२०८१ आश्विन २१ गते, सोमबार ०९:०८
  • बसन्तपुरमा कुलमानले भने: केबलकारलाई पर्यटकको लागि मात्र नभइ यातायातको माध्यम बनाऔं


    बुटवल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा केबलकारलाई पर्यटकको लागि मात्र नभई ढुवानी र यातायातको माध्यम बनाउन सकिने बताएका छन्। उनले धेरै संख्यामा केबलकार निर्माण गरि पहाडी र हिमाली क्षेत्रमा यातायातको माध्यम बनाउनुपर्ने उल्लेख गरे।

    घिसिङले शनिबार बुटवल र पाल्पा जोड्ने लुम्बिनी केबलकारको यात्रा गरेका थिए। केबलकारको यात्रा र अवलोकनपछि बसन्तपुरमा पत्रकारसँग कुरा गर्दै उनले नेपाल जस्तो पहाड र हिमालको भू बनोट भएको मुलुकमा केबलकारलाई सडकको विकल्पमा प्रयोग गर्न सकिने बताए। कार्यकारी निर्देशक घिसिङले नेपालमा केबलकार सञ्चालनको संख्या बढ्दै जांदा यसले आन्तरिक विद्युत खपत समेत बढाउने दाबी गरे।

    पहाडी क्षेत्रमा सडक बनाएर इन्धनबाट ढुवानी गर्नु धेरै महंगो पर्ने, ब्यापार घाटा बृद्धि हुने र वातावरण समेत प्रदुषित हुने भएकाले सरकारले केबलकारलाई प्रवद्र्धन गर्नुपर्ने उनको जोड छ।घिसिङले केबलकारहरुले नेपालमा पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जनासंगै स्वच्छ उर्जा खपतमार्फत वातावरण संरक्षणमा पनि योगदान गरिरहेको उल्लेख गरे । ‘केबलकारले पर्यटनमा टेवासंगै वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गरेको छ’–घिसिङले भने–‘पहाडका चुनखानीहरुबाट सिमेन्ट उद्योगसम्म ढुवानी गर्न केबलकारहरु सबैभन्दा उपयुक्त विकल्प हुनसक्छ, त्यसतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्छ ।’

    घिसिङले केबलकारको टप स्टेशनमा रहेको बुटवल–पाल्पा ३३ केभीए प्रशारण लाइनको समेत निरीक्षण गर्दै करेन्ट लागेर हुनसक्ने सम्भावित दुर्घटना रोक्न बसन्तपुरमा एउटा पोल थप्न निर्देशन दिए। बसन्तपुरमा घिसिङले कामाख्यादेवी मन्दिरको दर्शन र पुजाआजा समेत गरे। केबलकारका स्टेसन म्यानेजर डिएन कायस्थ सैंजूले स्थानीयसहित आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको लुम्बिनी केबलकारले प्रति महिना ६ लाख रुपैयां महशुल बराबरको विद्युत खपत गरिरहेको बताए।