२०८१ आश्विन २१ गते, सोमबार ११:११
  • सैनामैना महोत्सव सम्पन्न, ३ करोडको कारोबार

    सैनामैना -छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० सम्पन्न भएको छ। सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा मंसिर ६ गतेबाट सैनामैना नगरपालिका ४ मुर्गियामा महोत्सव सञ्चालन भएको थियो। महोत्सवको तीन करोड बढीको आर्थिक कारोबार भएको र साढे दुई लाख बढी दर्शकले अवलोकन गरेको मेला आयोजक सैनामैना उद्योग बाणिज्य संघले जनाएको छ।

    महोत्सवको समापन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले यो प्रकारका मेलालाई आगामी दिनमा अझै विशिष्टीकृत गर्नुपर्ने बताए। उनले स्थानीय उद्योगी व्यवसायी र कृषिका स्टललाई प्राथमिकता दिएको भए मेला अझै विशिष्टिकृत हुने धारणा राखे।

    समारोहमा देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारी, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टंक गैरे, सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल तथा स्थानीय संघ संस्थाहरुको तर्फबाट सप्तऋषि सहकारीका अध्यक्ष प्रेमबहादुर बानिया र सुनगाभा बोर्डिङ स्कुलका प्रिन्सिपल तिलव केसी लगायतले बोल्दै महोत्सवले सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै लोक संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण सहयोग पु¥याएको बताएका थिए।

    महोत्सवले सैनामैनासंगै यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुगेको आयोजक सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खडकाले उल्लेख गरे। संघका महासचिव लोकनाथ अधिकारीले सैनामैना औद्योगिक ब्यापार महोत्सवले सुस्त बनेको आर्थिक गतिबिधि बढाउन महोत्सवले सहयोग पुगेको धारणा राखे। सो अवसरमा महोत्सवलाई आर्थिक, भौतिक र नैतिक रुपले सहयोग गर्ने स्थानीय संघ संस्थाहरु, विद्यालय, उद्योगी व्यवसायीहरुलाई सम्मान गरिएको थियो।