२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • एक महिनामै ८० हजार पर्यटक मुस्ताङमा

    मुस्ताङ-कात्र्तिक महिनामा स्वदेशी तथा विदेशी गरि ८० हजार पर्यटक मुस्ताङको भ्रमण गरेका छन्। यो एक महिनाको अवधिमा ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार पाँच सय चारजना विदेशी पर्यटकले भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ। दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो।

    घाँसा प्रहरी चौकीले मुस्ताङ भित्रने र लेतेमा बाहिरिने आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने व्यवस्था मिलाइएको छ। विदेशी पर्यटकको अभिलेख भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोम र लोमान्थाङस्थित कार्यालयले राख्ने गरेका छन्।
    मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको होटल व्यवसायीले बताएका छन्।

    बेनी–जोमसोम सडकमार्गका अलावा पोखरा–जोमसोम हवाईमार्गबाट पनि मुस्ताङमा पर्यटक भित्रिएका थिए । मुक्तिनाथको रानीपौवाका होटल व्यवसायी सुरेन्द्र गौचनले कात्तिकमा पर्यटक आगमन उत्साहजनक भएको जानकारी दिए ।
    यसपालि सडक, मौसम सफा भएकाले छोटो समय घुमघाम गर्नेले मुस्ताङलाई रोजेको उनको भनाइ छ।