२०८१ आश्विन २१ गते, सोमबार ०९:१०
  • भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख दिने तयारी छ : पर्यटनमन्त्री

    काठमाडौँ –संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरांतीले भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैया प्रोत्साहन रकम दिने तयारी भएको बताएका छन्। आइतबार नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनीको टोलीसँग उनले भैरहवासँगै पोखराबाट जतिसक्दो छिटो अन्तराष्ट्रिय उडान गर्ने गृहकार्य भइरहेको जानकारी दिए। ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनामस्वरुप प्रत्येक उडानको ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौं’, मन्त्री किरांतीले भनेका थिए।

    (नाट्टा) लुम्बिनीको प्रतिनिधिमण्डल भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि पहल गर्न दबाब दिँदै काठमाडौं पुगेको हो।
    भेटमा मन्त्री किरांतीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन र जसरी पनि अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा आफू पनि रहेको उल्लेख गरे।

    नाट्टा लुम्बिनीको तर्फबाट ९ बुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वायुसेवा निगमको जहाजले थालनी गर्नुपर्ने माग राखेका थिए। उनीहरुले तत्कालअन्तर्राष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गरेका थिए।