२०८१ आश्विन २१ गते, सोमबार ०९:०८
  • भरतपुर भ्रमण वर्ष मुलुककै पर्यटन प्रवद्र्धनका लागि कोशेढुंगा : प्रधानमन्त्री

    चितवन- भरतपुर भ्रमण वर्ष २०२४ को सुरुवात भएको छ। भ्रमण वर्षको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यक्रम राष्ट्रकै पर्यटन प्रवद्र्धनमा कोशे ढु्ंगा सावित हुने बताएका छन्।

    भ्रमण वर्षले चितवनको पर्यटनमा गुणात्मक फड्को मार्ने उनको विश्वास छ। प्रचण्डले नेपालमा पहिलो जङ्गल सफारीको सुरुआत चितवनबाट भएको स्मरण गर्दै भरतपुर भ्रमण वर्षले आफ्नो लक्ष्य हासिल गर्ने उल्लेख गरे। उनले भरतपुरले देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्ने दाबी समेत गरे।

    अनुपम प्राकृतिक सम्पदाले सम्पन्न महानगरपालिकामा निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमशृङ्खलाको दृश्यावलोकन एवं समथर तराईको भू–भागको दृश्यावलोकनलगायतका प्राकृतिक आकर्षण रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिकस्थल, गढी, दरबार, सङ्ग्रहालय, पार्क, धार्मिकस्थल, मानवनिर्मित २२ वटा आकर्षण पर्यटकीय गन्तव्य रहेको बताए।

    उनले पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन कोरोना कहरबाट पिल्सिएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरपालिकाको यो कदमको प्रशंसा गरे।