२०८१ आश्विन २१ गते, सोमबार ०७:१३
  • चाडपर्वलाई लक्षित गरि लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

    शनिवार बाहेकका दिनमा टिकट दर ४५०

    बुटवल-लुम्बिनी केबलकार लिमिटेडले चाडपर्वलाई लक्षित गरि पर्यटकहरुलाई छुट प्रदान गर्ने भएको छ। दशैं, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी केबलकारले असोज २१ गतेदेखि लागु हुने गरि चाडपर्व अफर ल्याएको हो। बुटवलबाट पाल्पाको बसन्तपुर जोड्ने गरि २.६ किलोमिटरको केबलकार सञ्चालनमा छ।

    चाडपर्वको अफरमा साविक टिकट दरमा शनिबार वाहेक अन्य दिनहरुमा ४० प्रतिशत छुट हुने भएको छ। अब शनिबार वाहेक अन्य दिनहरुको टिकट दर ४५० रुपैया मात्र कायम भएको छ। नेपालीहरुका महान चाडपर्वका अवसरमा आम सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए।

    टिकट दरमा छुटसंगै कम्पनीले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने उनले बताए। चाडपर्वमा परिवार सहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर ल्याइएको केबलकारले जनाएको छ। यसअघिको मर्निङ अफर जस्तै सफल हुने लुम्बिनी केबलकारको विश्वास लिएको छ।

    आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो। बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन रहेको केबलकार २.६ किलोमिटर दुरीको छ।
    टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर रहेको छ। बसन्तपुरमा पछिल्लो समय ४० लाख लागतमा जीप लाइन सञ्चालनमा समेत आएको छ।

    छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउंदै छ। कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेका छन्। बसन्तपुरमै २ वर्षभित्र साढे ३ अर्ब लागतमा १ सय ५० कोठा, क्यासिनो सहित पांच तारे होटेल बनाउने तयारी लुम्बिनी केबलकारले गरेको छ।