२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • लुम्बिनीमा विदेशी पर्यटक २००७ को अवस्थामा

    २०२३ मा कुन देशबाट कति आए

    लुम्बिनी -बुद्धजन्मस्थल लुम्बिनीमा सन २०२३ मा भारत बाहेक तेस्रो मुलुकबाट ७६ हजार २१० पर्यटक आएका छन्। कोभिड अघिको तुलनामा गत वर्ष विदेशी पर्यटक आगमन झण्डै एक लाखले कम हो। ४ वर्ष अघि सन् २०१९ मा १ लाख ७४ हजार १५ विदेशी पर्यटक लुम्बिनी आएका थिए।

    तथ्यांक हेर्दा लुम्बिनीमा अहिले विदेशी पर्यटकको सन् २००७ को अवस्थामा छ। २००७ मा तेस्रो मुलुकबाट ७१ हजार ५३ जना लुम्बिनी घुम्न आएका थिए। २००८ मा ८२ हजारले ७५ जना, २००९ मा ८२ हजार ४७५ जना र २०१० मा ९९ हजार ८०५ विदेशी लुम्बिनी भ्रमणमा आएका थिए।

    २०११ पहिलो पटक तेस्रो मुलुकका पर्यटकको आगमन एक लाख नाघेको थियो। सो वर्ष १ लाख २८ हजार विदेशी पर्यटक लुम्बिनी आएका थिए। त्यस यता क्रमश बढेर पौने २ लाख पुगेको थियो। कोभिडको प्रभावका कारण २०२० मा ४५ हजारमा झरको थियो। यो वर्ष जनवरी, फेबुररी र मार्चमा मात्र पर्यटक आएका थिए। अप्रिलबाट लकडाउन भएपछि त्यसयताका केही महिना लुम्बिनीमा पर्यटकीय चहलपहल सुन्य जस्तै भयो। २०२१ मा १ हजार १९७ मात्र विदेशी पर्यटक आएको कोषले जनाएको छ। २०२२ मा २३ हजार ९४२ तेस्रो मुलुकका पर्यटक आएका थिए।

    कोभिडको प्रभाव हटेर अवस्था सामान्य भएको पनि थुप्रै महिना भयो। समग्र मुलुकमा पर्यटक आगमनले नयाँ रेकर्ड कायम गरेको छ। तर लुम्बिनीको पर्यटन आगमन अझै १६ वर्ष अघिको अवस्थामा छ।

    श्रीलंकन र बर्मेली दुई तिहाइ कम, थाइल्याण्डका आधा आए

    गत वर्ष सन २०२३ मा भारत बाहेक तेस्रो मुलुकमा सबै भन्दा बढि श्रीलंकाबाट १६ हजार १७२ पर्यटक आएका थिए। ४ वर्ष अघि अहिलेको भन्दा झण्डै तेब्बर अर्थात ४७ हजार श्रीलंकन लुम्बिनी आएका थिए।कोभिड अघिको तुलनामा थाइल्याण्डका पर्यटक आधा घटेका छन्। २०१९ मा २८ हजार ३६४ थाइ आएका थिए। तर गत वर्ष १५ हजार ७२१ जना मात्र आएका छन्।
    ४ वर्ष अघि म्यानमारबाट ३० हजार पर्यटक लुम्बिनी आएका थिए। यो पटक दुई तिहाइ कम १० हजार ३७० जना आएका छन्।

    ७० प्रतिसत चिनियाँ घट्दा भियतनामी बढे

    कोभिड अघिको तुलनामा चिनियाँ पर्यटक ७० प्रतिसतले कम आएका छन्। २०१९ मा २१ हजार २६९ चिनिया लुम्बिनी आएकोमा गत वर्ष जम्मा ६ हजार ११३ जना मात्र आएका थिए। भियतनामका पर्यटक कोभिड अघिको तुलनामा बढेका छन्। २०१९ मा ८ हजार ३४५ भियतनामी आएकोमा यो पटक १० हजार ४४१ जना आएका छन्।दक्षिण कोरियाका पर्यटक ४ वर्ष अघिको तुलनामा थोरै मात्र कम छन्। २०१९ मा ६ हजार १४५ कोरियन आएकोमा गत वर्ष ५ हजार ३०२ आएका थिए।

    सन २०२३ मा जर्मनीबाट २ हजार १९८, कम्बोडियाबाट २ हजार १४९, मलेसियाबाट १ हजार ९६७, अमेरिकाबाट १ हजार ६७८ र फ्रान्सबाट १ हजार २२० र इण्डोनेसियाबाट १ हजार १३४ पर्यटक लुम्बिनी आएका हुन्। अन्य मुलुकको आगमन दर हजार भन्दा कम छ।