२०८१ आश्विन २१ गते, सोमबार ०७:११
  • ‘भैरहवामा अन्तराष्ट्रिय उडान प्राविधिक र आर्थिक रुपमा काठमाडौँ भन्दा सहज’

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नचल्नुमा एयररुट र प्रवेशविन्दु कारण होइन

    भैरहवा– नेपाल एयर ट्राफिक कन्ट्रोलर एशोसिएसनले हालै भैरहवामा गोष्टी तथा अन्तराक्रिया कार्यक्रम गरेको थियो। एशोसिएसन अर्थात नेपाल हवाइ नियन्त्रक संघ एयर ट्राफिक कन्ट्रोलरहरुको पेशागत संस्था हो। एशोसिएनको पश्चिम इकाइ कमिटीले भैरहवामा गरेको कार्यक्रममा हवाइ रुट बारे छलफल गरिएको थियो।

    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डे, सिद्धार्थनगरका मेयर इस्तीयाक अहमद खान, नाट्टा, उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ लगायत सरोकारवालाहरुलाई आमन्त्रित गरिएको गोष्टीमा एयर रुट लगायतका प्राविधिक कारणले अन्तराष्ट्रिय उडानमा बाधा पुगेको भन्ने कुरा भ्रम भएको बताइएको थियो।

    एयर ट्राफिक कन्ट्रोलर एशोसिएनका पश्चिम इकाइ संयोजक तथा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका एयर कन्ट्रोलर प्रदीप अर्यालले भारतले एयर रुट नदिएर चलेको भन्ने गलत कुरा प्रवाह भइरहेको बताए। ‘अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको लागि भारतले एयर रुट, प्रवेश विन्दू, आइएलएसको अनुमती नदिएर चलेन भन्ने खालको भ्रमपूर्ण सन्देश छ।’ उनले भने ‘त्यो मात्र समस्या होइन। अहिलेकै अवस्थामा बाहिरबाट आउने जहाजको लागि काठमाडौ भन्दा भैरहवा व्यवसायीक र प्राविधीक रुपले सहजता छ। यो कुरा हामीले बुझाउनुपर्छ।’ आइएलएसका कार्ण वर्षको ८–१० दिन मात्र समस्या भएकाले यसले असर नगर्ने अर्यालको भनाइ छ।

    सिमराबाट नेपालको आकासमा प्रवेश गरेर काठमाडौं जान र भैरहवा आउन उस्तै भएको उनले बताए। तर जहाजहरुलाई काठमाडौँमा जस्तो आकासमा होल्ड बस्नु नपर्ने भन्दै भैरहवा आउँदा आर्थिक रुपमा पनि एयरलाइन्सहरुलाई फाइदा हुने अर्यालले दाबी गरे। ‘सिमराबाट काठमाडौँ जाँदा होल्डमा पर्ने धेरै चान्स हुन्छ। एउटा जहाज होल्ड पर्दा १५ देखी २० मिनेट जान्छ। भैरहवामा होल्ड बस्नुपदैन। निस्कनलाई पश्चिमको रुट छँदै छ, समस्या छैन।’ उनले भने ‘जजिराले कुबेत- काठमाडौं-कुवेत उडान गर्दा साढे ९–१० घण्टा लागेको छ। तर कुबेत–भैरहवा–कुबेत साढे ८ घण्टामा सिध्याएको छ। प्राविधिक रुपमा भैरहवाको उडान धेरै सहज छ, खर्च पनि कम हुन्छ।’ काठमाडौँमा जस्तो वरपर पहाड नभएकाले पनि भैरहवा सहज भएको अर्यालको भनाइ छ।

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नयाँ रुट नपाएका कारण समस्या नभएको बताए। ‘भैरहवाबाट पश्चिम जानलाई रुट छ। पश्चिमबाटै प्रवेश पनि गर्न पायो भने भैरहवाको लागि धेरै सहज हुन्छ। तर रुटै नपाएर समस्या भएको होइन।’ उनले भने ‘मुख्य कुरा बजारका कारण नै हो। विदेशी बायुसेवा कम्पनीहरु अझै आस्वस्त भएका छैनन्।’

    प्राविधिक कारण भन्दा पनि भैरहवामा म्यानपावर एजेन्सी, मेडिकल एजेन्सी, भिसा प्रोसेस लगायतका संरचना र बजार नभएकाले बायुसेवा कम्पनीहरु भैरहवा आउन नचाहेको हुन सक्ने अन्तरक्रियामा बताइएको थियो।

    अहिले काठमाण्डौ, भैरहवा र पोखरामा अन्तराष्ट्रिय विमानस्थल छ । छोटो दुरीमा तीन वटा अन्तराष्ट्रिय विमानस्थल हुँदा जहाज आउजाउलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा समेत गोष्टीमा छलफल गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि तथा सरोकारवालाहरुले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चलायमान बनाउन पहल आवश्यक रहेको बताएका थिए।