२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • लद्दाखका यानीहरु अरु पर्यटक भन्दा साह्रै सहज

    पर्यटन व्यवसायी श्रेष्ठ भन्छनः जस्तो कोठा दियौं त्यस्तै सफा छोडेर गए

    लुम्बिनी-भारतको कश्मीर क्षेत्रमा पर्ने लद्दाखका पर्यटक हालै बुद्धजन्मस्थल लुम्बिनी आएका थिए। गेरु बस्त्र धारण गरेका लद्दाखका ५० जना महिला अर्थात यानीहरु केही दिन लुम्बिनीमा रहे। लुम्बिनीमा उनीहरु होटल सुरम्मामा बसेका थिए।लद्दाखबाट यानीहरु वर्षेनी लुम्बिनी पूजा गर्न आउने गरेका छन्। तर कोरोना संक्रमण र लकडाउनको कारण २०१९ पछि यो वर्ष मात्र उनीहरु आएका हुन्।

    उनीहरुले लुम्बिनीमा आएपछि पूजा नगरिकन बाहिर केही नखाने गरेको पर्यटन व्यवसायी तथा होटल सुरम्माका सञ्चालक खिम श्रेष्ठले बताए। ‘पूजा नगर्दासम्म कतैको केही खाएनन्। आँफैले ल्याएको हलुका खाजा खाए। हामीसँग तातोपानी मात्र माग्ने गरेका थिए।’ उनले भने ‘मायादेवी मन्दिरमा पूजा गरेर सकेपछि होटलमा बनाएको नेपाली खाना खाए।’ लुम्बिनीको बसाइमा यानीहरु तिलौराकोट पनि पुगे।

    लद्दाखका यानीहरु साह्रै सहज पाहुना भएको होटल संघ लुम्बिनीका कार्यसमिति सदस्य समेत रहेका श्रेष्ठले अनुभव सुनाए ‘आँफैले कोठा सफा गर्ने, आनीबानी र व्यवहार पनि साह्रै राम्रो लाग्यो।’ उनले भने ‘हामीले कोठा जस्तो दियौं त्यस्तै सफा छोडेर गए। अहिलेसम्म आएका पाहुना मध्ये यानीहरु फरक र साह्रै सजिलो लागे।’

    विदा हुने बेलामा कोठा र खानाको हिसाब किताब गर्दा हामीले केही कुरा छुटायौं भने पनि उनीहरुले सम्झाउने गरेको श्रेष्ठले बताए। ‘यो यो कुरा पनि खाएका थियौं भनेर सम्झाएका थिए। सायद कसैलाई छल गर्न हुन्न भन्ने बुद्ध धर्मको प्रभाव परेको हुन सक्छ।’ उनले भने।

    लद्दाखका यानीहरु नेपाली भाषा पनि बोल्ने गरेका थिए। कतिपय रहनसहन नेपालसँग पनि मिल्थ्यो। त्यसबाहेक उनीहरुको आफ्नै मौलिक भाषा पनि रहेको व्यवसायी श्रेष्ठको भनाइ छ। लुम्बिनीबाट विदा हुनु अघि उनीहरु प्रारर्थना गरेका थिए। ‘हामीलाई पनि त्यहाँ राखेर होटललाई पनि राम्रो होस् भन्ने प्रारर्थना गरे।’ होटल सञ्चालक श्रेष्ठले भने।

    भदौ महिनामा लुम्बिनीमा अहिले बुद्ध धर्मलम्बी देशबाट भिक्षु तथा पर्यटक आउने क्रम बढेको छ। म्यानमारबाट पनि लुम्बिनीबारे चासो राख्ने गरेका छन्। केही दिन अघि म्यानमारका एजेन्टले अब नेपालकै बाटो भएर लुम्बिनी आउन चाहेको बताएका थिए। यस अघि उनीहरु पहिले पहिले भारतको बाटो भएर आउँथे। लद्दाख, म्यानमारसँगै, तिब्बतीयन र भुटानी पर्यटकहरु आएमा लुम्बिनीको पर्यटन व्यवसायलाई सहज हुने व्यवसायी श्रेष्ठको भनाइ छ।