२०८१ आश्विन २१ गते, सोमबार ०७:०६
  • ७ महिनामा डेढ लाखले गरे लुम्बिनी केबलकारको यात्रा

    बुटवल-लुम्बिनी केबलकारको यात्रा गरेर सात महिनामा डेढ लाख पर्यटक पाल्पाको बसन्तपुर पुगेका छन्। गत जेठ १५ गतेबाट लुम्बिनी केबलबार व्यवसायीक रुपमा सञ्चालनमा आएको हो। रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ को बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन रहेको केबलबारको दुरी २.६ किलोमिटर रहेको छ।

    जेठ १५ देखि पुस १४ गतेसम्म एक लाख ४६ हजार ६ सय ४५ जना पर्यटकले केबलकारको यात्रा गरेको लुम्बिनी केबलकार प्रा.लि.ले जनाएको छ। जस मध्ये एक लाख ४० हजार ५०१ जना आन्तरिक, भारतसहित सार्क राष्ट्रका ६ हजार ११८ जना केबलकार चढेका छन्। त्यस्तै तेस्रो मुलुकका ३५ जनाले केबलकारको यात्रा गरेको कम्पनीका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैंजूले जानकारी दिए।

    कम्पनीले प्र्रत्येक टिकट दरको एक–एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई स्थानीय कर वापत दिंदै आएको छ। सात महिनामा ८ करोड ३६ लाख १५ हजार ६१२ रुपैयांको टिकट विक्रि भएको छ। कम्पनीले भदौ २६ गतेसम्मको कर वापत ३ लाख ९३ हजार ३ सय ५४ रुपैयांका दरले दुई पालिकालाई ७ लाख ८६ हजार ७०८ रुपैयां बुझाइसकेको अपरेसन म्यानेजर सैंजूले जानकारी दिए। दुईतर्फी यात्राको एक हजार रुपैयां टिकट दर तय गरिएको भएपनि शुरुदेखि नै ७ सय ५० रुपैयां कायम छ।

    एक हजार टिकट दरमा बुटवलको वडा नंं ३ र तिनाउ गाउपालिकाको वडा नं ३ का बासिन्दालाई ५० प्रतिसत छुट प्रदान गरिएको छ। त्यस्तै अपांगता सहित फरक क्षमता भएका नागरिक र ३ देखि ४ फिट उचाई भएकालाई ५० प्रतिशत छुटको व्यवस्था छ। विद्यार्थी, ७० वर्षदेखि ८० वर्ष सम्मका जेष्ठ नागरिकलाई ४० प्रतिशत तथा ३ फिट भन्दा कमका बच्चा र ८० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क गरिएको सैजूले जानकारी दिए। पर्यटकको मागलाई मध्यनजर गर्दै कम्पनीले बेला बेलामा टिकट दरमा आकर्षक छुट सहित विभिन्न अफर पनि सञ्चालन गर्ने गरेको उनले बताए।

    अष्ट्रियाको डुपलमेयर कम्पनीले बनाएको अत्याधुनिक प्रविधियुक्त मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ। पर्यटक आगमन उत्साहजनक भएपनि सञ्चालन खर्च धान्न मुस्किल भएकाले भारतको उत्तर प्रदेश लगायतका प्रान्तबाट अलि ठूलो संख्यामा पर्यटक भित्राउन सरकारी तहबाट नीतिगत सुधार र पर्यटकीय पुर्वाधारको बजारिकरणमा सहयोग चाहिने अपरेसन म्यानेजर सैंजूले बताए।

    बसन्तपुरमा निर्मित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजा हुंदै आएको दुर्गा माता मन्दिर सहित संरचनाहरु हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेको मन्दिरका पुरोहित सुरेश शर्माले बताए। केबलकारको टप स्टेशनमा रेष्टुरेन्ट, जीप लाइन, सेल्फी जोन सञ्चालनमा आइसकेका छन् भने स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान निर्माणको चरणमा छन्। यस्तै दुई वर्षभित्र एक सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनो सहित साढे ३ अर्ब लागतमा पांचतारे होटेल बनाउने योजना छ।लुम्बिनी केबलकारले हाल सय जनालाई रोजगारी दिएको छ । पांच तारे होटेल सञ्चालनमा आउंदा थप ५ सय बढीलाई रोजगारी दिनसक्ने छ।

    केबलकार सञ्चालनले बुटवलमा नयां र आकर्षक पर्यटकीय गन्तब्य थपिएको र यसले प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि सुस्ताएको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सघाएको उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णु पाण्डेयले बताए। समुद्री सतहबाट १२ सय मिटर उचाईमा रहेको बसन्तपुरमा गर्मी मौसममा तराईमा भन्दा झण्डै १० डिग्री सेल्सियस तापक्रम कम हुंदा शीतल हुने हिउंदमा तराईमा हुस्सु र जाडो हुंदा घाम लागेर न्यानो हुने भएकाले बसन्तपुर पर्यटक मात्र नभई सर्वसाधारणको पनि घुम्न जाने रोजाईको थलो बनेको पाण्डेयले बताए।