२०८१ आश्विन २१ गते, सोमबार ०९:०८
  • भैरहवाबाट हङकङ र दिल्लीको ट्रान्जिट उडानमा किन आकर्षित भएनन् यात्रु

    भैरहवा -गत भदौ महिनाबाट नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट दिल्ली र हङकङको लागि ट्रान्जिट उडान सुरु गर्यो। प्रत्येक मंगलबार मलेसियाको क्वालालाम्पुरबाट निगमको जहाज भैरहवा आइ काठमाडौ जाने गर्दछ। त्यो जहाजमा हङकङ र दिल्लीका यात्रु काठमाडौँ ट्रान्जिट भएर जाने व्यवस्था गरिएको थियो। तर ट्रान्जिट उडानमा अपेक्षा अनुरुप यात्रुहरु भने छैनन्। पछिल्ला दुई वटा मंगलबार भैरहवाबाट ट्रान्जिट उडानको लागि कोही पनि यात्रु भएनन्।

    पुस माघको जाडो मौसममा हुस्सुका कारण नेपाल एयरलाइन्सको भैरहवा आउने ८ वटा उडान रद्द भएको थियो। भैरहवामा भिजिलीटी कम भएकाले क्वालालाम्पुरबाट उडेको जहाज भैरहवा नआइ काठमाडौँ सिधै गएको थियो। पछिल्लो दुई मंगलबार भने क्वालालाम्पुर भैरहवा काठमाडौँ उडान भएको छ। तर यी दुई उडानमा ट्रान्जिट यात्रु भएनन्।

    विचमा २ महिना उडान नभएकाले त्यसपछिका उडानमा ट्रान्जिटका यात्रु नभएको नेपाल एयरलाईन्स भैरहवा शाखा प्रमुख माधव लोहोनीले बताए। ‘भैरहवाको लागि निगमको २५ औं देखि ३३ औं सम्मका उडान भएन। पछिल्लो ३४ औं र ३५ औं उडान भएको छ।’ उनले भने ‘यी दुबै ट्रान्जिट उडान भएन। विचमा उडान नभएकाले हङकङ र दिल्लीका यात्रु नभएका हुन। उडान हुन थालेपछि अब होलान् भन्ने आशा गरौं।’

    पहिले नियमित उडान हुदाँ पनि ट्रान्जिट यात्रु खासै बढ्न सकेका थिएनन्। दिल्लीको लागि भैरहवाबाट यात्रु नै हुँदैनन्। काठमाडौँ पुगेर दुई चार घण्टा ट्रान्जिटमा बस्नुपर्ने हुँदा दिल्लीका यात्रु नभएका हुन्। यस क्षेत्रबाट दिल्ली जानेहरु गोरखपुर गएर उडान गर्दा सहज र सस्तो मान्ने गर्दछन्। हङकङको लागि कहिलेकाँही दुई चार जना यात्रु हुने गर्दथे। नियमित उडान नहुनु र हप्ताको एउटा मात्र उडान भएकाले हङकङको लागि ट्रान्जिट यात्रु आकर्षित नभएका हुन्। भैरहवा–हङकङ दुई तर्फी उडान नहुँदा ट्रान्जिट यात्रु नबढेका हुन्।

    नेपाल एयरलाइन्सको क्वालालाम्पुर भैरहवा काठमाडौँ एक तर्फी उडान बाहेक भैरहवाबाट अहिले अरु अन्तर्राष्ट्रिय उडान छैन। गौतबद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष हुन लाग्दा पनि नियमित अन्तराष्ट्रिय उडान हुन सकेको छैन।