२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • मेची-महाकाली साइकलयात्रीले भने ‘जितगढी पहिले भन्दा अझ आकर्षक’


    बुटवल-मेची महाकाली साइकल यात्राको टोलीले बुटवलको ऐतिहासिक जितगढी किल्लाको अवलोकन गरेको छ। हिमालय राइडर सोसाइटीको आयोजनामा कार्तिक ११ गते मेची पुलबाट हेटौडाका ११ जना र बुटवलका २ जनाले साइकल यात्रा सुरु गरेका थिए। यात्राको छैटौ दिन विहिवार साँझ उनीहरु बुटवल आएका थिए।

    शुक्रबार विहान जितगढी किल्लाको अवलोकन गरेका हुन्। जितगढी पुग्नु अघि उनीहरुले गोलपार्कमा रहेको दुर्गामन्दिरको दर्शन गरेका थिए। त्यसपछि पारि बुटवल अर्थात बटौली बटौली हुँदै नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ जितगढी पुगेका थिए।

    हिमालय राइडर सोसाइटीका संस्थापक अध्यक्ष तथा साइकल यात्रा संयोजक चेतनाथ आचार्यले जितगढी किल्ला पहिले भन्दा आकर्षक लागेको सुनाए। ‘पहिले पनि जितगढी आएको थिएँ। त्यो बेला यहाँ यत्तीको निर्माण भइसकेको थिएन। अहिले आउँदा आकर्षण लाग्यो।’ उनले भने ‘आन्तरिक देखी बाहय पर्यटकलाई पनि लोभ्याउने र इतिहास झल्काउने खालको संरचना तयार भएको रहेछ। साइकलबाट पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भनेर आँफूहरुले मेचि महाकाली साइकल यात्रा गरेको आचार्यले बताए।’


    सोसाइटीका उपाध्यक्ष एवं साइकल यात्राका प्रवक्ता राजु थापाले जितगढी आउँदा आनन्द लागेको सुनाए। उनले प्रदुषणयुक्त सवारी साधनको न्युनिकरणको लागि साइकल यात्रालाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे। ‘साइकल मार्फत पर्यटन प्रवद्र्धन गरौं, वातावरण जोगाउँ, इन्धन वापत हुने खर्चलाई न्युनीकरण गरौं भन्ने उदेश्यसाथ यात्रा सुरु गरेका हौं। ‘ उनले भने ‘अत्यावश्यक बाहेक अरु यात्रामा साइकल प्रयोग गर्न सकिन्छ। सडक पैदलमैत्री, अपांगमैत्री साइकलमैत्री हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजेका छौं।’

    पत्रकार समेत रहेका हेटौडाका साइकलयात्री भानुभक्त आचार्यले साइकल यात्राले पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने बताए। उनले स्वास्थ्यको लागि पनि साइकलयात्रा उपयोगी रहेको भन्दै यसबाट दैनिक जिवनयापन पनि चलाउन सकिने उल्लेख गरे। ‘दैनिक ५–१० किलोमिटरको यात्रा मोटरसाइकल नचढी साइकलले पनि काम चलाउन सकिन्छ। साइकलले पनि आफ्नो दैनिक जिवन यापन सहज हुन्छ भन्ने सन्देश सहित हामीले मेची महाकाली यात्रा राखेको हो।’ उनले भने ‘हाम्रो यो पर्यटन प्रवद्र्धन पनि हुन्छ।’

    आचार्यले पर्यटकहरुलाई साइकल सुविधा उपलब्ध गराउन बुटवलका होटल व्यवसायीहरुलाई आग्रह समेत गरे। ‘बुटवलको होटलहरुले पनि साइकल राखेर पर्यटकहरुलाई भाडामा उपलब्ध गराउन सक्छन्। त्यसले पर्यटकको बसाइ एक दुई दिन लम्बिन सक्छ।’ उनले भने । जितगढी अवलोकनपछि साइकलयात्रीहरु सैनामैना हुँदै पश्चिम लागेका छन्।