२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • पोखरामा अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु

    पोखरा-पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ। काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा सम्मेलन सुरु भएको हो। विभिन्न देशका सय भन्दा बढी वैज्ञानिक र प्राज्ञिक विज्ञहरूको सहभागिता रहेको सम्मेलनमा दीगो पर्यटनका विषयमा गहन छलफल हुनेछ।

    तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल सहित भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, भियतनाम, स्पेन, र पोल्याण्डका प्रतिष्ठित वैज्ञानिक र प्राज्ञिक विज्ञहरूले ७० भन्दा बढी प्राविधिक छलफल र मुख्य प्रस्तुतिहरू राख्नेछन्। गतवर्षको मंसिर मंसिर १५, १६ र १७ गते काठमाण्डौंको चन्द्रागिरिमा प्रथम अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास सम्मेलन( २०२२ आयोजना गरिएको थियो । त्यसैको दोस्रो संस्करणका रुपमा यो पटक पोखरामा कार्यक्रम आयोजना गरिएको हो।

    सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आलेले नेपालको पर्यटनको आधार हिमाल भएको बताउँदै यसको संरक्षणमा सरोकारवाला निकायहरु बीच समन्वय आवश्यकता रहेको बताए। समेलनमा मुख्य वक्ताको रुपमा प्रा।डा।मार्टिन प्राइसले माउण्टेन अन ग्लोबल एजेण्डा र प्रा।डा।तेजी वातानाबेले रिजेनेरेशन टुरिजम केश स्टडीः डेसेत्सुजान नेशनल पार्क विषयमा प्रस्तुतिकरण दिएका थिए।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीले सम्मेलनले दिगो पर्वतीय पर्यटनका चुनौती र उत्कृष्ट अभ्यासका बारेमा विश्वव्यापी रूपमा छलफल र आदानप्रदान गर्न उपयुक्त मञ्च प्रदान गर्ने बताए ।

    कार्यक्रममा भारत सरकारका प्रतिनिधि राजीव रञ्जन मिश्र र प्राध्यापक डा. विश्वजित राय चौधरीले हिमाल र नदीको साझा सम्पदाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । काठमाडौं विश्वविद्यालयका डा. रिजनभक्त कायस्थको अध्यक्षतामा शुरु भएको उद्घाटन सत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरालाई महोत्सव स्थलको रूपमा छानेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

    सम्मेलनको पहिलो दिन ‘भू–संरक्षण, भू–पार्क र भू–पर्यटन, पहाडी संरक्षित क्षेत्रमा दिगो मनोरञ्जन प्रयोगको प्रावधान सुनिश्चितता, पहाडी नदीहरूमा भौगोलिक विविधता र कनेक्टिभिटी ’ लगायतका प्राविधिक विषयहरुमा समानान्तर सत्रहरू सञ्चालन गरिएको थियो । शनिबार र आइताबार पनि विभिन्न समानान्तर सत्रहरुमा दीगो पर्यटन , जवलायु परिवर्तन र यसको असर प्रभाव लगायतका विषहरुमा कार्यपत्र प्रस्तुत हुनेछन् ।