२०८१ आश्विन २१ गते, सोमबार ०७:११
  • जितगढी किल्ला व्यवस्थापन समिति, प्रधानसेनापति संरक्षक र उपमहानगर प्रमुख अध्यक्ष रहने

    जनप्रतिनिधि नभएको अवस्थामा प्रजिअले अध्यक्षको रुपमा काम गर्ने


    बुटवल-जितगढी किल्ला व्यवस्थापन समितिमा प्रधान सेनापति संरक्षक रहने व्यवस्था गरिएको छ। त्यस्तै बुटवल उपमहानगरपालिका प्रमुख व्यवस्थापन समितिको अध्यक्ष रहने छन्। जितगढी किल्लाको संरक्षण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधी २०८० हालै बुटवल उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट स्विकृत भएको छ।

    कार्यविधि अनुसार प्रधान सेनापति संरक्षक र बुटवल उपमहानगरपालिका प्रमुख अध्यक्ष रहने व्यवस्था छ। त्यसै गरि प्रमुख जिल्ला अधिकारी, सेनाका पृतनापति वा तोकिएको प्रतिनिधि, २२ नम्बर बाहिनी प्रमुख, उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत, जिल्ला प्रहरी प्रमुख, इलाका प्रसासन कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, बुटवल १ र २ का वडाध्यक्ष व्यवस्थापन समितिको सदस्य रहने छन्।

    उपमहागर प्रमुखले इतिहासकार प्रतिनिधि २ जना र बुद्धिजिवी तथा समाजसेवी मध्येबाट एक महिला सहित ३ जनालाई सदस्य मनोनित गर्ने छन्। बुटवल उपमहानगरपालिकाका शहरी विकास महाशाखाका प्रमुख सदस्य सचिव रहने व्यवस्था छ।

    व्यवस्थापन समितिको बैठकमा आवश्यकता अनुसार स्वदेशी तथा विदेशी इतिहासविद जितगढी किल्लासँग सम्बन्धीत विशेषज्ञहरुलाई समेत आमन्त्रण गर्न सकिने कार्यविधिमा उल्लेख छ। बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि नभएको अवस्थामा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले जितगढी किल्लाको व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गर्ने छन्।
    जितगढी किल्ला व्यवस्थापन समितिले किल्लाको दैनिक सञ्चालन, व्यवस्थापन नियमन गराउने र अन्य आवश्यक विषयमा उपमहानगरपालिकालाई सिफारिस गराउने अधिकार छ। त्यस्तै किल्लाको योजना तर्जुमा गर्ने, आर्थिक श्रोतको व्यवस्थाको लागि उपमहानगरपालिकालाई सुझाब दिने, किल्ला भित्रका विभिन्न कक्षहरु सजावट गरि शैक्षिक र पर्यटकीय दृष्टीकोणबाट आकर्षक तुल्याउने लगायतका कार्य गर्ने कार्यविधिमा उल्लेख छ।
    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अर्को कार्यपालिकाको बैठक बसेर कार्यविधिको कार्यन्वयन सुरु गरिने जानकारी दिए। किल्लाको व्यवस्थित रुपमा सञ्चालन गर्न र अझ धेरै पर्यटकहरुलाई आकर्षित गर्न कार्यविधि बनाएका हौं। उनले भने बैशाख ७ जितगढी दिवस अर्थात विजयोत्सव पनि छ। त्यसकै अवसरमा कार्यविधि कार्यान्वयन सुरु हुन्छ। कार्यविधि बनेपछि जितगढीमा पर्यटक आर्षणको लागि विभिन्न गतिविधि अघि बढ्ने उपमहानगर प्रमुख पाण्डेले बताए।