२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • मुख्यमन्त्री र गृहमन्त्रीलाई होटल व्यवसायीको ११ बुंदे ज्ञापनपत्र

    नेपाली आकाशलाई कालो सूचिबाट हटाउन माग


    बुटवल- ठूला होटेल र पर्यटन व्यवसायीले भोग्नुपरेका समस्या समाधानको माग गर्दै नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीले मुख्यमन्त्री र गृहमन्त्रीलाई ११ बुंदे ज्ञापनपत्र बुझाएको छ।कोरोना महामारी यता विभिन्न कारणले अर्थतन्त्रमा देखिएको समस्याले होटेल र पर्यटन व्यवसाय संकटमा परेको भन्दै एशोसिएसनले होटल व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने लगायत माग राख्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोष पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो।

    युरोपियन युनियनले नेपाली आकाशलाई हवाई उडानको कालो सूचिमा राखेकाले विदेशी पर्यटकमा नकारात्मक असर परेकाले त्यसलाई तत्काल हटाउन पहल गर्न पनि एशोसिएसनले माग गरेको छ।आन्तरिक र भारतीय पर्यटकलाई यात्रा गराउने गाडीमा पनि भन्सार छुट दिन, बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्र र गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा यथाशीघ सञ्चालन गर्न पनि एशोसिएसनले माग गरेको छ।हवाई टिकट दर नेपाली सरह हुनुपर्ने, एशोसिएसनले भारतसंग सीमा जोडिएका भन्सार नाका र अध्यागमन कार्यालयहरु परम्परागत, अव्यवस्थित भएकाले पर्यटकले झन्झट र सास्ती ब्यहोर्नुपरेकाले ती कार्यालयहरुलाई आधुनिक सुविधायुक्त र पर्यटकमैत्री बनाउन एशोसिएनले मुख्यमन्त्रीसँग आग्रह गरेको छ।

    भारतीय र विदेशी पर्यटकलाई निश्चित रकम मात्र ल्याउन पाउने प्रावधानले नेपालको पर्यटन व्यवसाय फस्टाउन र विदेशी मुद्रा आर्जन गर्न नसकेकाले पर्यटकले चाहे जति रकम ल्याउन दिने व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। भारतीय पर्यटकका सवारी साधनलाई सीमाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने व्यवस्थालाई संशोधन गरी कम्तीमा चुरेको फेंदीसम्म आउन दिनुपर्ने र सडकमा प्रहरीबाट अनावश्यक चेकजांच नगरी सम्मानजनक व्यवहार गर्ने व्यवस्था मिलाउन माग गरिएको छ।

    यस्तै नेपालको पर्यटनको मुख्य बजार भारतको उत्तर प्रदेश, उत्तराखण्ड,बिहार लगायतका प्रदेश भएकाले त्यहांका पर्यटक भित्राउन बजारिकरणका लागि वजेट उपलब्ध गराउन,प्रदेशका मुख्य पर्यटकीय स्थलबारे ठाउं ठाउंमा पर्यटन सूचना केन्द्र स्थापना गर्न, होटेलमा कार्यरत कर्मचारी र कामदारको क्षमता बृद्धिका लागि एड्भान्स टुरिज्म तालिम र भारतीय तथा विदेशी पर्यटकलाई नेपालका पर्यटकीय क्षेत्रमा आकर्षित गर्न टुर गाइड तालिमको माग गरिएको छ।यस्तै रात्रिकालीन व्यवसाय सञ्चालनको नीतिगत व्यवस्था गरिदिन पनि एशोसिएसनको माग छ।

    ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री चौधरीले व्यवसायीका माग समयसापेक्ष र जायज रहेको भन्दै आफूले प्रदेश र संघीय सरकारबाट समस्या समाधानमा पहल गर्ने बताएका छन्। उनले आयात ब्यापार भन्दा पर्यटन र कृषिबाट देशलाई आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्न सकिने बताए। गृहमन्त्री सन्तोष पाण्डेले विभिन्न कारणले समस्यामा परेका व्यवसायीलाई विशेष राहत प्याकेज ल्याउनु र व्यवसायीमैत्री वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताए।

    एशोसिएसनका अध्यक्ष प्रविणबहादुर पाठकले तीनै तहका सरकारले नेपालको समृद्धिकको एउटा मुख्य आधार पर्यटन हो भन्दै आएपनि खरबौं लगानी र हजारौंलाई रोजगारी दिएको होटेल व्यवसायलाई उद्योगको मान्यता नदिंदा विद्युत महसुल र भन्सारमा छुट पाउन नसक्दा व्यवसायीले राहत महसुस गर्न नसकेको गुनासो गरे।

    एशोसिएसनका उपाध्यक्ष दिलिप गौचनले भारतीय पर्यटकलाई सरकारले प्राथमिकता दिन र सम्मान गर्न नसकेको औंल्याए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा एशोसिसनका सल्लाहकार महेन्द्रनारायण श्रेष्ठ,महासचिव विकास पाण्डे, कोषाध्यक्ष पदम केसी, कार्यसमिति सदस्यहरु टेकनाथ बस्याल, लक्ष्मण भण्डारी लगायतको सहभागीता थियो ।