२०८१ आश्विन २१ गते, सोमबार ०७:०६
  • लुम्बिनीमा २०२४ को स्वागत र पर्यटक आकर्षित गर्न सडक खाना महोत्सव हुने

    लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनीमा अंग्रेजी नयाँ वर्ष सन २०२४ को अवसरमा सांस्कृतिक सडक खाना महोत्सव हुने भएको छ। डिसेम्बर ३१ अर्थात पुस १५ गते होटल संघ लुम्बिनीको आयोजनामा लुम्बिनी सांस्कृतिक तथा दसौं सडक खाना महोत्सव हुन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। लुम्बिनी पर्यटन विकास परिषद, लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिका सहितको आयोजनामा महोत्सव आयोजना गरिएको संघले जनाएको छ।

    सडक खाना महोत्सवमा ५ तारे होटलदेखि स्थानिय परिकारसम्म तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचलित खानाको स्वाद लिन पाइने आयोजक होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए। ‘लुम्बिनीमा रहेका अन्तराष्ट्रिय विहारहरुको सहयोगमा चिन, जापान, कोरिया, भियतनाम, कम्बोडिया, म्यानमार, श्रीलंका लगायतका देशका परिकार पनि सामेल गराउँछौं।’ उनले भने ‘स्थानीय थारु समुदाय, मुश्लिम समुदाय, पश्चिमी तराइका ब्राम्हण समुदाय, नेवारी समुदाय, गुरुङ समुदाय, मगर समुदायका परिकारका साथै पाल्पाको झिनीया रोटी, बटुक, हाँसको छोइला चुकौनि, नामी मिठाइ इम्रीत लगायतका खानेकुरा पनि महोत्सवमा रहने छ।’

    महोत्सवको दिन पाहुनाहरुलाई सडकमै रमाउन सक्ने वातावरण बनाउने र होटलको कोठामा १५ प्रतिसत छुट उपलब्ध गराउने ज्ञवालीले बताए। खाना महोत्सवमा नौमति बाजा, पञ्चेबाजा, थारु झुमराका साथै आधुनिक पप डिजे गित संगितको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा बताइएको थियो। महोत्सवमा काला नमक र टिन्नी चामल, इम्रित, पेडा, थाइ मिठाइ लुम्बिनीमा बनेको आर्गेनिक धुप, हस्तकलाका सामाग्रीहरु लुम्बिनीको विशेष उपाहारको रुपमा उपलब्ध गराइने छ।

    सडक खाना महोत्सवको अवलोकन गर्न २० हजार बढी भारतीय पर्यटक र ३० हजार आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको संघका बरिष्ठ उपाध्यक्ष लिलामणी पौडेलले बताए। महोत्सवमा ६० वटा विभिन्न खानाका परिकार र स्थानीय उत्पादनका स्टल राखिने छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले सडक खाना महोत्सव यस क्षेत्रको पहिचान बनेको र पालिकाले सबै किसिमका सहयोग गरेर महोत्सव सफल पार्न सहयोग गर्ने उल्लेख गरे।