छन्: सकभर यही वर्ष भारतीय प्रधानमन्त्रीलाई स्वर्गद्वारी ल्याउँछौं

    प्युठान – प्युठानको स्वर्गद्वारी आश्रम पश्चिम नेपालको प्रमुख धार्मिक स्थल हो। जहाँ नेपाल र भारतीय गरेर बर्षको दुईलाख बढि तिर्थयात्रीहरु पुग्ने गरेका छन्। तिर्थयात्री मध्ये ६० प्रतिसत नेपाली र ४० प्रतिसत भारतीय हुने गरेको आश्रमका प्रमुख प्रशासकिय अधिकृत हरि अधिकारीले बताए।

    कोरोना संक्रमणका कारण झण्डै साढे २ वर्ष जति स्वर्गद्वारी आश्रम लगभग सुनसान थियो। एक वर्ष यता भने विस्तारै चहलपहल बढ्न थालेको अधिकारीको भनाइ छ। ‘गत वर्षसम्म हामीलाई आश्रम चलाउन, गुरुकुलमा विद्यार्थी राख्न निकै गाह्रो भएको थियो । यो वर्ष तिर्थयात्रीहरु आइरहनुभएको छ।’ उनले भने।

    स्वर्गद्वारीमा विशेष गरि माघ महिनामा भारतीय पर्यटकहरुको भिड हुने गर्दछ। यो महिनामा ५० हजार बढि भारतीय तिर्थयात्री आउने गरेको आश्रमका प्रसासन प्रमुख अधिकारीले बताए। पैदल हिड्नका लागि पनि सहज हुने भएकाले जाडो महिनामा धेरै आउँछन्। त्यस बाहेक जल चढाउने गरि साउनमा पनि तिर्थयात्रीहरु हुन्छन्।

    मुलुक भित्रका तिर्थयात्रीहरु भने कात्र्तिक महिनामा धेरै आउने गरेका छन्। स्वर्गद्वारीको विशेषता भनेको १२८ वर्ष देखीको अखण्ड धुनी हो । विक्रम संवत् १९५२ मा महाप्रभु नारायण गौतमले स्वर्गद्वारीमा आश्रममा अखण्ड महायज्ञको आयोजना गरेका थिए। त्यसबेलादेखी नै उक्त धुनि बलिरहेको मानिन्छ।

    पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले यस ठाउँको नाम स्वर्गद्वारी रहेको जनविश्वास रहेको छ। यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। स्वर्गद्वारीसँगै, लमही र घोराहीमा गरेर साढे ७ सय गाइ छन्।

    आश्रमको गुरुकुलमा ६ देखी १२ सम्म पढाइ हुने गर्दछ। ११६ जना विद्यार्थी आवसीय रुपमा बसेका छन्। आश्रम व्यवस्थापन समितिले मन्दिरमा आउने भक्तजनहरुलाई खाना र बासको प्रबन्ध पनि मिलाउने गर्दछ। स्वर्गद्वारी आश्रमबाट अन्नपूर्ण, धौलागिरि र मनास्लु लगायतका हिमश्रींखलाहरु देख्न सकिन्छ।

    सकभर यही वर्ष भित्र मोदिलाई ल्याउँछौं: मुख्यमन्त्री
    केही दिन अघि स्वर्गद्वारीमा नेपाल प्रेस युनियन लुम्बिनीले प्रदेश भेला आयोजना गरेको थियो । भेलाको उद्घाटनका क्रममा मुख्यमन्त्री डिल्ली चौधरीले सकभर यही वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वर्गद्वारी ल्याउने बताए। ‘यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि स्वर्गद्वारी आउन तयार हुनुहुन्थ्यो । त्यो बेला हेलिप्याडको सुरक्षा भएन।’ उनले भने ‘भरखर मैले नेपाली सेना र यहाँका साथीहरुसँग छलफल गरेर ३ वटा हेलिप्याड बनाएर सकेसम्म यही वर्ष डिसेम्बर भित्र नरेन्द्र मोदिलाई यहाँ ल्याउने कार्यक्रम तय गर्दै छौं।’

    मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले लुम्बिनीमा आयोजना गर्न लागेको लोरेट एण्ड लिडर कार्यक्रममा ठूलो संख्यामा विदेशी पाहुना आउने र उनीहरुलाई स्वर्गद्वारी लगायतका अन्य ठाउँ घुमाउने बताएका थिए।