२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • बुटवलको पर्यटकीय मार्गमा शाहील्याण्ड होटल

    बुटवल– बुटवल उपमहानगरपालिका वडा नम्बर- ११ नहरपुरमा सात तला अग्लो आकर्षक होटल छ। पर्यटकीय मार्ग अर्थात बेलबास-बेथरी सडकको सुरुवाती स्थानमै होटल शाहील्याण्ड रहेको छ। होटलमा स्वीट रुम, सुपर डिलक्स, प्रिमियम डिलक्स र डिलक्स कोठाहरु रहेको होटल शाहील्याण्डका सञ्चालक नहकुल शाहीले बताए। ‘अहिले आरामदायी र सुविधासम्पन्न २४ वटा कोठा छन्। थप कोठाहरु निर्माण हुँदैछ। छिट्टै हामीले ४२ वटा कोठा पुर्याउँछौं।’ उनले भने।

    साढे २ वर्ष अघि नकुल शाहीले नहरपुरमा शाहिल्याण्ड होटल सञ्चालनमा ल्याएका हुन्। बुटवलको व्यस्त ठाउँ भन्दा केही पर ठूलो लगानीमा होटल सञ्चालन गर्दा धेरैले प्रश्न गरेको शाहीले सुनाए। ‘यस्तो ठाउँमा आएर यती ठूलो लगानी किन गर्नुभयो। बुटवल बजार तिर होटल खोलेको भए हुन्थ्यो भनेर धेरै साथीले सुझाब दिनुभएको थियो।’ उनले भने ‘आफ्नो क्षेत्रमा पनि विकास गर्नुपर्छ भनेर मैले यहाँ खोलेको हो।’

    होटल शाहील्याण्डले पछिल्लो समय तेस्रो मुलुकका विदेशी पर्यटकहरुलाई पनि स्वागत गरिरहेको छ। ‘ट्राभल एजेन्सीहरुसँग समन्वय गरेर विदेशी पर्यटकहरुलाई ल्याएको छु।’ उनले भने ‘ जर्मनी, अमेरिका, फ्रान्स, ब्राजिल, कोरियन, भारतीय र थाइल्याण्ड पर्यटकहरु हाम्रोमा आउनुभएको छ। आएका पाहुनाहरुले होटल र यहाँको सेवा सुविधाको प्रसंसा गर्नुभएको छ।’

    होटल स्थापनाको सुरुवातमा कोरोना संक्रमणको प्रभाव थियो। जसले होटल सञ्चालनमा अफ्ठयारो अवस्था थियो। पछि आर्थिक मन्दीले पनि समस्या भएको सञ्चालक शाहीले बताए। ‘कोरोना संक्रमण र पछि आर्थिक मन्दिले होटल चलाउन निकै समस्या भयो। उनले भने ‘बैंकले व्याज ८ प्रतिसतबाट बढाएर १५–१६ प्रतिसत पुर्यायो। अहिले पाहुनाहरु पनि आउन थाल्नुभएको छ। सहज हुँदै जाला भन्ने आशा छ।’ होटलका साथै नहकुल शाहीले होटल म्यानेजमेन्टको इन्स्च्युट पनि सञ्चालन गरेका छन्। जसबाट होटलको लागि दक्ष जनशक्ती उत्पादन हुन्छ।

    होटल अगाडीको बेलबास-बेथरी सडक चार लेनको छ। यो सडक निर्माणको अन्तिम चरणमा छ। अब केही दुरी मात्र कालोपत्रे हुन बाँकी छ। यो सडक तयार भएपछि बुटवलबाट भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दुरी कम हुने छ। त्यस्तै बुद्ध जन्मस्थल लुम्बिनी पनि नजिक पर्दछ।

    लुम्बिनी र बुटवललाई जोड्न सक्ने यो सडकको भविश्य देखेर आँफूले लगानी गरेको शाहीले बताए। ‘एक प्रकारले यो सेकेण्ड हाइवे हो। विचमा नहर दायाँ बायाँ दुई–दुई लेन गरेर चारलेनको बाटो छ बाटो छ। भविश्य राम्रो होला भनेर जोखिम मोलेर होटेल स्थापना गरेको हुँ।’ उनले भने । शाहीले बेलबास बेथरी सडक निर्माण सम्पन्न भएपछि सडक आसपास तारे होटल र अन्य पर्यटकीय व्यवसायी पनि चल्ने उल्लेख गरे।

    होटल साइल्याण्डले तीन तारे होटलले दिने सेवा सुविधा प्रदान गरेको महाप्रबन्धक विजय कंडेलले बताए। ‘लुम्बिनी भ्रमण गर्न आउनेहरु मध्ये केही ग्रुप हाम्रो होटलमा आउनुहुन्छ। शान्त वातावरणमा बस्न खोज्नेहरु आउनुभएको छ।’ उनले भने ‘ थ्री स्टार लेबलको सेवा सुविधा हामीले दिएका छौं। केही निर्माण सम्पन्न नभएकाले थ्रीस्टार भनिएको छैन।’ पछिल्लो समय आर्थिक मन्दीलाई पनि ध्यान दिएर शाहील्याण्ड होटलले सहुलियत मूल्यमा गुणस्तरिय सेवा प्रदान गरेको महाप्रबन्धक कंडेलले बताए।