२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • बुटवलले अझै भजाउन सकेन जितगढीलाई

    शैक्षिक भ्रमणमा फूलबारी आएकालाई लैजान सके थोरै खर्चमा जितगढीको ठूलो प्रवर्द्धन हुनसक्छ

    बुटवल-पुस ७ गते शनिवार मध्यान्न १२ बजे बुटवलको मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पार्कमा एक दर्जन जति विद्यालयका र शैक्षिक भ्रमणका व्यानर सहितका बस पार्किङ गरिएका थिए। शैक्षिक भ्रमणमा फूलबारी आएका केही रुपन्देही भित्रकै समूह थिए, कतिपय टाढाका जिल्लाबाट आएका हुन्। उद्यान प्रशासनका अनुसार गत शनिवार मात्र २० वटा जति शैक्षिक भ्रमणका समूह बुटवलको फूलबारी घुम्न आएका थिए।

    सोही बेला नजिकैको जितगढी किल्लामा भने औंलामा गन्न सकिने जति मात्र मान्छेहरु देखिन्थे। जितगढी किल्लाको रेखदेखमा रहेका कर्मचारी कुशराज गुरुङले शनिवार टाढाबाट जितगढीमा कोही पनि घुम्न नआएको बताए।

    बुटवलको फूलबारी बुद्धजन्मस्थल लुम्बिनी पछि रुपन्देहीमा सबै भन्दा बढि पर्यटक आउने गन्तव्य हो। तिहार यता डेढ महिनामा मात्र शैक्षिक भ्रमणको लागि ५५ हजार जति विद्यार्थी फूलबारीमा आएको उद्यानका प्रमुख कार्याकारी अधिकृत अनन्तराज सिलवालको भनाइ छ। ‘विद्यालयको चिठी लिएर ५५ हजार जति नेपाली विद्यार्थी फूलबारी घुम्न आएका छन्। रुपन्देही बाहिर बाँके, बर्दिया, दाङ र गोरखाबाट धेरै विद्यार्थी आएका छन्। पाल्पा, कास्की स्याङ्जाबाट पनि विद्यार्थीहरु आइरहेका छन्। उनले भने ‘नेपाली बाहेक भारतीको गोरखपुरसम्मका १२–१५ हजार विद्यार्थी यो अवधिमा घुम्न आएका छन्।’

    ५५ हजार विद्यार्थी फूलबारीमा घुम्न आउँदा त्यसको ५ प्रतिसत जति पनि जितगढी पुगेको देखिदैन। जितगढी २०८ वर्ष अघि नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो। कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले यही किल्लामा अंग्रेजलाई पराजित गरेको थिए। स्थानिय पाठ्यक्रममा उल्लेख भएकाले बुटवलबाट केही विद्यार्थीलाई जितगढी ल्याउने गरिएको छ। तर टाढा टाढाबाट फूलबारी भ्रमणमा आएका विद्यार्थीलाई जितगढी आकर्षित गर्न सकिएको छैन। फूलबारी आएका बाहेक समुहगत भ्रमणमा हिडेको दैनिक सयौं टोली तिनाउ पुल ओहोर दोहोर गर्छन्। तर राजमार्ग सामुन्ने रहेको जितगढी चिनाउन कुनै बोर्ड वा प्रतिक चिन्न यात्रुले देख्न पाउँदैनन्।

    पर्यटन मामिलाका स्तम्भकार समेत रहेका कालिका मानवज्ञान माविका शिक्षक युवराज कंडेलले जितगढीलाई चिनाउने दायित्व उपमहानगरसँगै पर्यटन व्यवसायीहरुको भएको बताए। ‘पूर्वका मकवानपुरगढी, सिन्धुलीगढीको जति चर्चा छ, जितगढीको त्यती चर्चा भएजस्तो लाग्दैन। यो प्रचार प्रसारको कमी हो।’ उनले भने ‘फूलबारी शैक्षिक भ्रमणमा आएका विद्यार्थीलाई जितगढी जाने वातावरण बनाउने पहिलो काम उपमहानगरको हो। उपमहानगरले अपनत्व लिएको देखिएन र यहाँका पर्यटन व्यवसायीले जितगढीलाई प्याकेजमा राखेनन्।’

    यो सिजनमा फूलबारीमा आएका ५५ हजार विद्यार्थी मध्ये १० हजारलाई जितगढी लैजान सकेको भए ऐतिहासिक किल्लाको राम्रो प्रचार र प्रवद्र्धन हुने कंडेलको भनाइ छ। उनले फूलबारीमा भ्रमणमा आएका विद्यार्थीहरुलाई जितगढी बारे पनि ब्रोसर उपलब्ध गराएर छोटो समय बुटवलका पर्यटकीय स्थलको ब्रिफिङ गर्न सक्नुपर्ने धारणा राखे।

    नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा) लुम्बिनीकी अध्यक्ष रचना पन्तले फूलबारी आएका विद्यार्थीलाई लैजान सकेमा जितगढीको सानो खर्चमा ठूलो प्रवद्र्धन हुने उल्लेख गरिन्। ‘फूलबारी पनि जितगढीसँगै इतिहास जोडिएको ठाउँ हो। फूलबारीमा जितगढी यहाँ छ भन्ने खालको बोर्ड राख्नुपर्छ।’ उनले भनिन् ‘उपमहानगरपालिका र फूलबारीको समिति लागी परेमा जितगढीमा पनि भ्रमणमा आएका विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ। त्यसो गर्न सकेमा जितगढीको प्रवद्र्धनको लागि न मंहगो योजना बनाउनुपर्छ, न ठूलो पैसा लाग्छ, न असम्भव छ।’

    बुटवल उपमहानगर पालिक, पर्यटन अभियान्ता, विषयगत स्कुलका शिक्षकहरुबीच अन्तराक्रिया गरि यो अभियान थाल्नुपर्ने नाट्टा लुम्बिनीकी अध्यक्ष पन्तको भनाइ छ। राजमार्गमा जितगढी चिनाउने बोर्ड समेत नहुनुले विजोग भएको उनको भनाइ छ।

    मणिमुकुन्द सेन उद्यान संरक्षण समिति(फूलबारी)का अध्यक्ष माधव नेपालले जितगढीको पनि प्रवद्र्धन गर्ने प्रयास आफूहरुले गरिरहेको बताए। ‘बुटवल आएका पर्यटकहरु जितगढी नपुगे अधुरो हुन्छ भन्ने लागेको छ। फूलबारी आएका पर्यटकलाई कसरी त्यहाँ पुर्याउने भन्ने बारेमा हामी छलफल गर्दैछौं।’ उनले भने ‘सम्बन्धित पक्षसँग छलफल गरेर त्यो वातावरण निर्माण गर्न हामी होमवर्क गर्छौ।’

    बुटवल १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले जितगढीमा पछिल्लो समय विद्यार्थीहरुको आगमन केही बढेको तर सोंचे जस्तो प्रवद्र्धन हुन नसकेको बताए। ‘विद्यार्थीहरु फ्लो केही बढेको छ। अझै प्रवद्र्धन जरुरी छ। टाढासम्म प्रसार हुन सकेको छैन।’ उनले भने ‘फूलबारीमा जितगढीको पहिचान दिने गरि एउटा बोर्ड राख्नुपर्छ। त्यसका लागि हामीले पहल गर्छौ। राजमार्गमा पनि बोर्ड छैन। यसै वर्ष हामीले तिनाउ पुल र मैनाबगर चोकमा बोर्ड राख्छौं।’

    यसै महिना नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई जितगढी हस्तान्तरण गर्ने तयारी भएको छ। हस्तान्तरणपछि जितगढीको संरक्षण र प्रवद्र्धनको लागि थप काम हुने वडाध्यक्ष बस्नेतले बताए।