२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • भैरहवाबाट अन्तराष्ट्रिय उडान नियमित नभए आन्तरिक उडान ठप्प पार्ने चेतावानी

    भैरहवा-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको माग सिद्धार्थ सञ्जाल रुपन्देहीले आन्दोलनको घोषणा गरेको छ।
    सञ्जालमा निजी क्षेत्र र सामाजिक गरी ३२ संघसंस्था आबद्ध सञ्जालले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरेर नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको हो। विमानस्थल उद्घाटन भएको डेढ वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्य र निजी क्षेत्रको अर्बौं लगानी डुब्न लागेको उनीहरुको गुनासो छ।

    सञ्जालले कार्तिक १४ गते प्रधानन्त्रीलाई ज्ञापनपत्र बुझाउने, १५ गतेदेखि विभिन्न क्षेत्रका संघसंस्था, ट्राभल्स, एयरलाइन्स लगायतलाई पत्राचार गर्ने, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिका, गाउँपालिकालगायतका सरकारी निकाय तथा जनप्रतिनिधिहरुलाई भेटी ऐक्यबद्धताका लागि आग्रह गर्ने जनाएको छ।

    यसैगरी आन्तरिक उडान रोक्नका लागि विभिन्न एजेन्सीहरुलाई टिकट नकाटी आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गर्ने, नियमित उडानको माग गर्दै भैरहवामा शान्तिपूर्ण र्याली गर्ने कार्यक्रम पनि तय गरिएको छ। भैरहवाको आन्तरिक विमानस्थल अगाडि शान्तिपूर्ण धर्ना तथा रिले अनसन गर्ने जनाएको छ। त्यति गर्दा पनि माग सम्बोधन नभए मंसिर २५ पछि आन्तरिक उडान अनिश्चितकालका लागि रोक्न विमानस्थलको गेटमा धर्ना दिने र सीमा नाका बेलहियासमेत ठप्प पार्ने गरी आन्दोलन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

    विमानस्थल नियमित सञ्चालन गर्न पटकपटक आग्रह तथा दबाबमूलक कार्यक्रम गर्दा पनि सरकार मौन रहेकाले अन्तिम लडाइँको रूपमा आन्दोलन गर्नुपरेको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए। ‘विमानस्थल सञ्चालनका लागि सरकार तथा सम्बन्धित निकायलाई दबाब दिन आन्दोलनको विकल्प यहाँका आम सर्वसाधारण तथा उद्योगी–व्यवसायीले देखेका छैनन्,’ उनले भने।
    २०७९ जेठ २ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले कुवेतबाट आएको जजिरा एयरवेजलाई स्वागत गर्दै अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए। तर, उद्घाटनको डेढ वर्षसम्म पनि अन्तर्राष्ट्रिय विमानस्थल चलायमान हुन सकेको छैन । गत वर्ष वैशाखयता जजिराले पनि उडान गरेको छैन।
    यसअघि पुसदेखि फागुन महिनासम्म पनि जजिराले उडान रोकेको थियो। अहिले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सातामा एक दिन मंगलबार मलेसियाको क्वालालम्पुरबाट भैरहवा–काठमाडौं उडान गरिरहेको छ । त्यसबाहेक अरु उडान थपिएको छैन।