२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • क्वालालाम्पुरबाट निगमको जहाजमा आएका ६४ जना भैरहवा झरे

    गौतमबुद्ध विमानस्थलबाट चार जना हङकङ प्रस्थान



    भैरहवा- नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज मार्फत मलेसियाको क्वालालाम्पुरबाट आएका ६४ जना भैरहवा झरेका छन्। निगमको जहाजले प्रत्येक मंगलबार विहान क्वालालाम्पुर भैरहवा काठमाडौँ उडान गर्ने गर्दछ।

    क्वालालाम्पुरबाट आएर भैरहवा झर्नेको संख्या अहिलेसम्मकै धेरै रहेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ। क्वालाम्पुरबाट आएका निगमको जहाजमा १४२ यात्रु आएको विमानस्थलका प्रवक्ता दिपक बज्रचार्यले बताए। “१४२ जना यात्रु मध्ये ६४ जना भैरहवा झरेका हुन् भने ७८ जना काठमाडौँ गएका छन्।”उनले भने “यो अहिलेसम्मकै धेरै हो। बढ्ने क्रम जारी छ।”

    यसैबीच भैरहवाबाट आज चार जना हङकङ प्रस्थान गरेका छन्। नेपाल एयरलाइन्सले गत भदौ १२ गतेबाट काठमाडौँ ट्रान्जिट भएर भैरहवा हङकङ र भैरहवा दिल्ली उडान सुरु गरेको थियो। आज भैरहवाबाट २ जना दिल्ली प्रस्थान गरे।

    यस अघि २६ गते भैरहवाबाट २ जना हङकङ गएका थिए।
    नेपाल एयरलाइन्सका गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल प्रमुख माधब लोहनीले भैरहवाबाट आज हङकङ प्रस्थान गरेका यात्रु निकै खुशी भएको सुनाए। “यहाँबाट दिल्ली गएर त्यहाँबाट दुबही गएर जान खोजेका थियौं। सोझै यहाँबाट जान पाउँदा हामीलाई धेरै राम्रो भयो भनेर चारै जना खुशी भएर जानुभयो।” उनले भने।

    लोहोनीले आगामी दिनमा यो उडानमा यात्रुहरु अझ बढ्ने बताए। भैरहवाबाट हङकङको लागि एक डेढ घण्टा मात्र ट्रान्जिटमा बस्नुपर्दछ। त्यसैले भैरहवाबाट हङकङ जान सहज छ।