२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • बैदेशिक रोजगारबाट फर्केका ३ जनाले चलाएको होटल त्रिमुर्ति, तीन ठाउँमा व्यवसाय

    सैनामैनाको सालझण्डीबाट सुरु बनकट्टा र लुम्बिनीसम्म सेवा विस्तार

    सैनामैना -रुपन्देहीको सैनामैना नगरपालिकामा त्रिमुर्ति होटल हस्पिटालिटीको एउटा ब्राण्ड बन्न पुगेको छ। नगरको पूर्व बनकट्टा र पश्चिम बनकट्टीबाट त्रिमुर्तिले होटलको सेवा दिएको छ। त्यस्तै बुद्ध जन्मस्थल लुम्बिनीमा पनि त्रिमुर्तिको अर्को शाखा रहेको छ।

    सालझण्डीको बनकट्टीमा सुरुमा माधव ज्ञवालीले त्रिमुर्ति होटल खोलेका थिए। एकैपटक तीन छोराको जन्म भएपछि ज्ञवालीले आफ्नो होटलको नाम त्रिमुर्ति राखेका थिए। त्रिमुर्ति होटल पछि सैनामैनाका भिमलाल पौडेल, चक्रकान्त भुसाल र बासुदेव आचार्यले खरिद गरे। खरिद गरेसँगै उनीहरुले आफ्नो सेवा विस्तार समेत गरे। ‘०७३ सालमा सालभण्डीमा त्रिमुर्ति होटल एण्ड फेमली रेष्टुरेन्ट भनेर सञ्चालन गरियो। ०७४ सालमा लुम्बिनीमा होटल खोल्यौं।’ त्रिमुर्ति गु्रपका प्रबन्ध निर्देशक भिमलाल पौडेलले भने ‘२०७५ सालबाट बनकट्टामा होटल सहित पार्टी प्यालेस सञ्चालन गरेका हौं।’

    बनकट्टामा रहेको त्रिमुर्ति होटल एण्ड पार्टी प्यालेस भिमलाल आँफैले हेर्छन। यहाँ ६ वटा कोठा छन्। पार्टी प्यालेश भएकाले १५ सय जनासम्मको पार्टी पनि गर्न सकिने उनले बताए। आउटडोर पार्टी ५५ सय जनासम्मलाई गरेको भिमलालको भनाइ छ।
    सालझण्डीमा रहेको त्रिमुर्ति होटल एण्ड रेष्टुरेन्टको जिम्मा चक्रकान्त भुसाल अनिलले लिएका छन्। सालझण्डीको होटलमा पनि ६ वटा कोठा रहेको छ। पूर्वपश्चिम यात्रा गर्नेहरु मुख्य गरेर त्रिमुर्तिको ग्राहक रहेको सञ्चालक अनिल भुसालले बताए। ‘हाम्रो एसी रुमहरु पनि छन्। पूर्वपश्चिम यात्रा गर्नेहरु हाम्रा ग्राहक हुन्।’ उनले भने।

    लुम्बिनीमा रहेको होटल लुम्बिनी दर्शन त्रिमुर्ती बासुदेव आचार्यले हेर्ने गरेका छन्। लुम्बिनीमा ८ वटा कोठा रहेको छ। लुम्बिनी दर्शन त्रिमुर्ति होटलमा आन्तरिकसँगै विदेशी पर्यटकहरु पनि आउने गरेका छन्। पछिल्लो पटक भियतामी पर्यटकहरुको स्वागत गर्न पाएको आचार्यले बताए। लुम्बिनीमा पर्यटकको चहलपहल ठिक ठिकै छ। नेपाली र विदेशी दुबै खालका पर्यटक आएका छन्। उनले भने पछिल्लो समय भियतनामीहरु आइरहेका छन्। कोही होटल खोज्दै आउँछन् कोही अनलाइनको माध्यमबाट आउँछन्।

    यी होटलमा एसी र ननएसी दुबै खालका कोठा भएको भिमलालले बताए। तीन वटै ठाउँमा गरि साढे ३ करोडको लगानी भएको उनको भनाइ छ। सालझण्डीपछि त्रिमुर्तिको पहिलो शाखा बनकट्टामा खुल्यो। बनकट्टामा होटल खोल्न थाल्दा धेरैले गाली गरेको भिमलाल सम्झन्छन्। ‘बनकट्टा पहिले बजार एरिया नभएको पिछडिएको ठाउँ जस्तो थियो। चुनौतिपूर्ण अवस्थामा हामीले सुरु गरेका थियौं।’ उनले भने ‘मुर्गियाबासीले यस्तो ठाउँमा किन लगानी गरेको डुबिन्छ भन्नुहुन्थ्यो। आएर अहिले पछुतो लागेको छैन।’

    बनकट्टाको त्रिमुर्ति होटलको केही दुरीमा बुद्धकालिन रानीकुवा र राजाकुवा छ। अलि पर पर्रोहा बोलबमधाम छ। पर्यटकीय स्थल नजिक भएको र पछिको सम्भावना देखेर आँफूहरुले होटल सुरु गरेको भिमलालको भनाइ छ। बनकट्टामा होटलको सेवा र पूर्वाधार थप गर्ने योजना रहेको त्रिमुर्ति होटलका प्रबन्ध निर्देशक भिमलाल पौडेलले बताए। ‘हामीले यहाँ ३ तलाको भवन बनाउँदै छौं। यहाँ १५ वटा स्तरिय कोठा सहितको होटल हुने छ। पहिलो र दोस्रो तलामा गरि ४ वटा पार्टी हल बन्ने छ।’ उनले भने ‘यसको लागि थप ३ करोड लाग्ने अनुमान छ। फागुनदेखि निर्माणको सुरुवात गर्दैछौं।’

    भिमलाल बैदेशिक रोजगारीबाट फर्किएर आइ व्यवससाय सुरु गरेका हुन्। यहाँ व्यवसाय थालेपछि आफू सन्तुष्ट भएको उनको भनाइ छ। भिमलालले आत्तीएर विदेश नजान र नेपालमै केही गर्न युवाहरुलाई आग्रह समेत गरे। ‘आत्तीएर विदेशीन भन्दा धैर्य गर्नुस्। पछिल्लो केही वर्षको अनुभवले १० वर्षको अनुभवले जति गर्न सकियो, त्यसका आधारमा विदेश जान पर्दैन भनेर मैले युवा वर्गहरुलाई आग्रह गर्छु।’ उनले भने।