२०८१ आश्विन २१ गते, सोमबार ०९:०८
  • होमस्टे महासंघको चौथो महाधिवेशन चितवनको माडीमा सुरु

    चितवन- होमस्टे महासंघको चौथो महाधिवेशन चितनवनको माडीमा सुरु भएको छ। महाधिवेसनमा होम स्टेका ४ सय बढि प्रतिनिधिहरुको सहभागीता छ।

    होम स्टे महासंघको उद्घाटन गर्दै वन तथा वातवरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालको कला संस्कृतिप्रति धेरै देशका पर्यटकहरु आकर्षित हुने गरेको भन्दै यसलाई जोगाउनुपर्ने बताए। “होम स्टेले कला संस्कृति, सभ्यता, परम्परा र संस्कारलाई जीबित राख्न मद्दत गरेको छ ।” उनले भने “हाम्रो परम्परा र संस्कृतिको अध्ययन गर्न बिदेशी समेत आउने गरेका छन् ।”

    होम स्टेहरुले आर्थिक गतिबिधिमा समेत टेवा पु¥याउने गरेको महतोको भनाई थियो। बिश्वका कतिपय देशहरु धनि भएर पनि संस्कृति र सभ्यताको कमीका कारण पछि परेको भन्दै उनले संस्कार र संस्कृतिको संरक्षणमा राज्यले सक्दो सहयोग गर्ने बताए ।

    होम स्टे महासंघ नेपालका अध्यक्ष प्रेमशंकर मर्दनियाले विभिन्न ठाउँमा लुकेर रहेका पर्यटकीय गन्तव्यको विकास गरि स्थानियहरुको जिविकोपार्जनको अवसर दिनुपर्ने बताए। उनले स्थापना भएका होम स्टेहरुलाई स्थापित गर्न सरकारले विभिन्न कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरे।  

    कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिका प्रमुख तारा कुमारी काजी महतो, होम स्टे महासंघ बागमती प्रदेशका सल्लाहाकार श्री प्रसाद दवाडी, महासचिब कृष्ण चौधरी लगाएतले आफ्ना भनाइ राखेका थिए। उनीहरुले होम स्टेले कला संस्कृतिको जगेर्ना गर्न मद्धत पुग्ने बताएका थिए।

    उद्घाटन समारोहअघि माडीको बसन्तपुर बजारमा  झाँकी तथा र्‍यालीको आयोजना गरिएको थियो। माडीको विभिन्न स्थानमा सञ्चालनमा रहेका होमस्टेहरुले आफ्नो संस्कृति झल्काउने सांस्कृतिक झाँकी देखाएका थिए।

    देशभरका करिव १ हजार ५ सय स्थानमा होमस्टे संचालनमा रहेको छन्। एउटा नगरभित्र सबैभन्दा बढी छ वटा जातजातिको होमस्टे चितवनको माडीमा सञ्चालनमा रहेका छन्।

    महाधिबेशन अन्तर्गत शनिवार वन्दसत्र हुने छ । बन्दसत्र माडी नगरपालिका वडा नम्बर ९ मा रहेको दुरा सामुदायीक होम स्टेमा हुने छ । महाधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ।