२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • २०२३ मा १० लाखले पनि घुमेनन् लुम्बिनी, कोभिड अघिको तुलनामा एक तिहाइ कम


    लुम्बिनी– कोरोना संक्रमण अघिको वर्ष सन २०१९ मा आन्तरिक र बाह्य गरि १५ लाख ५८ हजार ३२६ पर्यटक लुम्बिनी आएका थिए। सन २०२३ मा ९ लाख ९८ हजार ९३८ ले मात्र लुम्बिनी घुमेका छन्। समग्र मुलुकमा पर्यटक आगमनले रेकर्ड कायम गरेको छ। तर बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन कोभिड अघिको लयमा अझै फर्किन सकेको छैन।

    सन २०२० र ०२१ मा कोरोना संक्रमणका कारण पर्यटन सहित सग्रम क्षेत्र प्रभावित बनेको थियो। कोभिडको प्रभाव कम भएपछि २०२२ बाट अवस्था सहज हुँदै गयो। ४ वर्ष अघिको तुलनामा लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढेको छ। तर आन्तरिक र तेस्रो मुलुकका पर्यटकको आगमन निकै कम्जोर छ।

    कोभिड अघिका वर्षहरुमा नेपाल भित्रबाटै घुम्न आउने आन्तरिक पर्यटक १० लाख भन्दा बढि थिए। सन २०१९ मा मात्र ११ लाख ७८ हजार १४० आन्तरिक पर्यटक लुम्बिनी आएका थिए। तर २०२३ मा ४५ प्रतिसत कम अर्थात ६ लाख ५६ हजार २१८ ले मात्र लुम्बिनी घुमेका छन्।

    तेस्रो मुलुकका विदेशी पर्यटकको आगमन ४ वर्ष अघिको तुलनामा ५६ प्रतिसतले कम छन्। सन २०१९ मा भारत बाहेक तेस्रो मुलुकबाट १ लाख ७४ हजार १५ पर्यटक लुम्बिनी आएका थिए। तर २०२३ मा ७६ हजार २१० विदेशी पर्यटक मात्र लुम्बिनी आएका छन्। २०११ मा लुम्बिनीमा तेस्रो मुलुकको बार्षिक आगमन एक लाख नाघेको थियो । सन २०१९ मा १ लाख ७४ हजार पुगेको थियो। तर अहिले तेस्रो मुलुकको पर्यटक आगमन अझै २००७ को अवस्थामा छ।

    आन्तरिक र तेस्रो मुलुकको पर्यटन आगमन अझै लयमा नफर्किदा लुम्बिनीमा भारतीय पर्यटन आगमनले भने रेकर्ड कायम गरेको छ। सन २०२३ मा मात्र २ लाख ६६ हजार ५१० पर्यटक लुम्बिनी आएका छन्। कोभिड अघि सन २०१९ मा २ लाख ६ हजार १७१ भारतीय मात्र लुम्बिनी आएका थिए। भारतीय पर्यटक आगमनले अघिल्लो वर्ष पनि रेकड कायम गरेको थियो। सन २०२२ मा २ लाख ३० हजार ८६३ भारतीय पर्यटकले लुम्बिनी घुमेका छन्।

    भारतीय पर्यटक आगमन बढ्दा आन्तरिक र तेस्रो मुलुकका पर्यटक आगमन नबढ्नुमा बुटवल नारायणगढ सडकको दुरावस्था मुख्य कारण मानिएको छ। अर्को तर्फ आर्थिक मन्दिका कारणले पनि पर्यटन आगमन कम भएको ठानिएको छ।

    लुम्बिनीमा आन्तरिक पर्यटक, कोभिड अघिको तुलनामा आधा, बुटवल-नारायणगढ सडकको दुरावस्था कि आर्थिक मन्दी