२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • पर्यटकीय विकासमा बुटवल र तिनाउ गाउँपालिकाका एक अर्काको परिपुरक बन्नसक्ने

    पाहुनालाई तिनाउका गन्तव्य घुमाउन सके बुटवलमा पर्यटकको बसाइ लम्बिन्छ

    बुटवल-पाल्पाको तिनाउ गाउँपालिका र रुपन्देहीको बुटवल उपमहानगरपालिका सिमान जोडिएका पालिका हुन्। दुबै पालिका तिनाउको तटीय क्षेत्र अन्तर्गत पर्दछन्। केही दिन अघि तिनाउ जलाधार संरक्षण बारे अभिमुखीकरण र छलफल कार्यक्रम भएको थियो। सामुदायीक बन समन्वय समिति तिनाउको आयोजनामा भएको कार्यक्रममा बुटवल बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डे र तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ लगायतका जनप्रतिनिधी र स्थानियहरुको सहभागीता थियो।

    छलफलमा तिनाउ जलाधार संरक्षणका साथै पर्यटन प्रवद्र्धन र विकासका बारेमा पनि छलफल भएको थियो।
    कार्यक्रममा उपमहानगरका मेयर खेलराज पाण्डेले पर्यटकीय विकासको लागि पनि बुटवल र तिनाउ एक अर्काका परिपुरक भएको बताए। ‘बुटवल र तिनाउ इतिहासको कालखण्डदेखी नै एक अर्काका परिपुरक हुन्। अहिले केबलकार बनेको छ। केबलकार सञ्चालन हुनुमा तल्लो आधार स्तम्भमा बुटवलको हक हो। माथि विकास हुने तपाईहरुको हो।’ उनले भने ‘बुटवलबाट जोडिएको केबलकारले तिनाउ गाउँपालिकालाई श्रीबृद्धि गर्छ। होटल सञ्चालन व्यवसाय सञ्चालन तिनाउमा बढि हुन्छ । भारतबाट केबलकार चढ्ना आउनेहरु डाँडाकाँडामै बस्छन्।’

    पाण्डेले बसन्तपुरको केबलकार हात्तीकोट हुँदै सत्यवती तालसम्म पुगोस भन्ने आफूहरुले चाहेको सुनाए। मेयर पाण्डेले रामापिथेकसको पार्क निर्माणमा पनि दुई पालिकाबीच सहकार्य गर्न आग्रह गरे। ‘तल्लो सिद्धबाबाबाट झोलुंगे पुल हालौं। ५०–५० प्रतिसतको लगानीमा रामापिथेकस पार्क निर्माण गरौं।’ उनले भने ‘पार्क निर्माण पछिको आम्दानी तिनाउलाई आधा र बुटवललाई आधा हुने गरि त्यो क्षेत्रको लागि अगाडी बढौं भनेर मैले कुरा गरेको छु।’ एक करोड १० लाख वर्ष अघिको मानव अस्थिपञ्जर पाएको रामापिथेकसको पर्यटकीय विकासको लागि विभिन्न विदेशी दातृसंस्थाहरु समेत इच्छुक रहेको पाण्डेको भनाइ छ।

    बुटवलको ऐतिहासिक जितगढी र गृष्मकालिन दरबार रहेको फूलबारीको इतिहास तिनाउको नुवाकोटसँग मेल खाने गर्दछ।
    तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बुद्धपरिपथसँग कुरा गर्दै तिनाउ गाउँपालिकामा पर्यटकीय सम्भावना प्रसस्त रहेको र ती मध्ये कतिपय ठाउँहरु बुटवलसँग पनि जोडिएको बताए। ‘बुटवलबाट बसन्तपुर र नुवाकोट जोड्ने केबलकारले दुई पालिकालाई जोडेको छ।’ उनले भने ‘कर्णेल उजिरसिंहले अंग्रेजसँग लडेर जित हाशील गरेको एउटा किल्ला बुटवलमा छ। अर्को नुवाकोटमा छ।’

    तिनाउमा सिद्धबाबा, सत्यवती, रानी झरना, सिद्देश्वर, जन्तिलुग भ्यु प्वाइन्ट लगायतका पर्यटकीय स्थलहरु रहेका छन्। तिनाउमा पछिल्लो समय होटल रिसोर्टहरु पनि खुलिरहेका छन्। यी पर्यटकीय स्थलका नजिकको बजार बुटवल नै हुने गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ।

    सामुदायीक बन समन्वय समिति तिनाउ गाउँपालिकाले वातावरण संरक्षण सँगै पर्यटन प्रवद्र्धनको क्षेत्रमा पनि आफ्ना गतिविधि अगाडी बढाएको छ। समितिका अध्यक्ष डिबी गुरुङले तिनाउ क्षेत्रको पर्यटन प्रवद्र्धन हुँदा बुटवलले पनि राम्रो फाइदा लिन सक्ने उल्लेख गरे। ‘बुटवलमा बस्ने पर्यटकहरुले तिनाउ गाउँपालिकामा घुमेर प्राकृतिक आनन्द लिन सक्छन्, हिमालदेखि तराईका फाँटसम्म दृष्यावलोकन गर्न सकिने यहाँ ठाउँहरु छन्।’ उनले भने ‘पर्यटकहरुलाई तिनाउका घुम्ने ठाउँहरु बारे जानकारी दिएमा बुटवलमा पर्यटकको पनि बसाइ लम्बिन्छ। यसको फाइदा बुटवललाई पनि हुन्छ।’ त्यसको लागि आफूहरुले बुटवलका होटल व्यवसायीसँग एक दुई वटा कार्यक्रम पनि गरेको गुरुङको भनाइ छ। त्यसखालको योजना बनेमा टुरगाइडहरु पनि तयार गर्नुपर्ने उनको भनाइ छ।

    सामुदायीक बन समन्वय समिति तिनाउले सुकेतालको होम स्टे, लगाढको होम स्टेको सुरुवात गरेको हो। जन्तीलुंङमा गाउँपालिकाको लगानीमा स्थापना भएको होम स्टेको लागि सामुदायीक बन समन्वय समितिले धेरै कुरामा सहजीकरण गरेको अध्यक्ष गुरुङले जानकारी दिए। समितिले पर्यटन प्रवद्र्धनको लागि विगतमा ४ पटक सुकेतालमा मेला समेत आयोजना गरेको थियो। यस पटक तिनाउ गाउँपालिकाको ३ को लग्धुवा आलु महोत्सव गर्ने तयारी भइरहेको गुरुङले जानकारी दिए।

    पर्यटन प्रवद्र्धनमा बुटवल र तिनाउ गाउँपालिका मिलेर अघि बढ्ने हो भने पर्यटकको चहलपहल बढ्ने सक्ने र दुबै पालिकालाई फाइदा हुने गुरुङ बताउँछन्।