२०८१ आश्विन २१ गते, सोमबार ०९:१४
  • पर्यटक आगमनले रेकर्ड ब्रेक गरेपछि प्रधानमन्त्री प्रचण्ड उत्साहित

    ‘महासचिव गुटेरेसको भ्रमणपछि पर्यटक आगमन गुणात्मक रुपमा बढ्छ’

    बुटवल-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपालमा विदेशी पर्यटकको आगमनले रेकर्ड ब्रेक गरेपछि उत्साहित भएका छन्। बुटवलमा आम्दा अस्पतालको बार्षिकोत्सव समारोहमा उनले मुलुकको आर्थिक समस्या सुधार हुँदै गएको र पर्यटन व्यवसाय पनि फस्टाउँदै गएको बताए। ‘नेपालको इतिहासमा एक महिनामा यति धेरै टुरिष्ट आएको पहिलो चोटी भएको छ। पर्यटन व्यवसाय फस्टाउँदै छ यो तथ्यलाई पनि हामीले ध्यान दिनुछ।’ प्रचण्डले भने।

    सन २०२३ को अक्टोवर महिनामा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार एक महिनामा यती धेरै पर्यटकको आगमन इतिहासमै पहिलो पटक हो।

    एक महिनामा नेपाल भित्रिने पर्यटकको संख्या हालसम्मकै उच्च

    बुधबार पर्यटन बोर्डले पर्यटन आगमनको तथ्यांक सार्वजनिक गरेपछि विहावार बुटवलको कार्यक्रममा प्रचण्ड पर्यटन आगमनप्रति उत्साह व्यक्त गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणबाट पर्यटक आगमन अझै बढ्ने आशा व्यक्त गरे। आँफूसँग भेटेका विदेशी प्रतिनिधिले पनि सोही कुरा बताएको उनले जानकारी दिए।

    ‘अन्नपूर्ण बेस क्याम्पबाट र गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट जसरी अपिल भएको छ। आज विहान मात्र मेरो वर्ड बैंकका पदाधिकारीहरुसँग एउटा वार्ता थियो।’ प्रचण्डले भने ‘कोरियाका कृषि मन्त्री अहिले नेपाल भ्रमणमा हुनुहुन्छ । उहाँसहितको एउटा ठूलो डेलिगेसनसँग वार्ता भएको थियो। उहाँहरु सबैको एउटा भनाइ के छ भने संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमणले अब नेपालमा टुरिजम अझ गुणात्मक बढ्छ ।’ महासचिव गुटेरेसको नेपाल भ्रमण सामान्य औपचारिकता मात्र नभएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।