२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • पर्यटकीय र तारे होटलहरु संगठीत, होटल एशोसिएन अफ रुपन्देही गठन

    बुटवल-पर्यटकीय र तारे होटलहरु संगठीत भएर होटल एशोसिएसन अफ रुपन्देही नेपाल गठन भएको छ। बुटवलमा भएको भेलाले होटल व्यवसायीहरुको नयाँ संस्था गठन गरेको हो। क्लब डेनोभोका सञ्चालक प्रविणबहादुर पाठकको अध्यक्षतामा होटल एशोसिएसन अफ रुपन्देहीको तदर्थ समिति गठन भएको हो।

    जसका उपाध्यक्षमा दिलीप गौचन, महासचिव विकास पाण्डे, कोषाध्यक्ष पदम केसी, सहकोषाध्यक्ष प्रनिदा दीक्षित तथा सदस्यहरुमा प्रविण शाक्य, ध्रुव पाण्डे, शोभाखर बन्जाडे, टेकनाथ बस्याल रहेका छन्।

    होटल एशोसिएसन नेपाल (हान)मा आवद्ध हुने गरी होटल एशोसिएसन अफ रुपन्देहीको गठन भएको हो। एशोसिएनमा रुपन्देहीका बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक नगरपालिका र छपिया क्षेत्रका करिब ५० वटा होटेल आवद्ध रहेका छन्।

    पर्यटकीय र तारे होटलहरु मात्रै आवद्ध जिल्लाव्यापी संस्था नभएकाले विशिष्टीकृत संस्थाको रुपमा काम गर्ने गरी एशोसिएसन गठन गरिएको अध्यक्ष पाठकले बताए। एशोसिएसनले व्यवसायिक एकता र सहकार्य गर्दै आर्थिक मन्दीको मारमा परेका होटल व्यवसायलाई चलायमान र मर्यादित बनाउने उनको भनाइ छ।

    भेलामा सहभागी संस्थाका सल्लाहकारहरु एवं हानका केन्द्रीय सदस्य गोपाल राना, अग्रज व्यवसायी माधव नेपाल, महेन्द्रनारायण श्रेष्ठ लगायतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन, बुटवल–नारायणगढ सडक निर्माण छिटो पुरा गराउन सरकारलाई दबाव दिनुपर्ने खांचो औंल्याए।

    बुटवल–नारायणगढ सडक निर्माण समयमा पूरा नहुंदा र विमानस्थल पुर्ण क्षमतामा नचल्दा ५० प्रतिशत ब्यापार घटेको व्यवसायीको गुनासो छ। रुपन्देहीका ठूला होटेलहरु भारतीयका लागि विवाह–व्रतबन्ध पर्यटन (माइस टुरिज्म) को माध्यम हुन सक्ने भएकाले सरकारले नीतिगत सुधार गर्नुपर्ने व्यवसायीको माग छ।

    भारतीय पर्यटकलाई सीमा नाका, अध्यागमन कार्यालय र नेपाल प्रवेश गरेपछि सडकमा ट्राफिक प्रहरीबाट सम्मानजनक व्यवहारको साटो दुःख दिने काम भएको भन्दै यसलाई रोक्नुपर्ने, भारतीय पर्यटकका गाडीलाई रुपन्देही जिल्लाभर चल्न दिनुपर्ने, भारु २५ हजार मात्र साथमा लिएर हिंड्न पाउने प्रावधान अब्यवहारिक भएकाले सरकार स्तरमा वार्ता गरी सहज बनाउनुपर्ने व्यवसायीको माग रहेको महासचिव विकास पाण्डेले बताए।

    यी हुन् एशोसिएसनमा आवद्ध होटेलहरु
    क्लब डेनोभो, होटेल द फ्लामिंगो, डार्सिज इन्टरनेसनल होटेल, पाल्म इन्टरनेसनल होटेल, होटेल फर्चुन, मणिग्राम विश्राम बाटिका, होटेल न्यू इरा, ड्रिम इन्टरनेसनल होटेल, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, पवन इन्टरनेशनल होटेल, लुम्बिनी प्यालेस रिसोर्ट, द एसआर होटेल, होटेल रोजउड, एशिएन होटेल, होटेल एभिन्यू,एभरेष्ट इन्टरनेसनल होटेल, दर्पण रिसोर्ट, होटेल एरोमा, महाराजा रिसोर्ट, होटेल सिद्धार्थ भिलासा, होटेल पौवा, होटेल न्यू इरा, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, साकिया होटेल, होटेल सनशाइन, होटेल क्रिस्टल, होटेल लिटिल बुद्ध, होटेल टुलिप, होटेल हिडन प्यालेस, होटेल ओजान २४, होटेल सयपत्री, सखिया फिस रिसोर्ट लगायत।