२०८१ आश्विन २१ गते, सोमबार ०७:०४
  • साढे ३ महिनामा ७४ हजारले चढे लुम्बिनी केबलकार

    बुटवल-साढे ३ महिनामा ७४ हजार ५० जना पर्यटकले लुम्बिनी केबलकार चढेका छन्। गत जेठ १५ गतेदेखि बुटवलदेखि बसन्तपुर जोड्ने लुम्बिनी केबलकार व्यवसायीक रुपमा सञ्चालनमा आएको हो। केबलकार चढ्न आएका मध्ये ४ हजार ५५ जना भारतीय र १९ जना तेस्रो मुलुकका पर्यटक रहेको लुम्बिनी केबलकार प्रा.लिका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए।

    केबलकारको टप स्टेसन बसन्तपुरमा जीपलाइन सञ्चालनमा आएको छ। स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान पनि तयार हुँदैछ। यी पूर्वाधार तयार भएपछि बसन्तपुर स्वदेशी र विदेशी पर्यटकको आकर्षण र रोजाईको गन्तब्य बन्ने कम्पनीको विश्वास छ। समुद्री सतहबाट १२ सय मिटर उचाईमा रहेको बसन्तपुरमा गर्मी मौसममा तराईमा भन्दा झण्डै १० डिग्री सेल्सियस तापक्रम कम हुने हुंदा शीतल हुने हिउंदमा तराईमा हुस्सु र जाडो हुंदा घाम लागेर न्यानो हुने भएकाले बसन्तपुर पर्यटक मात्र नभई सर्वसाधारणको पनि घुम्न जाने रोजाईको थलोमा पर्ने छ।

    नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकाल नेतृत्वको आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको केबलकारसँगै यसको टप स्टेशनमा बनेको कामाख्यादेवी मन्दिर र सय वर्ष पुरानो दुर्गा मन्दिर पनि धार्मिक हिसाबले केबलकारको विशिष्ट आकर्षण बनेका छन्। कामाख्या मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य संख्यामा दर्शनार्थीहरु आउने गरेका कम्पनीले जनाएको छ। कामाख्या देवीको दर्शनले मनोकामना पुरा हुने र जीवनमा आइपर्ने संकटबाट मुक्ति पाइने भएकाले दर्शन गर्न आएको ब्यासाचार्य पण्डित नारायणप्रसाद पोखरेलले बताए।

    टप सटेनशमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पांच तारे होटेल बनाउने योजना छ। केबलकारले प्रत्येक टिकट मुल्यको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिंदै आएको छ। २.६ किलोमिटर दुरीको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । केबलकारले हाल करिब सय जनालाई रोजगारी दिएको छ। त्यसमा अधिकांस स्थानिय छन्। पांचतारे होटेल सञ्चालनमा आउंदा पांच सय बढीले रोजगारी पाउने लुम्बिनी केबलकार प्रालिले जनाएको छ।