२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • लुम्बिनी, श्रीनगर, रेसुङ्गा र स्वर्गद्वारीको बीचमा पर्ने अर्घाखाँची पर्यटकीय केन्द्र बन्न सक्छ: प्रचण्ड


    सन्धीखर्क-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्घाखाँची जिल्ला पर्यटकीय केन्द्र बन्नेमा कुनै शंका नभएको बताएका छन्। उनले वरपर मनोरम प्राकृतिक, ऐतिहासिक र धार्मीक सम्पदाहरु रहेकाले अर्घाखाँची ति ठाउँहरुको पर्यटकीय केन्द्र बन्न सक्ने उल्लेख गरे।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखाको आयोजनामा अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रमको सोमबार सन्धीखर्कमा उद्घाटन गर्दै प्रचण्डले अर्घाखाँचीले देशकै पर्यटन प्रवद्र्धन र अर्थतन्त्रमा समेत योगदान दिने विश्वास व्यक्त गरे। ‘जिल्लाको दक्षिणी पर्यटकीय क्षेत्र लुम्बिनी पूर्वको पाल्पाको श्रीनगर, उत्तरमा गुल्मीको रेसुंगा र पश्चिममा प्युठानको स्वर्गद्वारी सहितका मनोरम ऐतिहासिक, प्राकृतीक र धार्मीक सम्पदाहरुले अर्घाखाँची पर्यटकीय केन्द्रको रुपमा विकास हुने कुरामा कुनै संका छैन।’ उनले भने ‘त्यसैले अर्घाखाँची जिल्लाको देशकै पर्यटन प्रवद्र्धन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहने विश्वास पनि मैले व्यक्त गर्न चाहान्छु।’

    अर्घाखाँचीको विकासको लागि पर्यटनको पूर्वाधारको विकास, गन्तव्यको पहिचान र प्रचार प्रसार आवश्यक रहेको प्रचण्डले उल्लेख गरे। उनले जिल्लामा थुप्रै प्रकारका पर्यटकीय सम्भावना समेत रहेको औल्याए। ‘पहाडी अर्घाखाँचीमा पर्वतीय पर्यटन, पर्यावरण पर्यटन, धार्मीक पर्यटन अनुसन्धानमुलक पर्यटन, शहासीक पर्यटन खेल पर्यटनको सम्भावना छ।’ उनले भने ‘साँस्कृतीक पर्यटन मध्ये पाणीनी रिसीले तपस्या गरेर संस्कृत व्याकरण उत्पत्ती भएको पाणीनी तपोभुमी, दुर्गासोर गुफा डमरु दह, नर्कमाचल पर्वत क्षेत्र, बलकोटको पौवा, मन्तेल लामपाटे पौवा, मधुरा स्थित गोपेश्वर मन्दीर, छत्र महाराज मन्दीर, नर्सिङ थान, सुपा देउराली, मालारानी क्षेत्र, तीनधारे छहरा, अर्घा दरबार तथा अर्घा भगवती मन्दीर, खाँची दरबार, सेङलेङ दह लगायतका पहिचान गरिएका पर्यटकीय गन्तव्यहरु यहाँ छन्।’

    सराय नाच, भैरब नाच, लाखे नाच, ठूलो एकादशी र माघे सक्रान्तीमा बागे खोलाको त्रिवेणीधाममा लाग्ने मेलाहरु मौलीक सांस्कृतीक सम्पदाहरु भएको प्रचण्डको भनाइ छ। प्राकृतिक दृष्टीले थुप्रै सम्भावना बोकेको मनोरम, दृष्य सहित पर्यटनको प्रचुर सम्भावना रहेको अर्घाखाँची विकासको दृष्टीले ओझेलमा परेको हो की भन्ने आफूले पनि महसुस गरेको उनले बताए। जिल्लाका सम्भावनाहरुको पनि प्रत्यक्ष अध्ययन र अवलोकन विकासका क्षेत्रमा संघिय सरकारका तर्फबाट खेल्नपर्ने भूमिकाका निम्ती पत्रकार महासंघ अर्घाखाँचीले गरेको कार्यक्रम महत्वपूर्ण हुने प्रचण्डले बताए।

    सितगंगा नगरपालिकाको सिद्दारा, जलुका, जुकेना, अर्घा दरबार लगायतका गन्तव्यहरुमा आफू पनि पुगेको उनले सुनाए।
    पर्यटकहरुको आगमनलाई सहज तुल्याउन लुम्बिनी हुँदै सालझण्डी सन्धीखर्क, ढोरपाटन सडकको भूमिका महत्वपूर्ण हुने प्रचण्डले बताए।