२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • रुपन्देहीमा पर्यटकीय वातावरण निर्माण गर्न संगठित भएका हौं (अन्तर्वार्ता)

    चितवन, पोखरा र बर्दियालाई जोड्ने गरि रुपन्देही पर्यटनको ट्रान्जिट हव बन्न सक्छ

    रुपन्देहीमा होटेल व्यवसायीहरुको नयाँ संस्था गठन भएको छ। पर्यटकस्तर र तारे होटलहरु आवद्ध होटल एशोसिएसन अफ रुपन्देही नेपाल गठन भएको हो। एशोसिएसनमा बुटवल, सिद्धार्थनगर, तिलोत्तमा, देवदह, सैनामैना, लुम्बिनी र छपिया क्षेत्रमा रहेका पर्यटकस्तरदेखि पांचतारेसम्मका करिब ५० वटा होटेल आवद्ध छन्। होटल व्यवसायीहरुको नयाँ संस्थाको आवश्यक्ता, रुपन्देहीको पर्यटकीय सम्भावना लगायतका विषयमा हामीले होटल एशोसिएसन अफ रुपन्देही नेपालका अध्यक्ष प्रविणबहादुर पाठकसँग कुराकानी गरेका छौं।

    रुपन्देहीमा जिल्ला र नगरस्तरमा होटल व्यवसायीहरुका अरु पनि संस्था छन्। यहाँहरुले नयाँ संस्था गठन गर्नुभएको छ, यसको आवश्यकता किन पर्यो ?
    सबैको आ–आफ्नै उदेश्य छ। विशेष गरि बुद्धजन्मस्थल लुम्बिनीका कारण पर्यटकीय सम्भावना देखेर धेरै साथीहरुले लगानी गर्नुभएको छ। त्यसलाई कसरी सुरक्षित गर्ने भन्ने महत्वपूर्ण हो। होटल व्यवसायको लागि कोठा बनाएपछि पाहुना आउनपर्छ भन्ने धारणा बन्यो। पर्यटक अर्थात पाहुना आउने वातावरणमा निर्माणमा पहल भए जस्तो लागेन। त्यो खालको पर्यटकीय वातावरण निर्माण गर्न हामी संगठित भएका हौं।

    टुरिजम सेक्टर हस्पिटालिटी भनेको सेवा दिने हो। मान्छेहरुले सेवाको स्तर पनि खोज्छन्। बुटवल मोफसलको आर्थिक राजधानी पनि भयो। बुटवललाई पर्यटनको रुपमा चिनाउने पनि उदेश्य हो। पर्यटन व्यवसायलाई र यसको सेवालाई सस्तो भन्दा पनि गुणस्तरीय बनाउनु पर्छ भनेर हामीलाई टड्कारो लाग्यो। रुपन्देही सिमानाका भएको जिल्ला पनि हो। डेढ करोड जनसंख्या त गोरखपुर आसपासमा मात्र रहेछ । त्यसको साथै विहार राज्यसँग जोड्न सकियो। पर्यटनको ठूलो सम्भावना छ। यसमा संगठीत र एकताबद्ध भएर गर्यौ भने अझ राम्रो वातावरण बनाउन सकिन्छ भन्ने लाग्यो।

    तपाईहरुले भरखरै गठन गर्नुभएको होटल एशोसिएसन अफ रुपन्देहीमा आबद्ध होटलले कस्तो सेवा सुविधा प्रदान गर्छ ?
    पर्यटक स्तरका होटललाई आवश्यक पर्ने आधारभूत कुरा जनशक्ती पनि हो। हामी त्यो जनशक्तीको लागि तालिम आयोजना गर्छौ। उनीहरुलाई होटलमा आउने पाहुनालाई कसरी व्यवहार गर्ने भनेर सिकाउँछौं। होटलको लागि सरसफाइ र सेवा सुविधाको मापदण्ड तोक्छौं। आएका नयाँ पाहुनालाई कोठाको विस्तारमा अरु कोही सुतेको हो कि भन्ने नपरोस्। सरसफाइ छ कि छैन भनेर अनुगमन पनि हुन्छ । पर्यटक स्तर भन्दा तलको सेवा हामी दिँदैनौ।

    लुम्बिनीदेखी देवदह र सैनामैनासम्मका व्यवसायीहरु एशोसिएनमा आबद्ध हुनभएको छ। बुद्धजन्मस्थल लुम्बिनीमा त बाहय मुलुकका पर्यटकको चहलपहल हुन्छ। उत्तरी क्षेत्रमा विदेशी पर्यटकहरु खासै देखिँदैनन, कसरी आकर्षित गर्नुहुन्छ पर्यटकहरुलाई?
    हामीले लुम्बिनीलाई नै आधार मानेर एशोसिएन गठन गरेको हो। त्यसबाहेक बुद्धको मावली क्षेत्र देवदहको लागि पनि कार्यक्रम ल्याउन सकिन्छ। बुटवलमा केबलकार सञ्चालनमा आइसक्यो। अर्को केबलकार पनि सञ्चालन हुँदैछ। जितगढी किल्ला पनि छ। यी ठाउँहरुलाई पनि समावेश गरेर जान सके राम्रो सम्भावना छ। नयाँ पर्यटकीय ठाउँहरुको पहिचान गरेर ति स्थलहरु पर्वद्धन गरेर जान सकिन्छ।

    अहिलेको अवस्थामा होटल व्यवसायीको समस्या के-के देख्नुभएको छ ?
    सरकारको नीति नियमले पनि गाह्रो भएको छ । कोभिडले व्यवसायहरु थला पर्यो, त्यसमा व्यवसायीहरुलाई छुट र राहतका कार्यक्रम आएन। अहिले विजुलीको समस्या छ, डिमाण्ड शुल्क छैन । होटल व्यवसायहरुलाई उद्योग सरहको सुविधा छैन। बुटवल नारायणगढको सडक अस्तव्यस्त छ। यसले पनि अफ्यारो पारिरहेको छ। यस्ता आयोजनाहरु समयसिमा भित्र सक्नुपर्यो। यसले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्छ।

    भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चलायमान नहुँदा होटल व्यवसाय पनि प्रभावित हुन्छ। अन्तराष्ट्रिय विमानस्थललाई नियमित र चलायमान बनाउन यहाँहरुको नवगठीत संस्थाबाट के कस्तो पहल हुन्छ ?
    हामी भन्दा अगाडिका व्यवसायीक संस्थाहरुले पनि यसमा पहल गरिरहनुभएको छ। सबैले समस्या र विषय उठान गर्नुभएको छ। हामीले त्यसमा बल प्रदान गर्ने हो। गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न कसरी दबाब दिन सकिन्छ त्यही तरिकाले निरन्तर पहल गर्ने हो, झकझक्याउने हो। रुपन्देहीको पर्यटकीय विकासको लागि अन्तराष्ट्रिय विमानस्थल अपरिहार्य छ।

    अहिले तदर्थ समिति गठन गर्नुभएको छ। नियमीत अधिवेसन कहिले हुन्छ?
    भरखर तदर्थ समिति गठन गरेका छौं। अब दर्ता लगायत प्रक्रियामा जान्र्छौ। एक अर्कामा अस्वस्थ प्रतिस्प्रर्धालाई कसरी कन्ट्रोल गर्ने भन्ने पनि छ। एउटा सकारात्मक वातावरण बनाएर नियमित अधिवेसन गर्छौ।

    आगामी दिनमा रुपन्देही जिल्लाको पर्यटकीय सम्भावना कस्तो देख्नुभएको छ?
    रुपन्देहीमा त म एकदम राम्रो सम्भावना देखेको छु। यो पर्यटनको लागि एउटा ट्रान्जिट पनि हो। चितवन, पोखरा र बर्दियाको विचमा लुम्बिनी पर्दछ। हामीले संस्थाको दर्ता प्रक्रिया सकेपछि एक चरणमा चितवन, पोखरा र बर्दियाको भ्रमण पनि गर्छौ। पर्यटन प्याकेजलाई ति ठाउँहरुसँग समन्वय गर्छौ। भारतबाट र अन्तराष्ट्रिय विमानस्थलबाट अवतरण भएका पर्यटकहरु यहाँ आएर लुम्बिनी बसेर चितवन, पोखरा र बर्दिया जान सक्छन्। त्यस्तै त्यहाँ आएका पर्यटकहरुलाई लुम्बिनी आकर्षित गर्न सकिन्छ। यो पर्यटनको लागि राम्रो स्कोप पनि हो। लुम्बिनी आसपासका पर्यटकीय स्थलहरुको पनि राम्रोसँग प्रवद्र्धन गरेर यहाँ पर्यटकहरु भुलाउन सकिन्छ।