२०८१ मंसिर ७ गते, शुक्रबार १०:०५
  • निगमलाई जहाज बेच्न तीन कम्पनी इच्छुक

    काठमाडौँ-नेपाल वायुसेवा निगमलाई जहाज बेच्न तीनवटा कम्पनी इच्छुक देखिएका छन् । निगमले गत २२ अक्टोबरमा जहाज किन्न बोलपत्र आह्वान गरेको थियो । तोकिएको अन्तिम म्याद डिसेम्बर ५सम्ममा तीन कम्पनीको बोलपत्र परेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

    जस अनुसार भारतको हिन्दुस्तान एरोनोटिक्स लिमिटेड, चेक रिपब्लिकको एयरक्राफ्ट इण्डस्ट्रिज र क्यानडाको डी हेभिल्याण्ड क्यानडाले निगमलाई सानो आकार (सर्ट टेकअफ एन्ड ल्यान्डिङ) जहाज बेच्न इच्छा व्यक्त गरेको पौडेलले बताए। नेपाल वायुसेवा निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले निगमको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो।

    निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको जनाएको छ। निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन्। तीमध्ये नियमित रुपमा एउटा मात्रै उड्ने गरेको छ। नयाँ जहाज किनेपछि यात्रुले सेवा पाउने, पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र सेवा प्रभावकारी हुने विश्वास निगमले लिएको छ ।

    निगमले उडान थालेका सुकेटार, इलाम, गुल्मी, डोल्पा, मनाङ, जुम्लाजस्ता बढ्दो मागका बाबजुद जहाज अभावले नियमित उडान हुन सकेको छैन । ऋणात्मक प्रगतिलाई रोक्न र बजार उपस्थिति बढाउन जहाज थप गर्नु परेको निगमको दाबी छ ।