२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • बुटवलबाट लुम्बिनी छैन सिधा सार्वजनिक यातायात

    घुम्न आउने पर्यटकलाई असहज



    सुदीप भण्डारी

    बुटवल – विगतमा लुम्बिनी प्रदेशको राजधानी समेत रहेको बुटवल मुलुककै प्रमुख शहर मध्येमा पर्दछ। बुद्धजन्मस्थल लुम्बिनी नेपालकै मुख्य पर्यटकीय गन्तव्य हो। यी दुबै ठाउँ रुपन्देही जिल्ला भित्रै पर्छन्। दुरीका हिसाबले ४२ किलोमिटर मात्र छ। तर एकठाउँबाट अर्को ठाउँमा जान सार्वजनिक यातायातको सिधा पहुँच छैन।

    बुटवलबासीलाई लुम्बिनी जान पहिले भैरहवासम्मको बस चढ्नुपर्छ। भैरहवामा झरेर अर्को बस चढेपछि मात्र लुम्बिनी जान पुग्न सकिन्छ। मुलुकका विभिन्न ठाउँबाट घुम्न या काम विशेषले बुटवल आएकाहरुको लागि पनि लुम्बिनी पुग्न यस्तै सास्ती छ। सानो गाडी रिजर्व गरेर जाँदा चार पाँच हजार खर्च हुन्छ। प्रति व्यक्ती डेढ दुई सय तिरेर सार्वजनिक सवारीमा जान खोज्दा असजहता भोग्नुपर्छ। बुटवलबाट एउटा सिटमा बसेर गयो। भैरहवा पुगेर गाडी फेर्दा सिट पाइने हो कि होइन थाह छैन।

    बाहिरबाट आएर बुटवलको होटलमा बसेका मध्ये धेरैले सार्वजनिक सवारीबाटै लुम्बिनी जान खोज्ने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी बताउँछन्। ‘७० देखी ८० प्रतिसत सार्वजनिक बसमै लुम्बिनी जान खोज्छन्। तर जानको लागि सहज छैन। बुटवलबाट लुम्बिनी सिधा बस चल्नु अति आवश्यक छ।’ उनले भने ‘उदाहरणको लागि बुटवलबाट बर्दघाट जान सुनवलमा गाडी फेर्नुपर्ने अवस्था भएको भए कस्तो असहज हुन्थ्यो। अहिले बुटवलबाट लुम्बिनी जान पनि त्यस्तै दुख छ।’ लुम्बिनी पर्यटकीय केन्द्र भएकाले घुम्न चाहानेहरुको लागि यातायातमा सहजता दिलाउन सक्नुपर्ने भण्डारीको भनाइ छ। बुटवलबाट पश्चिम रामापुर भएर लुम्बिनी जाने गरि बस चलाउँदा राम्रो हुने उनले बताए।

    नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) लुम्बिनीकी अध्यक्ष रचना पन्तले पर्यटन क्षेत्रलाई चलायमान गर्न बुटवलबाट लुम्बिनी सिधा बस चल्नु अपरिहार्य भएको बताइन्। ‘अहिले सार्वजनिक यातायातमा बुटवलबाट लुम्बिनी पुग्न साढे ३ घण्टासम्म लाग्छ। विचमा गाडी फेर्न नपरेको भए सर्वसाधारण यात्रुलाई समय त कम हुन्थ्यो।’ उनले भनिन् ‘सहज तरिकाले घुम्न नपाउँदा बाहिरबाट आएका पर्यटकहरुमा कस्तो सन्देस जाला।’ अहिले बाहिरबाट आएका नयाँ मान्छे लुम्बिनी जान अलमलिनुपर्ने अवस्था रहेको कष्ट हुने गरेको गुनासो समेत आएको पन्तको भनाइ छ। पर्यटकको सुविधाको लागि छिटो छरितो यातायात हुनुपर्ने भन्दै उनले बुटवल लुम्बिनी सहज यात्राको व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरिन्।

    सार्वजनिक यातायातमा बुटवलबाट लुम्बिनी जान असहज त छ। लुम्बिनीबाट फर्किदा पनि साँझ हतार गर्नुपर्छ। भैरहवा गएर बुटवल जाने बस पाइने हो कि होइन चिन्ता हुन्छ। सिधा बस चलेमा साँझ लुम्बिनीबाट बस चढेर सोझै बुटवल आउन सकिन्छ।

    पर्यटन मामिलाका स्तम्भकार युवराज कंडेलले बुटवलबाट लुम्बिनी सिधा बस नचल्नु पर्यटन क्षेत्रको लागि दुर्भाग्य भएको टिप्पणी गरे। यो बारेमा सरोकारवाला र यातायात व्यवसायी दुबैले ध्यान नदिएको कंडेलको भनाइ छ। ‘यातायात व्यवसायीले पनि जहाँ यात्रु बढि पाइन्छ त्यता मात्र गाडी बढि चलाउने अरु ठाउँमा नचलाउने गरेका छन्।’ उनले भने ‘पर्यटन प्रवद्र्धन र सामाजिक उत्तरदायित्व सम्झेर गाडी चलाउने हो भने तत्काल यात्रु नपाएपनि पछि राम्रोसँग चल्न सक्थ्यो। पर्यटन व्यवसायीले पनि यो बारेमा चासो दिएको पाइएन।’

    सिधा यातायात सञ्चालन हुने हो भने धेरै जना व्यक्तीगत रुपमा सहज तरिकाले लुम्बिनी घुम्न जान्थे। बुटवल लुम्बिनी सिधा सार्वजनिक यातायात सञ्चालन हुने हो भने दुबै ठाउँलाई फाइदा हुने कंडेलको भनाइ छ। ‘लुम्बिनी आएका राष्ट्रिय अन्तराष्ट्रिय पर्यटकहरु सहज रुपमा बुटवल आउन सक्थे। बुटवल र आसपासका ठाउँ घुम्थे।’ उनले भने ‘बुटवलमा अरु काम विशेषले आएकाहरुलाई पनि लुम्बिनी पुगेर आम भन्नलाई सजिलो हुन्थ्यो। यसले दुबै तर्फ चहलपहल बढ्थ्यो। आर्थिक चलायमान हुन्थ्यो।’ बुटवलबाट लुम्बिनी ठूला र सुविधायुक्त बस चल्दा राम्रो हुने कंडेलको सुझाब छ।

    पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका सञ्चालक सदस्य नारायण घिमिरेले बुटवल लुम्बिनी सिधा बस सञ्चालन अपरिहार्य भएको आँफूले पनि महसुस गरेको बताए। उनले बस चलाउने सम्बन्धमा कुरा चलिरहेको जानकारी दिए । ‘बुटवलबाट रामापुर हुदै लुम्बिनी र भैरहवा हुँदै पनि बस चलाउने भन्ने कुरा भइरहेको छ। यही दिनबाट भनेर फिक्स भएको छैन।’ घिमिरेले भने ‘सिधा बस सञ्चालन अपरिहार्य छ। हामीले पहिलो प्राथमिकता दिन्छौं।’

    अहिले बुटवलबाट भैरहवा अनि भैरहवाबाट लुम्बिनी पाँच-पाँच मिनेटमा जस्तो गाडी छुट्छन्। बुटवल लुम्बिनी एक-एक घण्टामा छुटेमा पनि सर्वसाधारण यात्रुलाई धेरै राहत हुन सक्थ्यो। बुटवलबाट लुम्बिनी जानको लागि सडकका थुप्रै विकल्प छ। सबै भन्दा चलेको रुट भैरहवा हुदै हो। त्यस बाहेक बुटवलबाट पश्चिम रामापुर हुँदै पनि जान सकिन्छ। मुर्गियाबाट पनि जाने बाटो छ। म्णिग्रामबाट बेतानी निस्केर बेथरी हुँदै पनि जान सकियो।

    अहिले बुटवलको बेलबासबाट बेथरी चार लेनको फराकिलो सडक बनेको छ। सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो सडक हुँदै पनि बुटवलबाट लुम्बिनीसम्म सार्वजनिक यातायात सञ्चालन गर्न सकिन्छ। बुटवलबाट लुम्बिनी सिधा सार्वजनिक यातायात सञ्चालन भएमा पर्यटकीय चहलपहल अझ बढ्न सक्छ।