२०८१ आश्विन २१ गते, सोमबार ०७:१३
  • ‘सैनामैनालाई लुम्बिनी गुरुयोजनामा समेट्दा यहाँको पर्यटकीय महत्व एक्कासी बढ्छ'(अन्तर्वार्ता)

    ‘लुम्बिनी विकास कोषसँग गुरुयोजनाभित्र समेट्न माग गरिरहेका छौं’

    रुपन्देहीको उत्तरपश्चिममा रहेको सैनामैना नगरपालिका चुरे पहाडको काखमा रहेको छ। बुद्धकालिन सभ्यता रहेको सैनामैना आँफैमा पर्यटकीय सम्भावना बोकेको नगरक्षेत्र हो। यहाँ नगरको पहिचान बनेको पर्रोहा परमेश्वर बोलबम धाम रहेको छ। यस्तै अन्य पर्यटकीय तथा धार्मिक स्थलहरु रहेका छन्। सैनामैनाको मुर्गियामा मंसिर ६ गतेबाट छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, उद्योग, व्यापार तथा प्रविधि महोत्सव चलिरहेको छ। महोत्सवकै सन्दर्भमा हामीले यहाँको पर्यटकीय सम्भावना र अवस्थाका बारेमा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्मासँग कुराकानी गरेका छौं।

    सैनामैना पर्यटकीय दृष्टीकोणले कस्तो ठाउँ हो ?
    सैनामैना भन्ने वित्तीकै बुद्धकालिन गाउँ अर्थात बस्ती भएका ठाउँ हो। त्यसैले यहाँ पर्यटनको ठूलो सम्भावना छ। यहाँ सैनामैना संग्रालयमा प्राचिन बस्तुहरु छन्। केही प्राचिन बस्तु लुम्बिनीमा लगेर राखिएका पनि छन् । यो ठाउँमा उत्खनन् गरियो सैनामैनाको रानीकुवा राजाकुवा आसपास थुपै्र प्राचिन र पुरातात्वीक बस्तु फेला पर्छन्। त्यसबाहेक हाम्रो नगरमा पर्रोहा परमेश्वर बोलबम धाम छ यो पश्चिम नेपालकै महत्वपूर्ण शिवालय हो। यस्तै मलमला देवीको मन्दिर, राजापानी सिमसार क्षेत्र अन्य थुप्रै पर्यटकीय स्थल मठ मन्दिरहरु छन्। हाम्रा नजिकमा अग्ला चुरेपहाड छन्। यहाँ हामीले पदमार्ग निर्माण गर्न सक्छौं । हामीले बल्डेगगढी लगायत अन्य रमणीय ठाउँसम्म पदमार्ग निर्माण गरेर यहाँको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ।

    सैनामैना पनि बुद्धकालिन सभ्यता भएको ठाउँ हो, यहाँले पनि भन्नुभयो। अरु बुद्धस्थल केही न केही रुपमा चर्चामा आएका छन्। सैनामैना अझै ओझेलमा परेको छ, किन होला ?
    ओझेलमा पर्नुको मुख्य कारण लुम्बिनीको गुरुयोजनामा नमेटिएकाले हो। हामी लुम्बिनी विकास कोषसँग सैनामैनालाई लुम्बिनीको गुरुयोजनाभित्र समेटिनुपर्छ भनेर माग गरिरहेका छौं। गुरुयोजनामा समेटेर बुद्धपरिपथसँग यसलाई जोडियो भने रामग्राम तिलौराकोट, देवदह जस्तै यसको महत्व अझ बढ्छ। हामीले अनुरोध गर्दा लुम्बिनी विकास कोष र सरोकारवालाहरुले पहिले नै समेट्नुपर्ने ठाउँ रहेछ भन्नुभएको छ। सैनामैनालाई गुरुयोजनामा समेट्दा राम्रो हुन्छ भन्ने उहाँको प्रतिक्रिया छ। अध्यन र प्रक्रिया चलेको होला।लुम्बिनी गुरुयोजनामा समेटिँदा लुम्बिनी आउने धेरै पर्यटक सैनामैना आउनुहुन्छ। राजमार्गको नजिक भएकाले पनि अरु पर्यटकहरुलाई पनि आकर्षित गर्न सकिन्छ । यसबाट सैनामैनाको पर्यटकीय महत्व एक्कासी बढ्छ।

    पर्रोहा बोलबम धाम सैनामैनाको पहिचान पनि हो। साउनमा निकै भिडभाड हुन्छ। अरु बेला पनि धार्मिक पर्यटकहरु आकर्षित गर्ने योजना के छ ?
    बोलबमधामको पहिलो चरणको निर्माणको काम सम्पन्न भइसकेको छ। दोस्रो चरणका कामहरु बाँकी छ। गुरुयोजना अनुसार १७ करोडको काम गर्नुपर्ने मा अहिले ७ करोडको काम भइरहेको छ। त्यहाँ बगैँचाहरु पर्कहरु धर्मशाला अरु मन्दिरहरु पनि निर्माण गर्न बाँकी छ। ति सम्पन्न भएमा पर्रोहा परमेश्वर बोलबमधामको महत्व अझ बढेर जान्छ।

    सैनामैनामा मलमला, सिमसार क्षेत्र लगायतका ठाउँहरु छ। यी ठाउँको पर्यटकीय विकासको लागि नगरपालिकाले के गरिरहेको छ?
    मलमला सैनामैनाको पुरानो धार्मिक स्थल हो। पहिले यहाँका आदिबासी थारु समुदायले मलमल चौराबाबा भनेर पुजा गर्दथे। पछी बसाइसराइ भएर आएकाहरुले पनि मलमलादेबी भनेर पुजाआजा गर्न थालियो। जे भएपनि मलमला यहाँका नागरिकको एउटा धार्मिक आस्था भएको ठाउँ हो। अहिले टाढाटाढाबाट पनि घुम्न आउने क्रम बढेको छ।यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ भनेर एडिबीसँग मिलेर डिपिआर पनि भइरहेको छ। उच्च भागमा बुद्धको मुर्ति बनाएर लुम्बिनीसँग जोड्न सकिन्छ।
    सैनमैना ११ मा राजापानी सिमसार क्षेत्र छ । त्यो सिमसार क्षेत्रलाई बचाइ राख्यौं भने अरु ठाउँबाट आएका चराचुरुगींहरु त्यहाँ आउँछन्। स्थानिय जलचर उपयचरहरुलाई संरक्षण गर्न सकिन्छ। यो ठाउँको पनि एडिबीले अध्यन गरिरहेको छ। राजापानी सिमसार क्षेत्रको संरक्षण र विकास गर्न सकियो भने सैनामैनाको पर्यटकीय प्रर्वद्धनमा थप टेवा पुग्छ।

    सैनामैनाको रामापुर कलौनी र मुर्गियाबाट लुम्बिनी जानको लागि सिधा बाटो पनि छ। सैनामैनालाई लुम्बिनी प्रवेशद्वारको सहज प्रवेश मार्ग पनि मानिन्छ। तर यसकोे प्रचार प्रसार हुन सकेको छैन?
    पश्चिमबाट आएका कतिपय मनिसहरु पनि अझैपनि बुटवल भैरहवा गएर लुम्बिनी जान्छन्। अब हामीले बोर्डहरु राखेर लुम्बिनी यहाँबाट जान सकिन्छ भनेर जानकारी गराउनुपर्छ। मुर्गियामा लुम्बिनी प्रवेशद्वार बनेको छ। मुर्गिया देखि लुम्बिनी जोड्ने सडकमा केही काम बाँकी छ। दुई वटा कल्भर्ट निर्माणाधिन छ। रामापुर-लुम्बिनी सडकमा केही खाल्डा खुल्डी छन्। मर्मत र स्तरोन्नती गर्न सकियो भने २० मिनेटमा आनन्दसँग लुम्बिनी जान सकिन्छ। यो लुम्बिनीको सहज प्रवेशद्वार हुन सक्छ।

    सैनामैनाको पर्यटकीय विकासको लागि यहाँका निजी क्षेत्रको भूमिका के हुन्छ ?
    नीजि क्षेत्रको कुरा गर्दा होटल व्यवसाय महत्वपूर्ण पाटो हो। होटल व्यवसायीहरुले आफूकहाँ आएका पाहुनाहरुलाई यहाँको पर्यटकीय स्थलबारे जानकारी दिनुपर्छ। हाम्रो ठाउँमा यी-यस्ता पर्यटकीय ठाउँहरु छन्, यती समयमा घुमेर आउन सकिन्छ भनेर जानकारी दिने हो भने सैनामैनामा आएका पर्यटकहरुको बसाइ केही घण्टा वा एकदिन बढाउन सकिन्छ। त्यो वातावरण नीजि क्षेत्रले बनाउनुपर्छ। पहिलेको जस्तो गरेर होटल चल्दैन। आथित्यता, सेवासुविधाहरुमा क्रमश परिवर्तन हुनुपर्छ।सैनामैनामा आएका पर्यटकहरु कहाँ गएर बस्ने कसरी घुम्ने भन्ने खालको एक खालको प्याकेज पनि बनाउन जरुरी छ।

    सैनामैनाका पर्यटकीय स्थलसँगै नजिकको दानापुर ताल देखी गैडहवा ताल लगायतसँग पनि पर्यटनसँग जोड्न सकिन्छ।
    सैनामैनामा होम स्टे पनि छ। कतिपय मान्छेहरु होमस्टेमा गएर रमाउने बस्ने खालका हुन्छन्। हामी अरुहरु ठाउँमा गएर होमस्टेमा बस्छौं। आफ्नो ठाउँमा आएका मान्छेहरुलाई पनि आकर्षित गर्नुपर्छ। होम स्टे र होटलमा बस्ने फरक फरक खालका पाहुनाहरु हुन्छन्। त्यस्तो फरक छुट्याएर पर्यटक बसाइको सदुपयोग गर्नुपर्छ।

    अहिले सैनामैनामा औद्योगिक व्यापार महोत्सव पनि चलिरहेको छ, यसले यहाँको आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा कस्तो सघाउ पुर्याउँछ?
    सैनामैना औद्योगिक व्यापार महोत्सव उद्योग बाणिज्य संघ मुख्य आयोजनामा भइरहेको छ। तर संघको मात्र नभइ समग्र सैनामैनाको महोत्सव हो भन्ने झल्कीएको छ। आगामी दिनमा मेला महोत्सवहरुमा नयाँपन हुँदै जानुपर्छ। यहाँ पाइने सामानमा गुणस्तरियता हुनुपर्छ। सैनामैनाका उत्पादित बस्तुलाई प्रवद्र्धन गर्नुपर्छ। जसले गाउँघरमा ससना उद्योग सञ्चालन गर्न सक्ने वातावरण निर्माण हुन्छ। महोत्सव मार्फत कम्तीमा २–३ वटा प्रविधी हस्तान्तरण हुनुपर्छ। अहिले जताततै आर्थिक संकट देखिएको छ। महोत्सवले सैनामैनालाई आर्थिक चलायमान बनाउन मद्दत पुग्छ भन्ने आशा राखेको छु, यसले यहाँको पर्यटकीय प्रवद्र्धनमा पनि सघाउ पुयाउँछ भन्ने अपेक्षा छ।