२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • पर्यटन व्यवसायीहरुका लागि डिजिटल क्षमता अभिवृद्धि तालिम सम्पन्न

    काठमाडौँ -पर्यटन व्यवसायीहरुका लागि पाँच दिने डिजिटल क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड र युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् ९नाटा० को सहकार्यमा तालिम भएको हो।

    पर्यटनका लागि डिजिटाइजेशन अनिवार्य आवश्यक्ता बन्दै गएको परिप्रेक्ष्यमा व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि यो तालिम आयोजना गरिएको नेपाल पर्यटन बोर्डकी प्रबन्धक तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिइन्।

    नाटाका सचिव युविका राजभण्डारीले एसटीएलआरपीसंगको सहकार्यमा नाटाले देशैभरी विभिन्न खालका तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिँदै यसप्रकारका तालिमले व्यवसायीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुगेको उल्लेख गरे।

    परियोजनाका जिवीकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले पर्यटन क्षेत्रको विभिन्न क्षेत्रमा जनशक्ति उत्पादन तथा भएका जनशक्तिको क्षमता अभिवृद्धिमा काम गरिरहको सन्दर्भमा व्यवसायीहरुको आवश्यक्ताको आधारमा नाटासंगको सहकार्यमा सातै प्रदेशमा तालिमहरु संचालन गरिएको जानकारी दिए।

    काठमाण्डौका विभिन्न ट्राभल एजेन्सिहरुमा कार्यरत ३० जनाको सहभागिता रहेको तालिममा आमोद निरौलाले प्रशिक्षण दिएका थिए। तालिममा ,एआइको प्रयोग,च्याट जिपिटीको प्रयोग तथा ठाँउ अनुसारको ट्रावल आइटिनरी निर्माणका विषयमा प्रशिक्षण दिइएको थियो। सहभागीहरुले तालिमबाट डिजिटल कन्टेन्ट तथा डिजिटल मार्केटिङका विषयमा धेरै ज्ञान आर्जन गरेको प्रतिक्रिया दिए।