२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • पर्यटन दिवसमा सैनामैना होटेल व्यवसायी संंघद्वारा विदेशी पर्यटकलाई स्वागत

    सैनामैना– विश्व पर्यटन दिवसको अवसरमा सैनामैना होटेल व्यवसायी संंघले विदेशी पर्यटकलाई स्वागत गरेको छ। दिवसको अवसरमा संघले विदेशी पर्यटकको स्वागतका साथै र्याली समेत गरेको छ। सैनामैना १ वनकट्टाबाट सुरु भएको र्याली वडा नम्बर १०को साल्झिण्डीमा पुगेर समापन भएको थियो।

    सो अवसरमा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले नगरमा रहेका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विकस्थल एवं प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार गरि पर्यटन विकास गर्न सकिने बताए। उनले लुम्बिनी आउने पर्यटकलाई पर्रोहा बोलबम धाम, मलमला मन्दिर, थारु संस्कार र संस्कृति देखाउन सके अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
    नुवाकोट, बल्डेङगढी, पाल्पा र सैनामैनालाई जोडेर ट्रेकिङ्ग रुट बनाउन सके आन्तरिक र बाह्य पर्यटकको अवगमन बढ्ने मेयर शर्माको भनाइ छ।

    पर्रोहा बोलबंम धामका अध्यक्ष रामबली चौधरीले धाम वार्षेनी लाखौं पर्यटक आउने एक पवित्र तिर्थस्थल भएको भन्दै पर्यटन संग जोडेर विकास गर्नुपर्ने धारणा राखे। होटेल व्यवासयी महासंघका सचिव नारायण सेनले आन्तरिक तथा बाह्य पर्यटक भित्राउन पर्यटन क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए। पर्यटन क्षेत्रको विकासका लागि यो कार्यक्रम गरिएको सैनामैना होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष झविन्द्र पोख्रेलले बताए।

    कार्यक्रममा होटेल व्यवसायी संघका बरिस्ठ सल्लाहकार ढुण्डीराज न्यौपाने, नेकपा एमाले सैनामैना नगर इन्चार्ज खुसिराम चौधरी,नेपाली कांग्रेस सैनामैना नगर सचिव अर्जुन पौडेल, नेकपा माओबादी केन्द्र नगर उपाध्यक्ष राजेन्द्र घिमिरेले, राष्ट्रिय स्वातन्त्र पार्टीका राजबहादुर क्षेत्री, होटेल तथा रेष्टुरेन्ट व्यवासायी संघ सैनामैनाका सचिव गोविन्द खरेल लगायतले बोल्दै सैनामैनामा पर्यटनको प्रचुर संभावना भएको यो क्षेत्रको पर्यटकीय विकास जरुरी रहेको बताएका थिए।