२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • ‘९ जना नोबेल विजेता एउटै कार्यक्रममा लुम्बिनी आउनु भनेको ठूलो उपलब्धी हो’

    रामु जोशी

    लोरेट एण्ड लिडर सम्मेलन एउटा अन्तर्राष्ट्रिय कार्यक्रम हो। आगामी फागुन २७,२८ र २९ गते हुँदैछ। यसमा बालबालिका, शान्ति र विकास सम्बन्धी छलफल हुन्छ। विश्वभरका विभिन्न विज्ञ, लगानी कर्ताहरु विकासका क्षेत्रमा काम गरेका कन्ट्री हेड सहभागी हुनुहुनेछ। विभिन्न बुँदामा नीति निर्माण, सफल कार्यान्वयनको बारेमा छलफल गर्ने र यसबाट नेपालको लागि हाम्रो मुद्दाहरु कसरी हल गर्न सकिन्छ। यहाँ भएको कुन कुन श्रोतका क्षेत्रहरुमा हामी विकास गर्न सक्छौं भनेर एउटा छलफलको उपयुक्त थलो हो।

    यो सम्मेलनले एजेण्डाहरु स्थापित गरेको हुन्छ। जुन चाँही संसारभरकै सबै राष्ट्रप्रमुखहरु समक्ष पठाएर बालबालिकाका क्षेत्रमा यी नीति परिवर्तन गर्न सक्छौं, यसरी बालबालिका मैत्री, महिला मैत्री नीति बनाउन सकिन्छ, यो तरिकाले विकास गर्न सकिन्छ भनेर एउटा सन्देश दिन सकिन्छ।

    लोरेट एण्ड लिडर सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेता आउनुहुन्छ। नोबेल पुरस्कार विजेताहरु टिमोर लेस्टेका राष्ट्रपति जोजे रामोस ओर्टा, वेन मौसा र विदेद बुसामावुइ, ल्हेन बोवी, रिचर्ड रोबर्टस्, कैलाश सत्यार्थी, ट्वाको कम्रयान, एरी वार्सल, जोडी विलियम्स आउनुहुने भएको छ। त्यसबाहेक जोर्डनका राजकुमार अली विन अल हुसेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, स्वीडेनका पूर्व प्रधानमन्त्री पनि आउने कुरा छ।

    ९ जना नोबेल विजेता एउटै कार्यएक्रमको लागि नेपाल आउनु भनेको ठूलो उपलब्धी हो। यसको एउटा ब्राण्ड स्थापित गर्न सक्छ। लुम्बिनीमा आएर उहाँहरुले फोटो मार्फत बुद्धजन्मस्थल यस्तो छ भनेर प्रचार प्रसार गर्नुहुने छ। हामीले पनि उहाँहरुको उपस्थितीको प्रचारप्रसार गरेको खण्डमा लुम्बिनीलाई विश्व सामु चिनाउनलाई एउटा राम्रो अवसर हुन सक्छ। पर्यटनको दृष्टीकोणबाट पनि एउटा महत्वपूर्ण उपलब्धीमुलक हो।

    यो शिखर सम्मेलनले लुम्बिनीबाट विश्वभर बुद्धको सन्देश शान्तीको सन्देश फैलाउन मद्दत गर्छ। गौतमबुद्धको जन्मस्थलमा अन्तर्राष्ट्रिय सम्मेलन गरेर केही घोषणा पत्र आएको खण्डमा यसले विश्वव्यापी प्रचार प्रसार हुन्छ। सम्मेलनमा दुई तिनसय जना व्यक्तीगत खर्चबाट विभिन्न पाहुनाहरु आउनुहुन्छ। कोही लगानीकर्ता, कोही विकासको क्षेत्रमा आबद्ध भएकाहरु सहभागी हुनुहुने छ। यो जमघटले नेपाल अन्तराष्ट्रिय स्तरको सम्मेलन गर्न सक्षम छ भन्ने एउटा सन्देस पनि जान्छ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकपटक मुक्तीनाथ जानुभयो। अहिले मुक्तीनाथमा भारतीयहरुको घुइँचो लाग्ने गरेको छ। लोरेट एण्ड लिडरर्स कार्यक्रममा आएका पाहुनालाई हामीले पाल्पा, स्वर्गद्वारी र बर्दियासम्म लैजाने योजना बनाएका छौ। यी ठाउँमा उहाँहरुलाई पुर्याउन सकेको खण्डमा नेपालको पर्यटकीय विकासमा दिर्घकालिन रुपमा फाइदा लिन सक्छ।
    लुम्बिनीमा तीन चार दिनसम्म चार पाँच सय जनाको चहलपहल हुन्छ। यसबाट पनि होटल र अरु व्यवसायमा केही मात्रामा फाइदा हुन्छ।

    लोरेट एण्ड लिडर्स शिखर सम्मेलनको उद्घाटन लुम्बिनीको सभाहलमा हुने छ। सम्भव त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन हुनेछ। त्यसपछि विभिन्न सिर्षकमा सात वटा सेसन हुने भनिएको छ। छलफलका शिर्षकहरुलाई अन्तराष्ट्रिय सचिवालयले अन्तिम रुप दिन्छ। सुरुमा नोबेल विजेताहरु बोल्नुहुन्छ। त्यसपछि सहभागी अन्य विज्ञहरुले छलफल गर्ने पोलिसी इस्युहरु पहिचान गर्नुहुन्छ। सम्मेलनमा युवाहरु, बालश्रमबाट मुक्त भएका व्यक्तीहरु सहभागी हुनुहुन्छ। विश्वभरका समस्याहरुलाई छलफल गरेर यसको एउटा ठोस अवधारणा ल्याउने हो भन्ने कुरा छ। मायादेवी मन्दिर परिसरबाट घोषणा पत्र जारी भएर लोरेट एण्ड लिडर्स सम्मेलन सकिन्छ।
    (कुराकानीमा आधारित)