२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • नुवाकोटगढीमा भारतीय पर्यटकको चहलपहल

    बुटवल- ऐतिहासिक नुवाकोटगढीमा पछिल्लो पटक भारतीय पर्यटकको आगमन पनि बढेको छ। पर्व र पर्यटनको सिजन सुरु सँगै नुवाकोटमा चहलपहल बढेको हो।

    गत वर्ष आन्तरिक पर्यटकहरुको मात्र चहलपहल रहने नुवाकोटमा हिजोआज भारतीय पर्यटक पनि आउन थालेका नुवाकोटगढी गेष्ट हाउसका सञ्चालक प्रदीप नेपाल बताउँछन्। ‘पहिले पहिले रुपन्देही र आसपासबाट मात्र घुम्न आउनेहरु हुन्थे। हिजो आज भारतीय पर्यटकहरु पनि गाडी लिएर आइरहन्छन्।’ उनले भने। बुटवल नुवाकोटको सडक पनि कालोपत्रे भएकाले भारतीय पर्यटक पनि बढेको हुन सक्ने नेपालले बताए।

    यस्तै दशैंको बेलामा आन्तरिक पर्यटकहरु पनि चहलपहल छ। विशेषगरि रुपन्देही, नवलपरासी र कपिलबस्तुबाट नुवाकोट घुम्न आउने गर्दछन्। दैनिक चार पाँच सय जति नुवाकोटमा आउने गरेको होटल व्यवसायी नेपालको भनाइ छ। तर अघिल्लो वर्षको तुलनामा आन्तरिक पर्यटक भने केही घटेको उनले बताए। ‘अघिल्लो दसैंको तुलनामा यो बेला घुम्न आउनहरु कम छन्।’ उनले भने ‘अहिले केबलकार निर्माण हुँदै छ। धेरैले केबलकार चलेपछि आउने सोँच बनाउनुभएको होला।’

    प्राकृतिक, धार्मीक र ऐतिहासिक महत्व बोकेको नुवाकोटमा तिहारपछि केबलकार सञ्चालन हुँदैछ। सिद्धार्थ केबलकार प्रालिले बुटवलबाट नुवाकोटसम्म २ किलोमिटर दुरीको केबलकार निर्माण गरेको छ। केबलकार निर्माण अन्तिम चरणमा पुगेको मंसिरबाट सञ्चालनमा आउने सिद्धार्थ केबलकारका अध्यक्ष राजेन्द्रसिंह गुरुङले बताए। ‘केबलकारको अहिले ९० प्रतिसत जति काम सकिएको छ। मंसिर महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरेका छौं।’

    एक अर्बको लागतमा देउराली डाँडाबाट पाल्पाको ऐतिहासिक स्थल नुवाकोटसम्म केबलकारको दुरी २ किलोमिटर छ। केबलकार यात्राको ५ सय मिटर जंगलको बीच हुँदै यात्रा हुन्छ। बाँकी डेढ किलोमिटरको यात्रामा बुटवल सहित पर परसम्म दृष्यावलोकन गर्ने सकिने अध्यक्ष गुरुङले बताए।

    नुवाकोटमा अहिले भैरब मन्दिर पुनिनिर्माणको काम भइरहेको छ। त्यसैगरि उजिरसिंह मणिमुकन्द सेन पार्कको पनि पुननिर्माण हुँदै गरेको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले बताए। नुवाकोटमै बनेको संस्कृतीक डबली पनि केही समयमा सञ्चालनमा आउने उनले जानकारी दिए। सांस्कृतिक डबलीमा पाल्पा लगायत नेपालमा भएका विभिद कला संस्कृतीहरुलाई देखाउने गरिन्छ। ‘संस्कृतिको जगेर्ना गर्ने उदेश्यले डबली बनाइएको हो।’ नेपालले भने ‘भैरब मन्दिरसँगै रहेको नुवाकोटगढीलाई संरक्षण र सम्बद्र्धनको लागि पुरातत्वमा सम्पर्क गरिरहेका छौं।’

    २ सय वर्ष अघि बुटवलको जितगढीमा उजिरसिंह नेतृत्वको नेपाली सेनाले अंग्रेजलाई परास्त गरेको थियो। त्यसबेला नुवाकोट युद्धको रणनति बनाउने ठाउँ थियो। नुवाकोटमा रहेको भ्युटावरबाट बुटवल शहरको मनोरम दृष्यसहित भैरहवा, परासी र सिमापारी भारतसम्मका रमणीय दृष्य हेर्न सकिन्छ। पर्यटकको सेवाका लागि नुवाकोट क्षेत्रमा साना ठूला गरेर १५ वटा होटल रहेका छन्।