२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • भैरहवाबाट अन्तराष्ट्रिय उडानका लागि मन्त्रालय र सरोकारवालाहरुबीच छलफल

    भैरहवा-भैरहवाबाट अन्तराष्ट्रिय उडानका लागि सोमबार संस्कृति पर्यटन नागरिक उड्यन मन्त्रालय र सरोकारवालाहरुबीच छलफल भएको छ। छलफलका क्रममा पर्यटन मन्त्री सुदन किराँती, राज्यमन्त्री शुसिल किराँती, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सहित उड्यनसँग सम्बन्धित अधिकारी, विमान कम्पनी सञ्चालकहरु र भैरहवाका व्यवसायीहरुको सहभागिता थियो।

    सिंहदरबारस्थित मन्त्रालयमा सोमबार आयोजित छलफलमा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थललाई कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको शिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जानकारी दिए।
    छलफलका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीलेगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनेमा ढुक्क रहन आग्रह गरे। ‘म आजैदेखि काममा लागे तपाईहरु हेर्नुहोस् यसको रिजल्ट तपाईहरुले देख्नुहुनेछ, ’उनले भने हामी छिट्टै भैरहवा–दिल्ली, भैरहवा–नोयडा उडान गर्छाैं।’

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले केन्द्र सरकारले विकेन्द्रीकरणको निति नलिदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको बताए। संघले अझै पनि राजधानी केन्द्रीत काम गर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सबै सरकारले गर्छ भनेर बस्न नहुने बताए।

    कार्यक्रममा नेपाल नागरिक उड्ययन प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले भैरहवा विमानस्थलबाट उड्ने यात्रु शुल्क घटाएर र त्रिभुवन विमानस्थलबाट उड्ने यात्रुको विमानस्थल शुल्क बढाएर भैरहवाको विमानस्थललाई नियमित गराउन प्रस्ताव गरेका थिए। कार्यक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले भैरहवाबाट नोयडा विमान सञ्चालन गर्न आफू तयार रहेको जानकारी दिए।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले राजधानीका केही व्यक्तिहरुको दबाबका कारण विमानस्थल सञ्चालन हुन नसकेको उल्लेख गरे । विमानस्थलसँग सरोकार राख्ने सबै निकायहरु तत्काल भैरहवामा खोल्नुपर्नेमा उनको जोड थियो। विमानस्थललाई हेरेर भैरहवाका व्यवसायीहरुले अरबौं लगानी गरेको र त्यो ढुब्ने अवस्थामा आएको ज्ञवालीले बताए।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बाहिरी पूर्वाधार छैन भनेर प्रचार गर्नु गलत भएको उल्लेख गरे।

    सिद्धार्थ सञ्जालका वरिष्ठ उपाध्यक्ष तथा धर्ना कार्यक्रमका संयोजक चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल सञ्चालनमा राजधानीबाटै असहयोग भएकाले सरकार गम्भिर बन्नुपर्ने बताए।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले अन्तर्राष्ट्रिय उडान गरिरहेका विमानहरुलाई भैरहवा जानैपर्ने बाध्यकारी नीति बनाएर भैरहवा पठाउनुपर्ने धारणा राखे।

    मन्त्री किराँतीको अध्यक्षतामा बसेको बैठकमा श्रम, रोजगार तथा नागरिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, सिद्धार्थ होटल एशोसिएनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सोट्टो नेपाल लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष तथा सिद्धार्थ सञ्जालका महासचिव संजय बजिमय, नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश सदस्य खिम बहादुर खत्री, नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्त, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, नेपाल भन्सार एजेण्ट संघ रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थी, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्य, महासचिव कृष्ण प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।