२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • लुम्बिनीमा दियो सेड स्थापना, पहिलो दिनमै ३ लाख १३ हजार आम्दानी


    लुम्बिनी,– बुद्धजन्मस्थल लुम्बिनीमा दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने गरि दियो सेड सञ्चालनमा आएको छ।
    लुम्बिनी विकास कोषले स्थापना गरेको दियो सेडमा एकपटकमा ८ हजार र पटक पटक गरेर दिनमा १ लाखसम्म दियो बाल्न सकिन्छ। मायादेवी प्रवेशद्धारको पश्चिमपट्टी स्थापना गरिएको सेडको कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा सहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेले दियो बालेर उद्घाटन गरे।

    उपाध्यक्ष डा. लामाले संसारभरका बौद्धमार्गीहरुले लुम्बिनी आएर बत्ती बाल्न इच्छुक हुने भएकाले दियो बाल्ने सेडले सुविधा थप्ने बताए। ‘दियो बाल्ने अठोट सहित दियो बाल्ने सेड बनाइएको हो, अझै चार वटा यस्तै सेड बनाउने योजना छ’ उनले भने –‘व्यवस्थित रुपमा दियो सेडक स्थापना गरिएकाले शुल्क तिरेर सेवा लिन आग्रह छ ।’ डा. लामाले मायादेवी मन्दिरको अशोक स्तम्भ नजिकै दियो बाल्दा त्यसले असर पारेको गुनासो समेत आएकाले मन्दिर परिसर वाहिर दियो सेड निर्माण गरिएको बताए ।
    बौद्धमार्गीहरुले मायादेवी मन्दिरमा आएर बत्ति बाल्न इच्छुक भएपनि त्यसको व्यवस्थापन हुन नसकिरहेको अवस्थामा आफूले अठोट गरे अनुसार काम गरेको उपाध्यक्ष लामाको भनाई छ।

    महायानी बौद्धिष्टहरुले आफ्नो परिवारको स्मृतीमा प्राय दियो बाल्ने प्रचलन रहन्छ। बौद्धमार्गीहरुको आस्था र विश्वासलाई मध्यनजर गरी दियो सेडक स्थापना गरिएको हो। दियो सेडले धार्मिक एकता र साँस्कृतिक सम्बन्धसँगै कोषको आन्तरीक आम्दानी समेत बृद्धि गर्ने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए। पहिलो ८ हजार सेडको १ लाख ३४ हजार रुपैयाँ रिपोन्छेहरुबाट प्राप्त भएको थियो। शुभारम्भकै दिन दियोबाट ३ लाख १३ हजार २ सय रुपैयाँ आम्दानी भएको कोषका लेखा प्रमुख भिम बस्नेतले जानकारी दिए।