२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • सैनामैनामा मंसिर ६ गतेबाट औद्योगिक व्यापार महोत्सव हुँदै

    औद्योगिक ग्रामको लागि लगानी सम्मेलन, नगरका पर्यटकीय स्थल झल्काउने लघु उद्यान राखिने


    सैनामैना-रुपन्देहीको सैनामैनामा मंसिर ६ गतेबाट छैटौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव २०८० हुँदैछ। सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा सैनामैना नगरपालिका ३ मुर्गियाको पुरानो हाटबजार तथा दुर्गामन्दिर परिसरमा हुने महोत्सव मंसिर १७ गतेसम्म सञ्चालन हुने छ। महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

    सैनामैनामा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवद्र्धन गर्न, धार्मिक एवं संस्कृतीक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएकोे महोत्सव मुल आयोजक समितिका संयोजक प्रेमबहादुर खड्काले बताए। महोत्सवबाट स्थानिय उपभोक्ताले स्थानिय तहमा नै सकेसम्म सस्तोमा विविध सामान खरिद विक्रिको अवसर प्राप्त गर्ने, उद्योगी व्यवसायीले आफ्ना उत्पादनको प्रवद्र्धन गर्ने अवसर पाउने सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका खड्काको भनाइ छ।

    महोत्सवमा युवा उद्यमशिलता गोष्ठी सञ्चालन, युवा उद्यमी सम्मान कार्यक्रम सञ्चालन गरिने छ। त्यस्तै सैनामैना औद्योगिक ग्राममा उद्योग स्थापना गर्न नगरपालिकाको समन्वयमा लगानी सम्मेलन गरिने, बर्तमान व्याजदरको बारेमा बैंक र लगानीकर्ताबीच अन्तरक्रिया हुने पत्रकार सम्मेलनमा बताइएको थियो।

    त्यस्तै पर्यटन प्रवद्र्धन तर्फ सैनामैना भित्र रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनि, सैनामैनाको पर्यटकीय सम्भावना बारे गोष्ठी तथा अन्तराक्रिया, स्थानिय कलाकारद्वारा सिर्जित मुर्तिकला हस्तकला प्रदर्शनी लगायत रहेका छन्। सैनामैना भित्र रहेका धार्मिक, पुरातात्वीक एवं पर्यटकीय स्थल झल्काउने लघु उद्धान पनि रहने महोत्सवमा रहने छ। सैनामैना महोत्सवमा हरेकदिन सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, नगरस्तरीय विद्यालय लोक नृत्य प्रतियोगिता, डान्सिङ आइडल, मम्मी डान्स प्रतियोगिता पनि रहने छन्। भजन प्रतियोगितासँगै लोकदोहारी र र्याप गित प्रतियोगिता पनि राखिएको महोत्सव संयोजक खड्काले बताए।

    महोत्सवको तयारी तिब्र भइरहेको र मंसिर ५ गतेसम्म स्टल बुकिङको व्यवस्था गरिएको संघका बरिष्ठ उपाध्यक्ष तथा स्टल बुकिङ संयोजक दिपक अधिकारीले बताए। महोत्सवको साढे ३ लाख दर्शकले अवलोक गर्ने तथा ५ करोड बढिको कारोबार हुने अपेक्षा राखिएको सैनामैना उद्योग बाणिज्य संघका महासचिव लोकनाथ अधिकारीले बताए। महोत्सवमा सर्बसाधारणको लागि ८० रुपैया र विद्यार्थीहरुका लागि ५० रुपैया टिकट शुल्क तोकिएको छ। ज्येष्ठ नागरिक तथा अपांगता भएका, असाहयको लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।