२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • सैनामैना : लुम्बिनी जानको लागि सिधा र सहज प्रवेशमार्ग

    रामापुर र मुर्गियाबाट लुम्बिनी जोड्ने सडकको प्रचार प्रसार भएमा सैनामैनामा पर्यटकीय चहलपहल बढ्छ

    सुदीप भण्डारी
    कुनै बेला सैनामैनाबासीका लागि बुद्धजन्मस्थल लुम्बिनी धेरै टाढा थियो। बुटवल र भैरहवा नपुगी लुम्बिनी टेक्न सकिँदैन थियो। मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापति समेत रहेका सैनामैनाका स्थानिय गोबिन्द खनाल विगतमा धेरै पटक बुटवलबाट भैरहवा हुँदै लुम्बिनी गएको सम्झिन्छन्। ‘हामीलाई त लुम्बिनी धेरै टाढा थियो। यहाँका विद्यालयबाट शैक्षिक भ्रमण जानको लागि पनि बुटवलबाट भैरहवा नगइ सम्भव थिएन।’ उनले भने ‘रामापुरबाट दक्षिण तर्फ बिचबिचमा गाउँका बाटा मात्र थिए। लुम्बिनीसँग सैनामैना जोडिन सकेको थिएन।’

    अहिले यहाँका नगरबासीलाई मात्र होइन मुलुकका विभिन्न ठाउँबाट घुम्न आउनेहरुको लागि सैनामैना लुम्बिनी जान सहज र सिधा प्रवेशमार्ग बनेको छ। तपाई पूर्वपश्चिम राजमार्गमा यात्रा गरिरहनुभएको छ, अनि राजमार्गबाट सिधा लुम्बिनी जान खोज्दै हुनुहुन्छ भने सैनामैना राम्रो विकल्प हो। सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनीबाट दक्षिण लागेपछि २ लेनको सडक हुँदै लुम्बिनी पुग्न सकिन्छ। यो सडकलाई रामापुर–लुम्बिनी सडक भनिन्छ। रामापुर कलौनीबाट देवापार, मैनहिया, सुर्यपुरा, हुँदै १८ किलोमिटर यात्रा गरेपछि लुम्बिनीको पर्साचोक पुगिन्छ।

    शान्ति समाजका निवर्तमान अध्यक्ष खनालले लुम्बिनी प्रदेशका जिल्लासँगै बुटवल पश्चिम भेगको लागि सैनामैना हुँदै लुम्बिनी जान सहज हुने उल्लेख गरे। पूर्व पश्चिम यात्रा गर्नेहरुलाई यो सडकको बारेमा पर्याप्त जानकारी दिनुपर्ने उनको भनाइ छ।

    सैनामैना मुर्गिया निवासी खिम श्रेष्ठ पर्यटन व्यवसायी हुन्। लुम्बिनीमा होटल व्यवसाय सञ्चालन गरिरहेका उनी रामापुर–लुम्बिनी सडकका नियमित प्रयोगकर्ता हुन्। सैनमैनाबाट भिडभाड नभएको २ लेनको सडकहुँदै सहजसँग लुम्बिनी आइजाइ गर्न सकिने होटल सुरम्भाका सञ्चालक समेत रहेको श्रेष्ठ बताउँछन्। ‘सडकमा यात्रा गर्न पनि सजिलो छ। भिडभाड पनि छैन।’ उनले भने ‘पश्चिमबाट लुम्बिनी भ्रमणमा आउने कतिपय अझै पनि बुटवलबाट भैरहवा पुगी ६०–७० किलोमिटर लुम्बिनी जाने गरेका छन्। उनीहरुलाई यो सडक चिनाउन सक्यो भने समयको पनि बचत हुन्छ। यहाँ पर्यटकीय चहलपहल पनि बढ्छ।’

    सैनामैना ६ का वडाध्यक्ष गोपाल पोखरेल कलौनीलाई लुम्बिनी प्रवेश मार्गको रुपमा चिनाउन पहल गरिरहेको सुनाए। ‘हामीले गेट बनाउन खोजेको हो। अहिलेको आर्थिक अवस्थामा राज्यले गेटमा लगानी नगर्नै भन्यो।’ उनले भने ‘गेट नबनेपनि नगरपालिका र वडाको तर्फबाट लुम्बिनीको प्रवेश मार्गको रुपमा चिनाउने प्रयास गर्नेछौं।’

    कलौनीबाट मात्र होइन सैनामैना ४ को मुर्गिया चोकबाट पनि सहज तरिकाले लुम्बिनी जान सकिन्छ। मुर्गिया चोकमा आकर्षक प्रवेशद्वार पनि छ। लुम्बिनी शान्ति प्रवेशद्वारको गत असोज २६ गते लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका थिए। मुर्गीयाबाट रन्यौरा, सिसइ, सुर्यपुरा हुँदै लुम्बिनी जान सकिने सैनामैना ४ का वडाध्यक्ष रामप्रसाद अधिकारीले बताए। ‘यहाँबाट २०–२५ मिनेटमा मज्जाले लुम्बिनी पुग्न सकिन्छ। यहाँको सडक निर्माण पनि अन्तिम चरणमा छ।’ उनले भने ‘एउटा कल्भर्ट बनाउन बाँकी छ। त्यो पुरा भएपछि अझ सहज हुन्छ।’ अधिकारीले बुटवलबाट पश्चिम आउनेहरुको लागि मुर्गिया भएर जाँदा अझ छोटो हुने बताए।

    कलौनी र मुर्गीयासँगै बाँसगडी र फारलाइनबाट पनि लुम्बिनी जान सकिन्छ। अहिले मुर्गियामा छैटौं सैनामैना औद्योगिक व्यापार महोत्सव चलिरहेको छ। महोत्सवको पर्यटन पर्वद्धन उपसमितिका संयोजक हरि पोखरेलले लुम्बिनी जाने पर्यटकहरुलाई सैनामैनामा आकर्षित गराउने गरि प्रचार प्रसार र कार्यक्रम बन्नुपर्ने बताए। ‘पर्यटकहरुलाई सैनामैनाबाट कसरी जान सकिन्छ भनेर योजना बनाउन जरुरी छ। मुर्गियामा लुम्बिनी गेट बनेको छ। कलौनीमा पनि त्यस्तै पहिचान दिने गेट वा अरु केही बनाउन सकिन्छ।’ उनले भने ‘पश्चिमबाट आएको आएका पर्यटकहरु बुटवल भैरहवा घुमेर नभइ सैनामैनाबाट जाने खालको वातावरण बनाउनुपर्छ।’

    लुम्बिनी पर्यटन परिषदका बोर्ड सदस्य समेत रहेका पोखरेलले आगामी दिनमा सैनामैनालाई सहज प्रवेशमार्गको रुपमा प्रवद्र्धन गर्ने बताए। उनले लुम्बिनी र सैनामैनालाई जोड्न सकिने भन्दै लुम्बिनी आएका पर्यटकलाई सैनामैनामा पनि ल्याउन सकिने उल्लेख गरे। कलौनी र मुर्गियाबाट लुम्बिनी जाने सिधा सडक बनेपनि सार्वजनिक सवारी साधन खासै चल्दैनन्। तर नीजि गाडीमा पूर्वपश्चिम राजमार्गमा यात्रा गरेकाहरुलाई भने रामापुर लुम्बिनी सडक सहज र सिधा हुने गर्दछ। लुम्बिनीबाट सार्वजनिक यातायात सञ्चालन हुने सैनामैनाको पर्यटकीय चहलपहल अझ बढ्न सक्छ।

    सैनामैनामा पर्यटकीय चहलपहल बढ्यो भने यहाँका होटलसँगै अन्य व्यवसायलाई पनि फाइदा पुग्छ। सैनामैना होटल व्यवसायी संघका अध्यक्ष झबिन्द्र पोखरेलले पर्यटकीय चलहपहल बढ्दा यहाँ स्तरिय होटलहरु पनि खुल्न सक्ने उल्लेख गरे। ‘सैनामैना लुम्बिनी प्रवेशमार्गको रुपमा प्रवद्र्धन भएर पर्यटकीय चहलपहल हुँदा पहिलो फाइदा हाम्रो होटल व्यवसायलाई हुन्छ।’ उनले भने ‘होटल चल्दा ‘स्वभाविक रुपमा अरु व्यवसाय चलायमान हुन्छ। त्यसले सैनामैनमा अझ स्तरिय होटलहरु खुल्छन्।’

    सैनामैना बुद्धकालिन सभ्यता भएको ऐतिहासिक ठाउँ पनि हो। कलौनी र मुर्गियाबाट दक्षिण जाने सडक लुम्बिनी र सैनामैनाको पर्यटनलाई जोड्ने माध्यम समेत बन्न सक्छ।