२०८१ आश्विन २१ गते, सोमबार ०७:१०
  • लुम्बिनीमा आन्तरिक पर्यटक, कोभिड अघिको तुलनामा आधा

    बुटवल-नारायणगढ सडकको दुरावस्था कि आर्थिक मन्दी


    लुम्बिनी बुद्ध जन्मस्थल लुम्बिनीमा सन २०२३ को ११ महिनामा नेपाल भित्रबाटै घुम्न आउनेको संख्या ५ लाख ४६ हजार ८६३ रहेको छ । यो कोभिड अघिको तुलनामा आधा हो। कोरोना संक्रमण सुरु हुन भन्दा अघि सन् २०१९ को नोभेम्बरसम्म १० लाख ४९ हजार ७०२ आन्तरिक पर्यटक लुम्बिनी आएका थिए।

    लुम्बिनीमा आन्तरिक पर्यटक समेत कोभिड अगाडिको लयमा फर्किन नसकेको देखिन्छ । गत नोभेम्बर महिनाको मात्र तथ्यांक हेर्दा ४ वर्ष अघिको तुलनामा ४१ हजार कम आन्तरिक पर्यटक आएका छन्। सन २०१९ को नोभेम्बर महिनामा नेपाल भित्रैबाट १ लाख २७ हजार १३९ जना घुम्न आएका थिए। तर यो वर्षको नोभेम्बरमा मात्र ८५ हजार ८५७ आन्तरिक पर्यटक आएका छन्।

    विश्वव्यापी कोरोना संक्रमणका कारण सन २०२० र ०२१ मा मुलुकको पर्यटन क्षेत्र प्रभावित भएको थियो। २०२२ बाट भने आन्तरिक पर्यटकमा सुधार देखिएको थियो। अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन बढेको देखिएन। सन २०२२ को नोभेम्बरमा ८२ हजार २ सय आन्तरिक पर्यटक आएका थिए। एक वर्ष अघिको तुलनामा गत महिना साढे ३ हजार बढि मात्र लुम्बिनी आएका छन्।कोभिडको प्रभाव हटेको धेरै भइसक्दा पनि लुम्बिनीमा आन्तरिक पर्यटक आगमन समेत बढ्न नसक्नुको कारण राजमार्गको दुरावस्था र आर्थिक मन्दिलाई मान्न सकिन्छ।

    होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले बुटवल नारायणगढ सडकको दुरावस्थाको कारण धेरै आन्तरिक पर्यटक आउन नचाहेको बताए। ‘लुम्बिनीमा धेरै आन्तरिक पर्यटक आउने भनेको काठमाडौँ र पूर्वबाट हो। तर सडकको दुराअवस्थाका कारण एकदम कम आउनुभएको छ।’ उनले भने ‘जति पर्यटक आउनुभएको छ उहाँहरुले अब बाटो नबनुन्जेल हामी आउनै सक्दैनौ भन्नुभएको छ ।’ नोभेम्बर महिना लुम्बिनीको लागि पर्यटनको मुख्य सिजन मध्ये एक हो। कोभिड अघिको जस्तो चहलपहल नभएको ज्ञवालीको भनाइ छ।

    लुम्बिनीमा आन्तरिक पर्यटन बढ्न नसक्नुको अर्को कारण मुलुकमा देखा परेको आर्थिक मन्दीलाई पनि मानिएको छ। संस्कृति तथा पर्यटनबीद डा. गितु गिरिले आर्थिक चलायमान नहुँदा र मानिसहरुको क्रयशक्ती घट्दा आन्तरिक पर्यटक नबढेको बताए। ‘आर्थिक मन्दीका कारण बजार चलायमान छैन। चलायमान नहुँदा जनताको आम्दानी भएन, क्रयशक्ती घट्यो।’ उनले भने ‘आम्दानी कम भएपछि र खर्च बचाउन खोज्दा पनि घुम्ने क्रम कम भएको हो ।’ गिरिले बुटवल नारायणगढ सडक पनि लुम्बिनीमा आन्तरिक पर्यटक घटाउने मुख्य कारण भएको बताए।

    होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले बुटवल–नारायणगढ सडक समयमा विस्तार नहुँदा मुलुकको समग्र पर्यटकीय वातावरण विथोलिएको उल्लेख गरे। ‘नारायणगढबाट बुटवल आउन २ घण्टा लाग्नुपर्नेमा अहिले ५ घण्टा लाग्छ। यात्रा गर्न निकै सकस छ। कामै नपरि मान्छे हिड्न खोज्दैन।’ उनले भने ‘लुम्बिनी आउन चाहाने पर्यटकलाई त असहज गराएकै छ। त्यस बाहेक पश्चिमका थुप्रै पर्यटकीय स्थललाई समेत असर पारेको छ।’ बुटवलको न्यु इरा होटलका सञ्चालक समेत रहेका नेपालले राष्ट्रिय आवश्यकताको यो सडकलाई सम्पन्न गर्न ढिलाइ गर्न नहुने बताए। ‘थुप्रो संख्यामा जनसक्ती र उपकरण लगाएर रातदिन काम गरेर भएपनि सडक छिटो सक्नुपर्छ।’ उनले भने।

    बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटक भने कोभिड अघि भन्दा बढेका छन्। भारतीय पर्यटक बढ्नु अनि आन्तरिक र तेस्रो मुलुकका पर्यटक नबढ्नुमा सडकको अवस्था नै मुख्य कारण देखिएको छ। सन २०१९ मा लुम्बिनीमा भारतीय पर्यटकको आगमन २ लाख ६ हजार रहेको थियो। यो वर्ष नोभेम्बर सम्म २ लाख १९ हजार १६१ भारतीय लुम्बिनी आइसकेका छन्। सिमावर्ती भारतीय पर्यटकलाई बुटवल–नारायणगढ सडक समस्याले असर पार्दैन। तर आन्तरिक सँगै केही तेस्रो मुलुकका धेरै पर्यटकले राजमार्गको समेत प्रयोग गर्नुपर्छ।