२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • विष्णु पौडेलको बसन्तपुर हाइकिङ: उहिले जेल ब्रेकपछि प्रशासन छल्न, अहिले पर्यटन प्रवर्द्धन

    पैदलयत्रामा यसरी सम्झिए ४३ वर्ष अघिको क्षण


    सुदीप भण्डारी
    शनिवार पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल बुटवलबाट बसन्पुरको उकालो चढे। राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको हाइकिङलाई रुपन्देही २ का सांसद समेत रहेका पौडेलले अगुवायी गरेका हुन्। समृद्धिको लागि पर्यटन प्रवर्द्धन भन्ने नारा सहति संघले हाइकिङ आयोजना गरेको हो।

    गोलपार्कको बमघाटबाट पौडेल सहितको टोलीले पदयात्रा सुरु गर्यो। करिब ३ घण्टापछि नेता पौडेल र सहभागीहरु बसन्तपुर पुगे। ‘भइरहेको गोरेटो खोज्ने भन्दा पनि जंगलमा जता अनुकुल लाग्छ, हामी त्यतैबाट हिड्यौ। भिरपाखा, झाडीहरु, काँडाघारी लगायतका अफ्ठ्यारो अवस्थाहरुलाई पार गर्दै बसन्तपुर आइपुगेका छौं। यात्रा अत्यन्तै रोमाञ्चक भयो।’ यात्राको अनुभव सुनाउँदै पौडेलले बुद्धपरिपथसँग भने।

    पैदलयात्राका क्रममा उनले ४३ वर्ष अघिको क्षणलाई पनि सम्झे। त्यसबेला पनि पौडेलले बसन्तपुर हाइकिङ गरेका थिए। जतिबेला जेल ब्रेक पछि पाल्पा जाने क्रममा प्रहरी प्रशासनको आँखा छल्न उनी बसन्तपुर आएका थिए। तर अहिले पर्यटन प्रवद्र्धनको उदेश्यका साथ उकालो यात्रा गरेका हुन्।

    पौडेलले बुद्धपरिपथलाई चार दशक अघिको बसन्तपुर हाइकिङको अनुभव यसरी सुनाए। २०३७ साल भदौ १ गते हामी भैरहवा जेल ब्रेक गरेर भाग्यौं। जेलबाट निस्किएपछि रुपन्देहीबाट पाल्पा जाने शिलसिलामा हामीले दोभान प्रहरी चौकीलाई छल्नुपथ्र्यो। अत्यन्तै सावधानी पूर्वक पाल्पाका गाउँहरुमा पुग्नुपथ्र्र्याे। २०३७ साल असोजको पहिलो हप्ता तिर बमघाटबाट बसन्तपुर भएर पाल्पाका गाउँहरुमा पुगेका थियौं। त्यसबेला हामी तीन जना थियौं। हिरा शर्मा एउटा साथी हुनुहुन्थ्यो। अर्की नेतृ शान्ता मानवी र म थियौं। आज जस्तै हामीहरु बमघाटबाट उकालो चढ्यौं। झाडी, जंगल, छिचोल्दै यहाँ आइपुगेका थियौं। पैदलयात्राका लागि तत्कालिन समयमा अहिले जस्तो अनुकुलता पनि थिएन। यहाँ त्यसबेला अलि अलि हरियो मकै पाइन्थ्यो। यहाँका किसानको निवासमा हामीले पोलेको मकै हरियो खुर्सानीसँग खाएर झुम्साको बाटो गएको अनुभव छ। बसन्तपुर आउँदा आज ४३ वर्ष अघिको याद आयो। त्यतीबेला हामीले फरक सन्दर्भबाट यात्रा गरेका थियौं। प्रहरी प्रशासनबाट जोगिनको निम्ती सुरक्षित बाटो खोज्ने शिलसिलामा हामी यो बाटो हिडेका थियौं। अहिले पर्यटन प्रर्वद्धन, विकास र पूर्वाधारका नयाँ सम्भावनाहरुलाई उजागर गर्नका निम्ती हामीले यो यात्रा गरेका छौं।

    संविधान निर्माण पछि देशलाई आर्थिक सामाजिक रुपले समृद्ध बनाउनु पनि आँफूहरुको मुख्य दायित्व भएको पौडेलको भनाइ छ। त्यसकै लागि पर्यटन प्रवद्र्धनका यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने उनले बताए। एमाले उपाध्यक्ष तथा रुपन्देही २ का सांसद पौडेलले रुपन्देही र पाल्पा पर्यटनको दृष्टीले प्रचुर सम्भावना बोकेको ठाउँ भएको दाबी गरे।

    यी सम्भावनाहरुलाई सहि ढंगले सदुपयोग गरेमा रुपन्देही र आसपासका ठाउँ देशकै सर्वाधिक महत्वपूर्ण पर्यटकीय केन्द्र बन्ने उनको भनाइ छ। ‘पर्यटकीय विकासको लागि एउटा बस्ती वा ठाउँ विशेषलाई नहेरी सम्भावना भएका ठाउँहरु एक अर्कामा अन्तरसम्बन्धित हुनुपर्छ लुम्बिनी, तिलौराकोट, देवदह, जितगढी किल्ला बसन्तपुर, केबलकार, सत्यवती, श्रीनगर लगायतका ठाउँहरु सँग जोडेर पर्यटन प्रवद्र्धनको काम गर्नुपर्छ।’ पौडेलले भने ‘यी प्राकृतिक, धार्मिक, पुरातात्वीक सांस्कृतिक सम्पदाहरु जोडेर पर्यटन प्रवद्र्धनमा काम गर्न सकेमा रुपन्देही र पाल्पा देशकै सर्वाधिक महत्वपूर्ण पर्यटकीय केन्द्र बन्न सक्छ।’

    पदयात्रामा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टराई, केन्द्रिय सदस्य सावित्रा अर्याल, गोमा देवी आचार्य, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, युवा संघका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो। आयोजक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष बिकासजंग बस्नेतले बुटवल र आसपासका पर्यटकीय स्थलहरुको प्रवद्र्धनको लागि पदयात्रा आयोजना गरिएको जानकारी दिए।