२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • साढे २५ करोड बक्यौता बुझाएपछि टाइगर प्यालेसलाई क्यासिनो सञ्चालनको बाटो खुल्यो

    फेबुररी १४ देखि क्यासिनो सञ्चालनको तयारी

    बुटवल-रुपन्देहीको तिलोत्तमामा रहेको टाइगर प्यालेस रिसोर्टले विगतमा सञ्चालित क्यासिनोको बक्यौता बुझाएको छ। टाइगर प्यालेसमा क्यासिनो सञ्चालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रालिले २५ करोड ६० लाख रुपैया बक्यौता बुझाएको हो।

    बक्यौता बुझाएसँगै टाइगर प्यालेसमा क्यासिनो सञ्चालनको बाटो खुलेको पर्यटन विभागका निर्देशक कालिबहादुर भुजेलले जानकारी दिए। ‘टाइगर प्यालेसको लागि २५ करोड ६० लाख बुझाएर नविकरण गर्नुभएको छ। हिजोको मिति(बुधबार)बाट उहाँहरुले नविकरण पत्र प्राप्त गर्नुभएको छ।’ उनले भने ‘अब क्यासिनो सञ्चालन गर्न सक्नुहुन्छ।’

    एसएसचलएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले २०७७ /७८ देखि बक्यौता तिरेको थिएन। एसएचएल कम्पनी पनि आँफूहरुले लिएको र कम्पनी मार्फत बक्यौता बुझाएको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए। एसएचएल कम्पनीले काठमाडौँ संग्रीला होटलमा समेत क्यासिनो सञ्चालन गर्दै आएको थियो। संग्रीलाको लागि २५ करोड ९० लाख रुपैया बैंक ग्यारेण्टी बुझाएको पर्यटन विभागले जनाएको छ।

    बक्यौता बुझाएपछि टाइगर प्यालेसमा छिट्टै क्यासिनो सञ्चालन गर्ने अध्यक्ष बुद्धिसागर सुवेदीले बताए। ‘फेबुररी १४ देखि क्यासिनो पुन सञ्चालनको तयारी गरिरहेका छौं।’ उनले भने।

    टाइगर प्यालेस होटल विगतमा अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपले चलाएको थियो । कोभिड लगायतका विभिन्न कारणले रिसोर्ट लामो समय संकट थियो। केही महिना टाइगर प्यालेसको स्वामित्व अमेरिकामा रहेका नेपालीहरुको कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले खरिद गरि सञ्चालन गरेको हो।