२०८१ आश्विन २१ गते, सोमबार १३:०५
  • जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिएको टानको गुनासो

    काठमाडौ– ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल टानका अध्यक्ष निलहरी बास्तोलाले जथाभावी मोटरबाटो खन्दा पदमार्गहरु मासिएको बताएका छन्। उनले नयाँ पदमार्ग थप्दै जानुपर्ने बेला स्थानीय तहले जथाभावी सडक बनाएएर पदमार्गहरू मासिँदै गएको गुनासो गरे।

    आइतबार टानको ४५ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष बास्तोलाले पदमार्गलाई जोगाउनका लागि पालिकाहरुलाई अनुरोध गरेर पत्रसमेत पठाएको जानकारी दिए। ‘सडक सञ्जालका कारण छोटिँदै गएका विभिन्न पदमार्गलाई जोगाउँदै नयाँ गन्तव्यस्थलको खोजीमा जुटेका छौं।’ उनले भने ‘पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थानीय तहसँग सहकार्य गरी नयाँ गन्तव्य स्थल पहिचान गर्ने काम भइरहेको छ।’

    बास्तोलाले पर्यटन दशक घोषणा मात्र गरेर नहुने भन्दै यसलाई सफल बनाउन कार्ययोजना तयार गरी लागू गर्नुपर्ने बताए।
    पर्यटन दशक सफल बनाउन सरकारले उत्पादन र क्षेत्रअनुसार पर्यटनसँग सम्बन्धित संघरसंस्थासँग छलफल गरेर कार्ययोजना बनाउनु पर्ने उल्लेख गरे। ‘यसका लागि सम्बन्धित क्षेत्रका व्यवसायीहरूसँग छलफल गरेर कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याउनु पर्छ’ उनले भने ।

    साथै नेपाल पर्यटन बोर्ड र टानको सहकार्यमा सञ्चालनमा आएको टिम्सलाई प्रभावकारी र पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि बास्तोलाले अनुरोध गरे। पर्वतीय पर्यटन क्षेत्रका तर्फबाट तीनै तहका सरकारलाई प्राप्त हुने राजस्व वृद्धि गर्न र लाखौँ युवायुवतीलाई स्वदेशमै रोजगारीको सृजना गर्नका लागि टिम्स अनिवार्य बनाउनै पर्ने उनको भनाइ छ।