२०८१ आश्विन २१ गते, सोमबार ०७:१०
  • साहसिक पर्यटनले सजिएको पर्वत पुग्दा…


    बुद्धि पराजुली

    पाँच दिने लामाे विदाकाे सदुपयोग गर्नेक्रममा केही दिन अघि हामी पर्वत पुगेका थियौं। अचेल पर्वतको पहिचान नै फरक भएको रहेछ। पर्वतले धेरै भन्दा धेरै पर्यटकलाई आकर्षित गरिरहेको छ। नेपालकै सबैभन्दा लामा र अग्ला झोलुङ्गे पुलहरु पर्वतमा रहेका छन्। सदरमुकाम कुश्माबाट पर्वतको ज्ञादी जोड्ने पुल, कुश्माबाटै फलेवास र बाग्लुङको बलेवा जोड्ने पुलहरु हेर्न दैनिक हजारौं पर्यटकहरु आउने रहेछन्।

    बाग्लुङलाई झोलुङ्गे पुलको जिल्लाका रुपमा चिनिन्थ्यो। अब त्यो परिचय पर्वततिर सरेको छ। झोलुंगे पुलहरुबाट कालीगण्डकी र मोदी खोलाको साथै आसपासको मनमोहक दृश्य हेर्न पाउँदा मन आनन्द भयो। झोलुंगे पुलसँगै पर्वतको कुश्मा सहाशिक पर्यटनको केन्द्र पनि बनेको रहेछ। जसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिएको छ।

    मोदी र कालीगण्डकीको खोँचका कारण छिमेकी गाउँबाट सदरमुकाम कुस्मा आउन जान समेत समस्या हुने ठाउँमा विसं. २०६४ मा नेपालकै अग्लो लामो पुलको निर्माण भयो। त्यसपछि पुल अवलोकन गर्न आउने पर्यटक क्रमश बढ्न थाले। बन्जीजम्प लगायत साहसिक खेलका पूर्वाधार तयार भएपछि त पर्वत पर्यटनको ‘हब’ नै बनेको हो। पर्वतमा नेपालकै नमुना आधा दर्जन अग्ला पुल छन्। बन्जीजम्प साथै जिपलाइन र अन्य थुप्रै साहसिक पर्यटनका संरचना निर्माण भएको छ। जसबाट कुस्मा पोखरा–मुस्ताङ यात्रा गर्ने पर्यटकको स्टेसन समेत बनेको रहेछ।

    यो बन्जी विश्वको दोस्रो र दक्षिण एसियाकै सबैभन्दा अग्लो भएको दाबी गरिएको छ। पर्वत र बागलुङको सीमानामा बहने कालीगण्डकी नदीमाथि बन्जी निर्माण भएको छ। यसमा हाम फाल्ने प्राय २० देखि ३० वर्ष सम्मका युवा युवतीहरु धेरै मात्रामा देखिए। युवायुवतीको लागि पर्वत नवविवाहिताहरुको लागि हनिमुन स्पट नै बनेको रहेछ।

    बन्जीसँगै पुलबाट हामफाल्ने साहसिक खेल स्विङ, पुलपारि रिसोर्ट, अग्लो भीरमा स्काई साइकलिङ, स्काई क्याफे, स्काई चियर्स, गुलेली शैलीको पिङलगायतले पर्यटकहरुलाई पर्वतले भुलाएको छ। नेपालका पूर्वदेखी पश्चिमसम्मका मान्छेहरु पर्वत घुम्न आएका छन्। विदेशी पर्यटकहरुलाई पनि यसले आकर्षित गरेको छ। पर्यटकीय संरचना निर्माणका कारण अरू व्यवसायलाई पनि प्रोत्साहन र धेरैलाई रोजगारी समेत मिलेको देखियो।

    पर्वतले क्रमश विश्व समुदायमा समेत आँफूलाई परिचित बनाउँदै लगेको रहेछ। सहासिक पर्यटनसँगै गुप्तेश्वर गुफा र अल्पेश्वर गुफा पर्वत जिल्लाका आकर्षक गन्तव्य हुन्। पूर्वमा कास्की र स्याङ्जा, दक्षिणमा स्याङ्गजा र गुल्मी, पश्चिममा गुल्मी, बाग्लुङ्ग र म्याग्दी, उत्तरमा म्याग्दीको बीचमा पर्ने पर्वत पर्यटकीय जिल्लाको पहिचान बनाउँदै अघि बढेको छ।स्थानीय बुद्धिजिवि र किम्बदन्ती अनुसार पर्वतलाई पार्वतीको जन्मस्थान मानिएको छ।

    पार्वतीको जन्मस्थान हालको पर्वत जिल्लाको साविकको पाङ्ग गा. वि.स. भएको भन्ने आधारमा पर्वत नामाकरण भएको पाइन्छ। परापूर्व कालमा पर्वत जिल्लाको पातीचौरलाई पार्वती चोक र पातीखोलालाई पार्वती गंगा भनिन्थ्यो भन्ने किम्वदन्ती रहेको पाइन्छ। पर्वतसँगै हामी बाग्लुङ पुग्यौं। बाग्लुङ भगवतीको मन्दीर दर्सन गर्यौ। म्याग्दी जिल्लामा पर्ने बेनीको गलेश्वर मन्दिर गयौं। पोखरा फर्केर आयौं पुम्दीकोटको शिवालय मन्दिर, तालहरु घुम्यौं। त्यसपछि चितवनको सौराह र नवलपरासी गैडाकोटको मौलाकालिका घुमेर हामी बुटवल आयौं।

    घुमेर फर्केपछि नेपाल प्राकृतिक सम्पदाले भरिएको हो भन्ने कुरा झन अनुभव भयो। प्राकृतिको आनन्द लिँदै साहसिक पर्यटनमा रमाउने गरि ठूलो संख्यामा विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ। त्यसबाहेक धार्मिक, ऐतिहासिक र सांस्कृतीक सम्पदाहरु उचित प्रचार प्रसार गर्न सके पर्यटनबाटै नेपाल समृद्ध हुन सक्छ भन्ने मलाई लागेको छ।