२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • निगमलाई पर्यटन व्यवसायीले भने : भैरहवा-दिल्ली उडान गराउनुस् सिट भरेर पठाउँछौं


    भैरहवा –पर्यटन व्यवसायीहरुले भैरहवाबाट दिल्ली उडान गरेमा नेपाल बायुसेवा निगमको जहाजलाई सिट भरेर पठाउने दाबी गरेका छन्। नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनीको प्रतिनिधिमण्डलले आइतबार निगममा ज्ञापन पत्र बुझाउँदै भैरहवाबाट नियमित उडानको माग गरेको हो।

    गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडानको माग गर्दै नाट्टा लुम्बिनीका निवर्तमान अध्यक्ष सागर अधिकारि र पुर्व अध्यक्ष सन्जिव जोशिको नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौं गएको हो। प्रतिनिधि मण्डलले बायुसेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतिलाई ज्ञापनपत्र बुझाउदै जतिसक्दो छिटो भैरहवाबाट नियमित उडान गराउन माग गरेको थियो।

    निगमले भैरहवा -काठमाडौं र भैरहवा-दिल्ली उडान गरेमा फुल बुकिङ गराउन सिङ्गो नाट्टा र ट्राभल्स ब्यवसायि लागिपर्ने उनीहरुको भनाइ छ। भैरहवाबाट बुद्ध , यति, श्री एअरलायन्सका गरि १५ वटा जहाजले उडान भरिरहेको बेला निगमको जहाज पनि सञ्चालन भए सिट फुल बनाउन सहयोग गर्ने नाट्टा लुम्बिनीका पुर्व अध्यक्ष सन्जिव जोशिले प्रतिबद्धता जनाए।
    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा ४३ अर्ब भन्दा बढिको लगानी भएपनि नियमित उडान नहुँदा चिन्तीत भएको उनीहरुको भनाइ छ।

    निगमका नायब महाप्रबन्धक कालाखेतीले भैरहवाबाट उडान गराउन निगम सकारात्मक रहेको बताए। ‘ सरकारले केही सहजिकरण गरेमा हामी सन्चालनमा लाग्छौ’ उनले भने ‘हामिसँग चारवटा जहाज छ,यसैले केही समस्या भएको हो । तर ब्यवसायिले चासो राखेमा हामी जहाज उडान पहल गर्छौ।’

    प्रतिनिधि मन्डलमा नाट्टा लुम्बिनीका उपाध्यक्ष कुलचन्द्र पान्डे, महासचिव अन्जन श्रेष्ठ, नवलपरासि च्याप्टर अध्यक्ष भोला पराजुली, नाट्टा लुम्बिनी कार्यसमिति सदस्य बरुण ज्ञवाली र प्रेस सल्लाहकार नरेश के सी सहभागी थिए। नाट्टा लुम्बिनीले आइतबारै पर्यटनमन्त्री सुदन किराँतीलाई भेटेर अन्तराष्ट्रिय उडानको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो।

    प्रतिनिधिमन्डलले प्रधानमन्त्री , श्रममन्त्री, नागरिक उड्यन प्राधिकरणका महानिर्देशक लगायत विभिन्न एअरलायन्सका प्रमुखसँग भेटेर भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडानको लागि पहल गर्न लिखित रुपमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नाट्टा लुम्बिनीका महासचिव अञ्जन श्रेष्ठले जानकारी दिए।