२०८१ आश्विन २१ गते, सोमबार ०७:१३
  • दोभानको रानी झरना हेर्दा मन आनन्दित भयो


    गोमा आचार्य
    केही दिन अघि दिउसो हामी बुटवलबाट पाल्पाको दोभान तिर लाग्यौं। नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्त, उहाँका श्रीमान विनीराम भट्टराई र छोरा, साथी ज्ञानु केशी र म घुमघामको लागि त्यसतर्फ गएका थियौं। दोभान पुगेपछि हामी गाडीबाट झरेर केही बेर पैदल हिड्यौ । केही बेरको पैदलयात्रापछि एउटा आकर्षक झरना भएको ठाउँमा पुग्यौं। झरनाबाट झरेको सफा अनि कञ्चन पानी, झरना मुनि तल निलो रह रहेछ।

    रानीझरना देख्ने वित्तिकै फरक प्रकारको आनन्द महशुस भयो। हामी दोभान पुग्दा मौसम निकै चिसो थियो। घाम लागेको थिएन। हिडाइले केही न्यानो महसुस भइरहेको थियो। तर झरनामा पुग्ने वित्तीकै शरीर एकाएक फूर्तिलो र आनन्द महसुस भयो। साह्रै रमाइलो लाग्यो। बुटवलबाट नजिक भएर पनि यस अघि म यति सुन्दर झनामा पुगेको रहेनछु। पाल्पाको तिनाउ गाउँपालिका २ बगाहा स्थित ढापखोला सामुदायिक बन अन्तर्गत रानी झरना पर्दछ। ढापखोला सामुदायिक बनले त्यहाँ पुल लगायतका संरचना बनाएको छ।

    सन १८७२ को जितगढी र नुवाकोट युद्धपूर्व पाल्पामा भुरेटाकुरे राजा रहेका थिए। मनोरम दृष्य र मनोकामना पुरा हुने विश्वाका कारण रानी यस झरनामा नुहाउन आउने भएकाले उनकै नामबाट रानी झरना रहेको किम्बदन्ती छ। रानी नुहाउन आउँदा उनको औंठी खसेको र उक्त औंठी माछाले खाँदा माछाले मुन्त्री लगाएको देखिएको भन्ने भनाइ रहेछ।

    हामी विभिन्न ठाउँमा ट्यांकीको पानीलाई प्रयोग गरेर कृतिम झरना बनाएको देख्छौं। यहाँ साच्चीकै प्राकृतिक र इतिहाससँग जोडिएको झरना रहेछ। शान्त ठाउँ, सफा पानी सुन्दर ठाउँ देखिन्छ।

    झरनामा पुग्ने बाटो व्यवस्थित गर्नुपर्ने रहेछ। पुग्ने बाटो व्यवस्थित गरेर प्रचार प्रसार गर्ने हो भने साच्चीकै पर्यटकीय सम्भावना बोको ठाउँ रहेछ। भारतको सुनौली, नौतनावा, गोरखपुर लगायतका मानिसहरु शिद्धबाबा दर्शन गर्न आउँछन्।

    सिद्धबाबा आउनेहरुलाई रानी झरना लगेर केहीबेर भुलाउन पनि सकिन्छ। धार्मिक रुपमा आस्था राख्नेहरुलाई यो महत्वपूर्ण छ। प्राकृतिक रुपमा रमाउन मात्र खोज्नेहरुको लागि पनि रानीझरना घुम्न लायक ठाउँ रहेछ। राजमार्गबाट नजिकै भएकाले राम्रोसँग प्रचार गर्ने हो भने महत्वपूर्ण पर्यटकीय स्लको रुपमा स्थापित हुनसक्छ।

    नजिकै बनभोज स्थलको रुपमा व्यवस्थित गरेर पनि पर्यटक आकर्षित गर्न सकिने रहेछ। पछिल्लो समय युवाहरु देशमा भविश्य छैन भन्दै विदेश जाने क्रम बढ्दो छ। पर्यटकहरु आकर्षित भएमा स्थानियको आय आर्जनमा पनि बृद्धि हुनसक्थ्यो। स्थानियहरु आफ्नो उत्पादनमा जोडिन्थे। देशमै रोजगारी सिर्जना भन्ने मलाई लाग्यो। झरनाको अवलोकनपछि हामीले आसपासका ठाउँहरु नियाल्यौं। बेलुकापख बुटवल फर्कियौं।