२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडिको धर्ना स्थगित

    भैरहवा-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालनको माग गर्दै गरिएको धर्ना कार्यक्रम व्यवसायीहरुले स्थगित गरेका छन्। भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको हुनुपर्ने माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको आयोजनामा मंसिर २४ गतेबाट निरन्तर धर्ना कार्यक्रम भएको थियो। विमानस्थल अगाडिको धर्ना कार्यक्रम स्थगित भएको तर, छलफल, ज्ञापनपत्र बुझाउने र अन्य दवावका कार्यक्रम भने नियमित हुने विहिवार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।

    अन्तर्राष्ट्रिय उडानको लागि सरोकारवाला सबै सरकारी निकायले आ–आफ्नो क्षेत्रबाट पहलकदमी गर्ने मौखिक र लिखित प्रतिबद्धता गरेकाले तत्कालका लागि धर्ना कार्यक्रम स्थगन गरिएको सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए।
    सञ्जालले चरणबद्ध आन्दोलन र धर्ना कार्यक्रम संचालन गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले यसवारेमा बार्ता गर्न भन्दै गत पुस २ गतेका लागि काठमाठौं बोलाएको थियो। बार्ताका लागि सञ्जाल, सिद्धार्थ उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श रुपन्देही र उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र नाट्टाका प्रतिनिधि काठमाडौं गएका थिए।

    काठमाडौँ प्रधानमन्त्री कार्यलय, पर्यटन मन्त्री सहित विभिन्न पक्षसँग छलफल गरेको थियो। ‘प्रधानमन्त्री कार्यालयको कार्यकक्षमा भएको सरोकारवाला निकायबीचको छलफलमा यस बिमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालनका लागि सवैले सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।’ ज्ञवालीले भने ‘एक–दुई महिनामैं यसको नतिजा आउने भनेर दिइएको लिखित र मौखिक प्रतिबद्धता अनुरुप धर्ना कार्यक्रम स्थगन गरिएको छ।’,

    सरकारी स्तरबाट गरिएको उक्त प्रतिबद्धता अनुरुप एक–दुई महिना भित्र कुनै रिजल्ट नदेखिएमा पुनः निर्णायक आन्दोलन गरिने र यसकालागि स्थानीय स्तरमा सवै राजनीतिक दल लगायत् सम्पूर्ण संघसंस्थासंग बृहत छलफल गरिने उनले बताए।
    पुनः आन्दोलन गर्न परेको अवस्थामा बन्द हड्ताल धर्नाजस्ता कार्यक्रमलाई पनि निरन्तरता दिइने छ र प्रधानमन्त्रीसंग बार्ता तथा छलफलका लागि उच्च स्तरीय बार्ता टोली पनि तयार पारिने पत्रकार सम्मेलनमा बताइएको थियो।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालनका लागि सरकारी स्तरबाटै इच्छाशक्ति नभएको र भारतसंगको रुट लगायतका विभिन्न भ्रम श्रृजना गरेर यो विमानस्थललाई पूर्ण क्षमतामा संचालन गर्नमा इच्छा नदेखाएको आरोप लगाए।